विवेकशील साझाको प्रदेश ५ संयोजक चयन

 विवेकशील साझा पार्टीले प्रदेश नं ५ को संयोजकमा प्रतिष्ठित समाजसेवी तथा व्यवसायी अनुपमान सैंजुलाई चयन गरेको छ।

आज बुटवलमा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र तथा उज्वल थापा, प्रदेश ६ र ७ का संयोजक क्रमश: गेहेन्द्र दाहाल र गोपाल हमाल तथा सङ्गठन विभागका प्रमुख मुमाराम खनालको उपस्थितिमा आयोजित एक कार्यक्रममा सैंजुको नाम सार्वजनिक गरिएको हो।

४८ वर्षीय अनुपमान सैंजु नेपाल जेसीसका निर्वाचित पूर्व राष्ट्रिय अध्यक्ष तथा १२५ देशमा फैलिएको र संसारभरि एक लाख ७० हजारभन्दा बढी सदस्य रहेको अन्तर्राष्ट्रिय जेसीसका निर्वाचित पूर्व उपाध्यक्ष हुन्। उनी आफ्ना बुवा प्रतिष्ठित समाजसेवी गणेशमान सैंजुद्वारा स्थापित सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैंजु बृद्धाश्रमका संरक्षक पनि हुन्। काठमाडौँको लेबोरेटरी स्कुलबाट विद्यालय शिक्षा पुरा गरेका सैंजु स्नातक तहको पढाई पुरा गरेपछि पारिवारिक व्यवसायहरूमा संलग्न भएका थिए।

उनी हाल विभिन्न सामाजिक संघसंस्थाहरूको नेतृत्वदायी भूमिकामा संलग्न छन्। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सैंजुले आफ्नै जीवनकालमा देशको रूपान्तरणको लक्ष्य बोकेर अघि बढ्न लागेको विवेकशील साझा पार्टीमा संलग्न भएर पार्टी तथा राष्ट्र निर्माणमा होमिन पाएकोमा अत्यन्तै खुसी र उत्साहित भएको बताए। उनले पाँच वर्षपछिको निर्वाचनमा विवेकशील साझालाई प्रदेश ५ र समग्र देशको नेतृत्वमा पुर्‍याउन दिलोज्यान दिएर लागि पर्ने उल्लेख गरे।

पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापाले सैंजुजस्ता व्यक्तित्व विवेकशील साझा पार्टीको निर्माण तथा उत्थानमा सहभागी हुनु पार्टीका लागि गौरवको विषय भएको बताए। नेता मुमाराम खनालले राष्ट्रिय र अन्तर्राष्ट्रिय जेसीसजस्ता ठुला सङ्गठनको नेतृत्व गरिसकेका सैंजुले पार्टी सङ्गठन विस्तारमा महत्त्वपूर्ण नेतृत्व प्रदान गर्न सक्ने विश्वास व्यक्त गरे।

विवेकशील साझा पार्टीले बाँकी प्रदेशहरूमा पनि सक्दो छिटो प्रदेश संयोजकहरू चयन गर्ने छ।

डा. सूर्यराज आचार्य
प्रवक्ता
विवेकशील साझा पार्टी
१६ चैत २०७४

युरोपियन युनियनको प्रतिवेदनको भत्सर्ना

युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको संविधानका प्रावधानबारे आपत्तिजनक टिप्पणी गरेको र विवेकशील साझा पार्टीको नाम समेत अन्यथा उल्लेख गरेकोमा विवेकशील साझा पार्टी यो घटनाको कडा भर्त्सना गर्दछ।

यसमा युरोपियन युनियनले क्षमा याचना सहित प्रतिवेदन फिर्ता लिनु उपयुक्त देखिन्छ।

यसबारेमा परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगको आपत्ति सहितको औपचारिक विज्ञप्तिको हामी स्वागत गर्दछौं।

राज्यका महत्वपूर्ण अंगका गतिविधिमा विदेशी संघ, संस्थाको अवाञ्छित संलग्नता नै यस्ता खेदजनक परिघटनाका कारक हुन्।

संवैधानिक आयोग र राज्यका अन्य संवेदनशील निकायमा आवश्यक बजेट व्यबस्था नेपाल सरकारले नै गरोस् र विदेशी संघ-संस्थाको हस्तक्षेपकारी भुमिका रहने गरि कुनै पनि सहयोग नलियोस भन्ने तर्फ समेत विवेकशील साझा पार्टी सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छ।

सूर्यराज आचार्य
प्रवक्ता
विवेकशील साझा पार्टी
९ चैत २०७४

विदेशमा रहेका नेपालीलाई मतदान अधिकारबारे

विदेशमा कार्यरत नेपाली नागरिकले विदेशबाट मतदान गर्न पाउने बारेको यही २०७४ चैत्र ७ गतेको सर्वोच्च अदालतको आदेशको विवेकशील साझा पार्टी हार्दिक स्वागत गर्दछ।

लाखौंको संख्यामा विदेशमा कार्यरत रहेका र देशको अर्थतन्त्र नै मुलत: विप्रेषण (रेमिटन्स) मा आधारित रहेको सन्दर्भमा सर्वोच्च अदालतको यो आदेश लोकतान्त्रिक अधिकारका हिसावले मात्र नभएर प्राकृतिक न्यायको सिद्धान्तका दृष्टिले समेत वाञ्छनीय छ।

