‘काठमाडौंबासीको आँखा मेयरतिर, मेयरको ध्यान कतातिर ?’

‘काठमाडौंबासीको आँखा मेयरतिर, मेयरको ध्यान कतातिर ?’काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयरले चुनावमा गरेको बाचा पूरा नगरेका भन्दै विरोध गरेको छ । पार्टीले मेयर र उपमेयरले चुनावको बेलामा आफूले गरेको घोषणापत्र हेर्न अनुरोध पनि गरेको छ ।

पाटींले काठमाडौं महानगरपालिका अगाडि, “वर्ष बित्यो, मास्कमात्रै बिक्यो मेयर ज्यू, १०१ काम होइन भ्रम रहेछ, मेयरको बाचा हराएको सूचना, काठमाडौंबासीको आँखा मेयरतिर मेयरको ध्यान कतातिर लेखेका प्लेकार्ड बोकेर विरोधमा उत्रिएका थिए ।

विरोधमा उत्रिएकी विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले सरकारले गर्न नराम्रो कामको आफूहरु सधैं खवरदारीमा उत्रने बताइन् । पार्टीले महानगरका मेयर र उपमयेरले निर्वाचनका बेला गरेको बाचा एक वर्षमा पूरा नगरेको भन्दै घोषणापत्र हेर्न अनुरोधसहितको पत्रसमेत पठाएको छ |

(साभार: बाह्रखरी, जेठ १७ बिहीबार, २०७५)

 

एक वर्ष बित्यो, मास्कमात्र बिक्यो मेयरज्यू’

विवेकशील साझा पार्टीले काठमाडौँको प्रदूषण हटाउन माग गर्दै निकालेको र्‍याली। सबै तस्बिरहरु: बर्षा शाह

काठमाडौँ- काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रण नभएको भन्दै विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेको छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सय दिनमा १ सय १ काम गर्छु भनेको र त्यसमा प्रदूषण नियन्त्रण गर्ने भनिएपनि निर्वाचित भएको १ वर्ष पुगिसक्दा प्रदूषण नियन्त्रणका लागि कुनै प्रयास नगरेको भन्दै विवेकशील साझा पार्टीले प्रदर्शन गरेको हो।

विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाको नेतृत्वमा मास्क लगाएर महानगर अगाडि विरोध गरिएको थियो। प्रदर्शनकारीले ‘मेयर आऊ मास्क हटाऊ, एक वर्ष बित्यो मास्क मात्रै बिक्यो, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

(साभार: देश सञ्चार, जेष्ठ १७, २०७५)

मेयर शाक्यविरुद्ध प्रदर्शन : एक वर्ष बित्यो मास्क मात्र बिक्यो

१७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्य निर्वाचित भएको बिहीबार एक वर्ष पुगेको छ । अघिल्लो वर्ष भएको स्थानीय निर्वाचनमा निर्वाचित भएपछि उनले काम सुरु गरेको एक वर्ष पुगेको छ ।

एक वर्षमा आफूले प्रतिवद्धता गरेको धेरै काम गर्न नसकेको भन्दै उनको आलोचना हुने गरेको छ । बिहीबार मेयर शाक्यको विरोधमा विवकेशील साझा पार्टीले काठमाडौं महानगरपालिका कार्यालयबाहिर प्रदर्शन नै गर्‍यो ।

प्रदर्शनमा तत्कालीन विवकेशील नेपाली पार्टीको तर्फबाट चुनावमा मेयर शाक्यकी प्रतिस्पर्धी रञ्जु दर्शना पनि सहभागी थिइन् ।

विवेकशील साझा पार्टीले ‘एक वर्ष वित्यो, मास्क मात्र बिक्यो मेयर ज्यू’, एक सय एक काम होइन एक सय एक भ्रम रहेछ जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

 

(साभार: अनलाइनखबर, जेठ १७, २०७५ )

विद्यासुन्दरको एक वर्ष : १०१ काम होइन १०१ भ्रम

विद्यासुन्दरको एक वर्ष : १०१ काम होइन १०१ भ्रम (फोटो फिचर)काठमाडौं– विवेकशील साझा पार्टीले काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रण नभएको भन्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेको छ। काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले १०० दिनमा १०१ काम गर्छु भनेको र त्यसमा प्रदूषण नियन्त्रण गर्ने भनिएपनि निर्वाचित भएको १ वर्षवित्दा समेत नियन्त्रणका लागि कुनै प्रयास नगरेको भन्दै विवेकशील साझा प्रदर्शनमा उत्रिएको हो।

