विवेकशील साझा संगठन विस्तार वर्ष–२०७५ घोषणा

छोटो समयमा आम सर्वसाधारणले विकल्पको बलियो खम्बाको रूपमा हेरको विवेकशील साझा पार्टीले नयाँ बर्षलाई ‘संगठन बिस्तार बर्ष–२०७५’ घोषणा गर्ने निर्णय गरेको छ। पार्टीले गत निर्वाचनमा आम सदभावका कारण २ लाख १२ हजारभन्दा बढी मत हासिल गरे पनि पार्टीको तहगत संगठन निर्माण भैसकेको थिएन।

सापेक्षिक बलियो संगठन विनाको सदभावले मात्र हाम्रै जीवनकालमा मुलुकलाई रुपान्तरण गर्ने हाम्रो लक्ष्य हासिल हुन सक्दैन भन्ने कुरामा हामी सचेत छौं। यसै तथ्यलाई मनन गरि हामीले २०७५ सालमा देशव्यापीरूपमा संगठन विस्तार गरी कम्तिमा पनि एक लाख पार्टी सदस्य बनाउने लक्ष्य लिएका छौं, जसले पार्टीको पहिलो महाधिवेशनको लागि धरातल निर्माण गर्नेछ। संगठन विस्तारको यो महाअभियानमा नेपालमा मात्र होइन नेपालबाहिर रहेका नेपालीहरूले पनि व्यापकरूपमा सद्भाव समूहहरू गठन गरेर हामीलाई सघाउनु हुनेछ भन्ने हाम्रो आग्रह र विश्वास रहेको छ।

हाम्रो पार्टीको लागी संगठन बिस्तारको यो ऐतिहासिक वर्ष वैकल्पिक राजनीतिको मेरुदण्ड निर्माणको चरण हुनेछ जसबाट हामी आउँदो आम निर्वाचनसम्ममा निर्विकल्प शक्तिका रूपमा स्थापित हुने बाटोमा अग्रसर हुनेछौं। त्यसकारण, राजनीतिक दलको सदस्यता लिन मिल्ने आम सर्वसाधारणलाई हामी यो वर्ष सक्दो बढी संख्यामा विवेकशील साझाको सदस्यता लिन, आफन्त र साथीहरूलाई सदस्यता लिन प्रेरित गर्न तथा संगठनमैं सकृय भएर काम गर्न मिल्ने शुभेच्छुकहरूले हामीले केही समयअघि नै सार्वजनिक गरिसकेको संगठन निर्माणको रूपरेखा अनुरूप संगठन निर्माण तथा विस्तारमा संलग्न हुन पनि हामी यसै विज्ञप्तिमार्फत आग्रह गर्दछौं। नेपालभित्र सदस्यता ग्रहण, संगठन निर्माण र विदेशमा सद्भाव समूहको गठनबारेको जानकारी हाम्रो वेबसाइट www.bibeksheelsajha.org मा उपलब्ध छ। थप जानकारीको विवेकशील साझा पार्टीको कार्यालयमा ०१-५५३६०६२ तथा ०१-५०१०६०९ मा अथवा मोबाइल नम्बर ९८५१२५३००१ तथा ९८५११४९२१४ मा फोन गरेर प्राप्त गर्न सक्नुहुनेछ।

विवेकशील साझा पार्टीले संगठन बिस्तार बर्ष मनाइरहँदा जनताको विशाल पंक्तिलाई पार्टीका विभिन्न रचनात्मक र नतिजामूखी अभियानहरुसँग जोडेर संगठन बिस्तारको कामलाई तिव्रता दिनेछ।

वैकल्पिक राजनीति गर्छु मात्र भनेर त्यसको उद्देश्य पुरा हुँदैन भन्नेमा हामी पूर्णरूपले सचेत छौं। त्यसैले, हामीले सांगठनिक संरचनालाई पनि नयाँ तर प्रभावकारी स्वरुप दिने चष्टा गरेका छौं। हामीले महाधिवेशनपछि निर्माण हुने पार्टीको संगठनात्मक संरचनालाई प्रतक्ष्य र सहभागितामूलक लोकतन्त्रको निर्वाचन विधिद्धारा संस्थागत गर्ने परिकल्पना गरेका छौं। यसले एकातिर पार्टीभित्र ‘औपचारिक लोकतन्त्र’लाई निरुत्साही गरेर ‘प्रतक्ष्य लोकतन्त्र’लाई स्थापित गर्न मद्धत गर्नेछ भने अर्कोतिर पार्टीले निर्दिष्ट गरेको ‘फिर्ता बोलाउन पाउने अधिकार’ र ‘अस्वीकार गर्न पाउने अधिकार’ले नेताहरुलाई उत्तरदायिपूर्ण बनाउने छ भन्ने हाम्रो विश्वास हो।

हामीले एउटै नेतृत्व दशकौंसम्म रहने परम्परालाई तोड्न क्षमतावान व्यक्तिहरू पार्टीको नेतृत्वमा छिटै पुग्ने व्यवस्थालाई पनि सुनिश्चित गर्ने प्रयास गरेका छौं। त्यसकारण, विवेकशील साझा पार्टी युवा तथा आम सर्वसाधारणलाई पार्टीको सदस्यता लिएर, विभिन्न तहको नेतृत्वमा रहेर वा विभिन्न अभियानमा जोडिएर संठगन विस्तार वर्ष—२०७५ मा सहभागी हुन अनुरोध गर्दछ। देशभित्र र बाहिर रहेका सबै नेपालीप्रति नयाँ बर्ष २०७५ को हार्दिक मंगलमय शुभकामना!