नीतिगत तहमा नेपाल सरकारले यसअघि नै प्रतिवद्धता जनाएको र सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरेको यो परिप्रेक्षमा आवश्यक कानुनको यथाशिघ्र निर्माण गरी विदेशमा रहेका नेपाली नागरिकले विदेशबाटै मतदान गर्न पाउने कानुनी व्यवस्था सुनिश्चित गर्न नेपाल सरकार, संघिय संसद र निर्वाचन आयोगलाई विवेकशील साझा पार्टी हार्दिक आग्रह गर्दछ।

सूर्यराज आचार्य
प्रवक्ता
विवेकशील साझा पार्टी
९ चैत २०७४

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका सम्बन्धमा

विवेकशील साझा पार्टीले आसन्न राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पार्टीको धारणा तय गरि सोहीअनुसार आवश्यक निर्णय लिन प्रदेश सभा संसदीय दल (प्रदेश ३) लाई अधिकार प्रत्यायोजन गरेको सन्दर्भमा संसदीय दलको २८ फागुन २०७४ मा बसेको बैठकले निम्न बमोजिम निर्णय गरेको छ:

नेपाल प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको ब्यबस्था गरिनु उपयुक्त हुन्छ भन्ने विवेकशील साझा पार्टीको धारणा रहिआएको छ र सोही धारणा गत प्रादेशिक र संघीय निर्वाचनका लागि मतदाता समक्ष प्रस्तुत चुनावी प्रतिबद्धता-पत्रमा समेत उल्लेखित छ।

संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ, निश्पक्ष र दलीय आग्रहभन्दा माथि हुनु पर्दछ। तर हाम्रो सन्दर्भमा राष्ट्रपतिका कतिपय निर्णयहरु पदीय मर्यादा र सीमाभन्दा बाहिर गएको प्रस्टै देखिने गरेको छ।

प्रमुख दल वा तीनका गठवन्धनले दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रपति, उपराष्ट्रपति पदमा राष्ट्रिय व्यक्तित्वलाई अघि सार्नुको सट्टा आफ्नो दल र त्यस भित्र पनि निश्चित गुटको सन्तुलनलाई ध्यान दिई उमेदवार तय गर्ने परिपाटी विकसित भएको छ।

अहिले दलहरुले अघि सारेका राष्ट्रपतिको उमेदवारहरुलाई हेर्दा जो सुकै विजयी भएपनि दलीय प्रभावबाट मुक्त रही कार्यसम्पादन गर्ने सम्भावना अत्यन्तै न्यून देखिएको छ। उपरोक्त कारणले गर्दा विवेकशील साझा पार्टी, संसदीय दलले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ।

 

रमेश पौड्याल
नेता, प्रदेश सभा संसदीय दल (प्रदेश ३)

राधा चौधरीमाथिको कुकृत्यको भत्सर्ना​

कैलालीको घोडाघोडी नगरपालीकाको स्थानिय राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत देउकालीयाकी २० वर्षिया राधा चौधरीमाथि त्यस नगरपालीकाको सयौँ स्थानीयवासीको उपस्थितिमा बोक्सीको आरोप लगार्इ अमानविय र क्रुरढंगबाट निर्घातरुपमा मरणासन्न हुने गरी लगातार ६/७ घण्टासम्म गरिएको कुटपिट र उक्त अपराधलार्इ ढाकछोप गर्न, अपराधीलार्इ छुटाउन जनप्रतिनिधि नै सक्रिय भइरहेका समाचारप्रति विवेकशील साझा पार्टी प्रदेश नं ७ को गम्भिर ध्यानआकर्षण भएको छ।

​एक्काइसौ शताब्दीमा मानव सभ्यतामैं कालो धब्बा लाग्ने गरी गरिएको यो अमानवीय अपराधको जति विरोध गरे पनि कमै हुन्छ। त्यसमा पनि जनप्रतिनिधिहरुकै उपस्थितिमा घटेको यो घटनाका दोषीहरुलार्इ बचाउने, मिलापत्र गराउने, अपराधी छोड्न दवाव दिने, कुट्न उक्साउने र रमिते वन्ने सबैलार्इ तत्काल निस्पक्ष छानविन गरी हदैसम्मको कारवाही गर्न सरकारसंग विवेकशील साझा पार्टी प्रदेश नं ७ जोडदार माग गर्दछ।

​​मेयर ममताप्रसाद चौधरीले उक्त घटनामा संलग्न सबैलार्इ तत्काल कडा भन्दा कडा कारवाही अगाडी बढाउनु पर्ने थियो तर उनले दबाब सिर्जना भएपछि “सो घटना समाजमा कुरिती र कुसंस्कार बाँकी नै रहेकोले हुन गएको” भन्ने विज्ञप्ति निकाल्नु संकास्पद र घोर निन्दनीय छ।

​यस्तो अमानविय जघन्य अपराधमा संलग्न सबै मतियारहरुलार्इ कारवाहीको दायरमा ल्याउनका लागि निस्पक्ष छानविन समिति गठन गर्न विवेकशील साझा पार्टी सरकारसंग माग गर्दछ। साथै, विवेकशील साझा पार्टी सम्पूर्ण राजनितिक दल, नागरिक समाज, अधिकारवादी संघसंस्था सबैमा यस्ता कुकृत्य पुन दोहरिन नदिन सम्वन्धित सबैमा दबाब सृर्जना गर्न पनि हार्दिक अपिल गर्दछ।

गोपाल हमाल
प्रदेश नं ७ संयोजक तथा केन्द्रीय समिति सदस्य
विवेकशील साझा पार्टी