नेतृ रञ्जु दर्शनाको नेतृत्वमा नेता कार्यकर्ताले मास्क लगाएर महानगर अगाडि विरोध गरेका थिए। प्रदर्शनकारीले ‘मेयर आउ मास्क हटाउँ, एक वर्ष वित्यो मास्क मात्रै विक्यो मेयर ज्यू, २० प्रतिशत समय वित्यो कति प्रतिशत वाचा पुरा भयो मेयर ज्यू, १०१ काम होइन १०१ भ्रम’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। प्रदर्शनका क्रममा नेतृ रञ्जु दर्शनाले प्रदूषण नियन्त्रणका लागि दबाब सिर्जना गर्न महानगरलाई मास्क उपहार दिइने बताइन।

 

(साभार: नागरिकन्युज डटकम,जेठ १७, २०७५)

बालकृष्ण ढुंगेललाई राष्ट्रपतिबाट माफी दिनेबारे

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतको अन्तिम फैसलाबाट दोषी ठहर भई हाल कैदको सजायँ भोगिरहेका बालकृष्ण ढुंगेललाई राष्ट्रपतिबाट माफी दिई जेलमुक्त गर्ने सरकारी तयारी प्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

सशस्त्र द्वन्द्वकालका घटनाहरु मूलतः सत्य निरुपण तथा मेलमिलाप आयोगबाट निरुपण गरिने भए पनि ढुंगेलको कैद सजाय आयोगको क्षेत्राधिकारभन्दा बाहिरको विषय हो भन्ने कुरा सम्मानित अदालतको फैसलाबाट यस अघि नै स्पष्ट भैसकेको छ।

गम्भीर अपराधमा संलग्न भएको भन्दै अदालतले पीडितका लागि खतरा समेत रहेको ठहर गरेका व्यक्तिलाई असल चालचलन भन्दै सरकारले कैद मिनाहा गर्न खोज्नु न्याय र विधिको शासनको खिल्ली उडाउनु हो। ढुंगेललाई माफी दिने सरकारको तयारीको हामी पूर्ण विरोध गर्दछौं।

द्वन्द्वकालीन मुद्दाहरु समयमा नै सम्बोधन गरी पीडितहरुलाई उचित न्याय दिन अग्रसर हुनुको साटो पीडित व्यक्तिहरुको भावनामा ठेस पुग्ने यस प्रकारको निर्णय नगर्न हामी सरकारलाई खबरदारी गर्दछौं।

रमेश पौड्याल
केन्द्रीय प्रवक्ता
नेता, प्रदेश-३ प्रदेशसभा संसदीय दल
विवेकशील साझा पार्टी
१४ जेठ २०७५

सांसदको तजविजमा विकास बजेट छुट्याउनेबारे

आगामी बजेटमा निर्वाचन क्षेत्र विकास कोष र सांसद विकास कोषका नाममा राज्यको ढुकुटी आफ्नै तजबिजमा खर्च गर्नेगरी रकम छुट्याउन केन्द्र तथा प्रदेशका सांसदहरुबाट लविंग भैरहेको भन्ने समाचारहरुप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छl

मुलुकमा ७५३ स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आफ्नो काम सम्पादन गरिरहेको परिप्रेक्ष्यमा संघीय र प्रादेशिक सांसदहरुले कार्यकारीणीको अधिकारक्षेत्रमा पस्न खोज्नु शक्ति पृथकीकरणको सिद्धान्तको समेत विपरित छ l

यस्तो कार्यले कानून निर्माण गर्नुपर्ने सांसदहरुको प्राथमिक भूमिकालाई न्यून तुल्याउनुको साथै स्थानीय तहको अधिकारक्षेत्रमा पनि हस्तक्षेप हुन जान्छl

सांसदहरुले राजनीतिक आस्थाका आधारमा टुक्रे योजनाहरुमा ‘कनिका छर्ने’ परिपाटी मौलाउने हुँदा प्राथमिकताप्राप्त क्षेत्रमा विकासका कार्यहरु अघि बढ्न असहज हुन्छl

महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनमा समेत यी कोषहरूमा व्यापक बेरुजु र अनियमितता देखिएको उल्लेख गरेको व्यहोरा यहाँ स्मरणीय छ l

अत: यी कोषहरूमार्फत सांसदहरुलाई रकम वितरण नगर्न विवेकशील साझा पार्टी सरकारसँग जोडदार माग गर्दछl

प्रदेश ३ को प्रदेश सभा र त्यस बाहिर पनि हामीले यस विषयमा निरन्तर खबरदारी गर्दै आएको सन्दर्भमा यदि हाम्रो माग सुनुवाई नभए संसद भित्र र बाहिरबाट हाम्रा विरोधका कार्यक्रमहरु जारी रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउंदछौ l

प्रवक्ता
रमेश पौड्याल
प्रवक्ता तथा प्रदेश नं ३ को संसदीय दलका नेता
विवेकशील साझा पार्टी
०७ जेठ २०७५

विवेकशील साझाको प्रदेश ३ को संयोजक चयन

विवेकशील साझा पार्टीले प्रदेश नं ३ को संयोजकमा गत निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ को प्रदेशसभाको उमेदवार, कानुनकर्मी तथा व्यवसायी समीक्षा बास्कोटालाई चयन गरेको छ।

३४ वर्षीया बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाको सेण्ट जन्स विश्वविद्यालयबाट कानुनमैं स्नातकोत्तर गरेकी छिन्।

स्नातकोत्तरपछि ‘डिन्स फेलो’ मनोनीत भएर केही समय अमेरिकामैं काम गरी २०६७ सालमा नेपाल फर्किएकी बास्कोटाले त्यसपछिका वर्षहरू प्राध्यापन, कानुनी अभ्यास, पारिवारिक व्यवसाय तथा परोपकारी गतिविधिमा बिताएकी छन्।

उनी इमानदार राजनीतिका लागि चिनिएका नेपाली काँग्रेसका नेता तथा पूर्व गृह राज्यमन्त्री दीपक प्रकाश बास्कोटाकी छोरी हुन्।

पारिवारिक राजनीतिक माहोलमा हुर्किएकी बास्कोटा राष्ट्रलाई बृहत्तररूपमा योगदान पुर्याटउने सबैभन्दा सशक्त माध्यम इमानदार राजनीति नै हो भन्नेमा विश्वस्त छिन्।

गत निर्वाचनमा विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नं १ ‘क’ को प्रदेशसभाको उमेदवार बनेर २७ प्रतिशत मत ल्याएकी उनले सम्मानजनक तेस्रो स्थान हासिल गरेकी थिइन्।

एक जना सुशिक्षित, उद्दमी, क्षमतावान र उर्जावान महिलालाई प्रदेश नं ३ को संयोजक तथा केन्द्रीय सदस्यका रूपमा पार्टीमा स्वागत गर्न पाउँदा विवेकशील साझा पार्टीले गौरवको अनुभूति गरेको छ।

पार्टी प्रदेश नं ३ को संयोजक चयन प्रक्रियामा सहयोग पुर्याकउने सबैप्रति हार्दिक आभार प्रकट गर्दछ।

प्रवक्ता
रमेश पौड्याल
प्रवक्ता तथा प्रदेश नं ३ को संसदीय दलका नेता
विवेकशील साझा पार्टी

बन्दको बिरोधमा बुटवलमा मोटरसाइकल र्‍याली

३० वैशाख, बुटवल । बन्दको बिरोध गर्दै युवाहरुको समूहले बुटवलमा मोटरसाइकल र्‍याली निकालेका छन् ।

विवेकशील साझा पार्टी र नमस्ते नेपाल नामक युवाहरुको समूहले बन्दको बिरोधमा र्‍याली निकालेको हो । ‘बन्द हड्ताल सधैंका लागि अन्त्य छ, रुपन्देही जिल्ला सधैंका लागि खुल्ला छ’ नारा लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डासहित शंकरनगरदेखि बुटवलको गोलपार्कसम्म र्‍याली निकालिएको हो ।