मुमाराम खनाल
केन्द्रिय सदस्य तथा संगठन विभाग प्रमुख
विवेकशील साझा पार्टी
मिति: ०१ बैशाख २०७५

सरकारले काठमाडौंमा तोकेको निषेधित क्षेत्रबारे

नेपाल सरकार, गृह मन्त्रालयको निर्देशनमा हालै जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका ७ स्थानलाई मात्र बिरोध प्रदर्शन तथा सार्वजनिक कार्यक्रमका लागि खुला भनेर तोकेको विषयमा विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ l यस निर्णयले शान्तिपूर्णरुपमा आयोजना गरिने जनप्रदर्शन कार्यक्रमलाई कमजोर पार्नेगरि लगभग पुरै शहरलाई ‘निषेधित क्षेत्र’ का रूपमा अर्थ्याएको हाम्रो बुझाई छ l

नेपालको संविधान २०७२ को धारा १७ ले व्यवस्था गरेको स्वतन्त्रताको हकको बिरुद्ध हुनेगरी आएको यो निर्णय लोकतन्त्रको मर्म विपरित छ l साथै यसले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने माध्यमका रूपमा शालीन एवं भद्र विरोधलाई अपनाउनेहरुलाई चिन्तित समेत तुल्याएको छl

प्रधानमन्त्रीले नयाँ बर्षको उपलक्ष्यमा देशबासीका नाममा राराबाट गरेको आफ्नो सम्बोधनमार्फत लोकतन्त्र प्रति पूर्ण प्रतिबद्धता जनाएको २४ घण्टा बित्दानबित्दै आएको यस निर्णयले सरकारको विश्वसनीयता माथि समेत गम्भीर प्रश्न चिन्ह खडा गरेको छl

विवेकशील साझा पार्टी अहिंसात्मक एवं भद्र जनप्रदर्शनमा विश्वास गर्दछ र आफ्ना अभियान संचालन गर्दा सर्वसाधारण नागरिकहरुलाई कुनै असुविधा नपुगोस् भन्ने तर्फ सदैव सजग रहिआएको छ l पछिल्ला समयमा कयौं भद्र आन्दोलनहरुको प्रतिक बनेको माईतीघर मण्डलालाई समेत निषेधित क्षेत्रमा पार्ने गरि आएको यस निर्णयलाई अविलम्ब फिर्ता लिन हामि सरकार समक्ष जोडदार माग गर्दछौं l

साथै, नागरिक समाजको आवाज मुखरित हुने स्थान (civic space) लाई खुम्च्याउने यस अनुचित निर्णयको विरुद्धमा एकताबद्ध हुन हामि सबै राजनीतिक दलहरु, स्वतन्त्र बुद्धिजीवी लगायत सचेत नागरिक समाजमा हार्दिक अपिल गर्दछौंl

रमेश पौड्याल
प्रवक्ता
विवेकशील साझा पार्टी
मिति: ०१ बैशाख २०७५

ओलीको भारत भ्रमण सफल तर सतर्कता आवश्यक

भारतको सौहार्दपूर्णरुपमा सम्पन्न राजकीय भ्रमणको लागि विवेकशील साझा पार्टी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली भ्रमणदलका सम्पूर्ण सदस्यहरू प्रति हार्दिक बधाई ज्ञापन गर्दछ।

नेपालको विकाश र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने नेपाल-भारत बिचको समझदारीलाई हामी स्वागत गर्दछौं। जलमार्ग र रेलमार्गका आयोजनाहरूको प्राविधिक र व्यवस्थापकीय पक्ष निर्क्यौल गर्दा नेपालको प्राथमिकता र राष्ट्रिय हितको सुनिश्चितता गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छौं।

भारत सरकारको सहयोगमा सञ्चालित पूर्वाधार विकासका आयोजनाको कार्यान्वयनमा बर्षौंको ढिलासुस्तीको तितो यथार्थको पृष्ठभूमिमा काठमाडौं-बिरगंज यातायात कोरिडरको रणनीतिक महत्त्वलाई आत्मसात् गर्दै प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्गको प्राविधिक तयारी र कार्यान्वयनमा सतर्कताका साथ तदारुकता अपनाउन हामी नेपाल सरकारलाई आग्रह गर्दछौं।

साथै प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्गका लागि दीर्घकालीन सोच सहित हाल विश्वमा प्रचलित आधुनिक रेल प्रविधि अपनाउने तर्फ नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छौं।

स्वदेश फर्के पछिको प्रधानमन्त्रीको वक्तव्यमा उल्लेख भए अनुसार नै यो भ्रमणले नेपाल-भारत सम्बन्धलाई समानताको आधारमा सौहार्दता र पारस्पारिक विश्वासको नयाँ उचाइमा पुर्याएको हामीले पनि ठानेका छौं। आपसी सम्बन्धको यस्तो नयाँ परिवेशमा नेपाल-भारत सीमा विवाद, सीमा क्षेत्रका भारतीय बाँधले नेपालमा सिर्जित बाढीको समस्या, अलपत्र परेका भारतीय सहयोगमा निर्माणाधीन आयोजना, र भारतसँग नेपालको बढ्दो व्यापार घाटा लगायतका समस्याको यथाशीघ्र समाधानार्थ विशेष पहल गर्न विवेकशील साझा पार्टी नेपाल सरकारलाई हार्दिक आग्रह गर्दछ।

डा. सूर्यराज आचार्य
प्रवक्ता
विवेकशील साझा पार्टी
मिति: २६ चैत्र २०७४