र्‍यालीपछि ट्राफिकचोकमा आयोजित कोणसभामा विवेकशील साझा पार्टी रुपन्देही संयोजक हरिकृष्ण अधिकारी, समूहका अर्जुन खरेल लगायतका युवाहरुले बोल्दै बन्द र हड्तालले कसैको पनि हित नगर्ने हुँदा बन्द सधैंका लागि अन्त्य हुनुपर्ने बताए ।

बन्द, हड्तालले मुलुकको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने र अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको छवि नराम्रो बनाउने भएकाले बन्दको विकल्पमा अन्य रचनात्मक विरोधका कार्यक्रम गर्नुपर्ने उनीहरुको माग छ ।

बन्द आव्हानका कारण सार्वजनिक यातायातका सवारीसाधन चलेका छैनन् । तर, निजी गाडीहरु र मोटरसाइकल भने चलेका छन् ।

२०७५ वैशाख ३० गते १३:०४ मा प्रकाशित

सरकारको राष्ट्रवादी मुखुण्डो च्यातियो : विवेकशील साझा पार्टी

काठमाडौं– विवेकशील साझा पार्टीले केपी शर्मा ओली नेतृत्वको वाम सरकारको राष्ट्रवादी मुखुण्डो च्यातिएको टिप्पणी गरेको छ।

‘आफूलाई अब्बल राष्ट्रवादी दाबी गर्ने ओली सरकारले भारतीय ‘नाकाबन्दी’ उल्लेख गरेकै कारण ब्यानर हटाउनु र प्रहरी दमनमा उत्रनुले सरकारको राष्ट्रवादी मुखुण्डो च्यातिएकै छ’, विवेकशील साझाका प्रवक्ता रमेश पौड्यालद्वारा शनिबार जारी प्रेस वक्तव्यमा भनिएको छ।

यस्ता गतिविधीले सरकार अलोकत्रन्त्रिक एवं अधिनायकवादी बाटोमा जान लागेको त होइन भन्ने गम्भीर प्रश्न पनि खडा भएको पनि विवेकशीलले उल्लेख गरेको छ।

‘केपी ओली नेतृत्वको सरकारको दमनकारी कदमलाई हामीले राजनीतिक स्वतन्त्रता एवं अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षपको रुमा लिएका छौँ। सरकारको यो कदम कुनै एउटा पार्टीविशेषका बिरुद्ध भन्दा पनि लोकतन्त्रमा विश्वास राख्ने सबैका बिरुद्धको कदम हो भन्ने हाम्रो ठम्याई छ’। विवेकशीलले भनेको छ- ‘अतः हामी समस्त लोकतन्त्र पक्षधर एवं न्यायप्रेमी जनसमुदायलाई सरकारको असहिष्णु रवैयाका बिरुद्ध एक्यबद्ध हुन आह्वान गर्दछौं।’

प्रहरी हस्तक्षेपबारे विवेकशील साझा पार्टीको वक्तव्य

यही २०७५ बैशाख २८ गते, शुक्रबारदेखि सुरु भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका सम्बन्धमा विवेकशील साझा पार्टीले आफ्ना धारणा यस अघि नै सार्वजनिक गरेको व्यहोरा सर्वविदितै छ। प्रथमतः छिमेकी मुलुकका प्रधानमन्त्रीको भ्रमणलाई हामीले सकारात्मक रुपमा लिँदै स्वागत नै गरेका हौँ। यद्यपी २०७२ को महाविनाशकारी भूकम्पले थिलथिलो पारिरहेको समयमा भारतले नेपाल बिरुद्ध लगाएको नाकाबन्दी पनि हामीले भूलेका छैनौं भन्ने संदेश हामीले दिन खोजेकै हौँ। हाम्रो आशय स्पष्ट थियो र छ, भारतीय प्रधानमन्त्रीले नेपाली नागरिक समक्ष नाकाबन्दीका लागि क्षमायाचना गरेर मात्रै नयाँ शीराबाट विश्वसनीय सम्बन्धको शुरुवात हुनसक्छ।

यसै शिलशिलामा हिजो शुक्रबार हाम्रो केन्द्रीय कार्यालय, बखुंडोल, ललीतपुरमा “मोदिजी स्वागत छ, तर नाकाबन्दी विर्सेका छैनौँ” लेखेर टांगिएको ब्यानर प्रहरीद्वारा बलप्रयोग गरि हटाईएको छ। बिना कुनै पुर्जी प्रहरी टोली पार्टी कार्यालयमा प्रवेश गर्नु, राति अबेरसम्म प्रहरीले केन्द्रीय कार्यालयमा गस्ती गर्नु, सादा पोशाकका मानिसहरुले कार्यालयको निरन्तर निगरानी गर्नु जस्ता घटनाक्रमले हाम्रो कार्यालय परिसरलाई एक ढंगले आतंकित पारिएको छ। प्रहरी हस्तक्षेपको यो शृंखला आज (शनिबार) दिउँसोसम्म निरन्तर छ।

यसै प्रतिकुलताका बीच हिजो र आज हामीले कालो वेलुन उडाएर हाम्रो सांकेतिक विरोधको कार्यक्रम शान्तिपुर्ण तवरबाट सम्पन्न गरेका छौँ। हिजोको प्रहरी हस्तक्षेप बिरुद्ध बुटवल, चितवन लगायतका स्थानहरुमा पनि आज प्रदर्शन भएका छन्। र, त्यहाँ पनि सरकारद्वारा प्रहरी हस्तक्षेप गरिएको छ। बुटवलबाट हाम्रा केन्द्रीय नेता एवं प्रदेश ५ का संयोजक श्री अनुपमान सैंजुलगायत दर्जनौं सदस्यहरुलाई पक्राउ गरिएको छ।

आफूलाई अब्बल राष्ट्रवादी दाबी गर्ने ओली सरकारले भारतीय ‘नाकाबन्दी’ उल्लेख गरेकै कारण ब्यानर हटाउनु र प्रहरी दमनमा उत्रनुले सरकारको राष्ट्रवादी मुखुण्डो त च्यातिएकै छ नै, धेरैले आशंका गरेजस्तो यो सरकार अलोकत्रन्त्रिक एवं अधिनायकवादी बाटोमा जान लागेको त होइन भन्ने गम्भीर प्रश्न पनि खडा भएको छ।

केपी ओली नेत्तृत्वको सरकारको दमनकारी कदमलाई हामीले राजनीतिक स्वतन्त्रता एवं अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षपको रुमा लिएका छौँ। सरकारको यो कदम कुनै एउटा पार्टीविशेषका बिरुद्ध भन्दा पनि लोकतन्त्रमा विश्वास राख्ने सबैका बिरुद्धको कदम हो भन्ने हाम्रो ठम्याई छ। अतः हामी समस्त लोकतन्त्र(पक्षधर एवं न्यायप्रेमी जनसमुदायलाई सरकारको असहिष्णु रवैयाका बिरुद्ध एक्यबद्ध हुन आह्वान गर्दछौं। साथै, हिजोको प्रहरी हस्तक्षेपका बिरुद्ध आवाज बुलन्द गर्नुहुने सबै राजनीतिक दलका नेता, नागरिक समाज एवं प्रेस जगत एवं प्रति हार्दिक आभार प्रकट गर्दछौँ।

विवेकशील साझाले उडायो ‘नाकाबन्दी’ बेलुन

विवेकशील साझा पार्टीले शुक्रबार पार्टी कार्यालयमा टाँगिएको तुल प्रहरीले हटाएको विरोधमा शनिबार प्रदर्शन गरेको छ।

ललितपुरस्थित पार्टी कार्यालयमा विवेकशील साझाका नेता/कार्यकर्ताले ‘मोदीजी, स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौं’, ‘अधिनायकवादी ओली सरकार होसियार’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरे।

प्रर्दशनपछि नाकाबन्दी लेखिएको बेलुन आकाशमा उडाइएको छ।

दुई दिने राजकीय भ्रमण आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साढे २ वर्षअघिको नाकाबन्दी सम्झाउन विवेकशील साझाले प्रदर्शन गरेको हो।

यसअघि शुक्रबार सो पार्टीले मोदीजी स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौं लेखेर कार्यालयमा टाँगेको तुल प्रहरीले झिकेर लगेको थियो।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस केन्द्रीय सदस्य गगन थापा लगायत नेताले सरकारको सो कदम निन्दनीय भएको बताएका छन्।