नेपालभित्र र बाहिर रहेका आदरणीय साथीहरू,
विवेकशील साझा पार्टी स्थापना भएको आज एक वर्ष पुरा भएको छ। पार्टी स्थापना दिवसको अवसरमा पार्टीका सम्पूर्ण सदस्य, शुभचिन्तक र स्वयंसेवकहरूमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछौँ। तपाईँहरूको साथ र सहयोगबिना पार्टी यो बिन्दुमा आइपुग्ने थिएन। तपाइहरूले दिनुभएको अमूल्य सहयोग, सद्भाव र मार्गदर्शन नै हाम्रो पार्टीको अजय ऊर्जा हो। त्यही ऊर्जाले नै हामीलाई निरन्तर अगाडि बढ्न शक्ति प्रदान गरिरहेको छ।
यो एक वर्षमा हामी देशका विभिन्न जिल्ला पुग्यौँ। विभिन्न अन्तरक्रिया र भेटघाट भए। हामी विभिन्न सामाजिक तथा राजनीतिक अभियानमा सहभागी भयौँ। हामीलाई हजारौँ मित्रहरूको अपार माया, उत्साह र समर्थन प्राप्त भयो। धेरै शुभचिन्तकले हामीलाई वैकल्पिक पार्टी, यसको विचार, सिद्धान्त र सङ्गठनात्मक प्रणाली कस्तो बनाउने भन्नेमा मार्गदर्शन गर्नुभयो।
एक वर्ष हाम्रा लागी निकै उत्साहजनक रह्यो। हामीले पार्टी एकता गर्यौँ। हामीले पार्टी एकता पूर्व स्थानीय तथा पार्टी एकतापश्चात् प्रदेश र सङ्घको निर्वाचनमा भाग लियौँ। हाम्रा तिन जना साथीहरू प्रदेश नं ३ को संसद्मा हुनुहुन्छ। पार्टी निर्माणको छोटो समयमै हामीले दर्जनौँ पार्टीहरूको बिचमा आफूलाई पाँचौँ स्थानमा ल्यायौँ र देशभरि अलग पहिचान आर्जन गर्यौँ। एउटा बिन्दुमा देशलाई तराजुमय बनायौँ, यद्दपी, नेपाली समाजको राजनीतिक चरित्र र समय अभावका कारणले हामी राष्ट्रिय पार्टी बन्ने हाम्रो लक्षको धेरै नजिक पुगेर पनि राष्ट्रिय पार्टी नै बन्न भने विफल भयौँ।
हामीले सातमध्ये ५ वटा प्रदेशमा सम्मानित, क्षमतावान, प्रतिबद्ध संयोजकहरू चयन गरिसकेका छौँ। प्रदेश नं २ र ४ मा पनि छिटै अन्य प्रदेशमा जस्तै हाम्रो पार्टीलाई विशिष्ट नेतृत्व प्रदान गर्ने संयोजक चयन गर्नमा हामी प्रतिबद्ध छौँ।
हामीले ‘कल्याणकारी लोकतन्त्र’लाई हाम्रो वाद/दर्शन/वैचारिक आधारका रूपमा अंगिकार गरेका छौँ। यही एक वर्षभित्र हामी शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने मान्यता स्थापित गर्न पनि सफल भएका छौँ, जुन दाबी गर्ने कुनै पनि प्रमुख पार्टीको नैतिक आधार र आँट छैन। ‘सुसंस्कृत राजनीति, समतामूलक संवृद्धि’लाई हामीले हाम्रो लक्ष बनाएका छौँ भने ‘सहभागितामूलक लोकतन्त्र, समन्वयात्मक बजार अर्थतन्त्र, कल्याणकारी राज्य र सामाजिक न्याय’लाई हामीले हाम्रो मार्गदर्शक सिद्धान्त मानेका छौँ। त्यसै गरी हामीले ‘जिम्मेवार नागरिक, उद्यमशील समाज, सेवक सरकार, कल्याणकारी राज्य र स्वाभिमानी देश’लाई हाम्रो विश्वास भनेका छौँ। सङ्गठन निर्माणको प्रारम्भिक खाका पनि सार्वजनिक गरिसकेका छौँ। यी सबै लगायत हाम्रो आय-व्ययको विवरण हाम्रो वेबसाइट www.bibeksheelsajha.org मा उपलब्ध गराएकाछौं।
हामी पार्टीलाई ‘पिरामिड शैली’ मा निर्माण गर्दैछौं किनभने जग बलियो भयो भनेमात्र त्यो पार्टी सशक्त, जीवन्त, दीर्घकालिक र रूपान्तरणकारी हुन सक्छ। हामी निर्वाचन आयोगमा दर्ता भएका १५० वटाभन्दा बढी दलहरूजस्तै अस्तित्वमा रहने तर देशको रूपान्तरणका लागि नेतृत्वमा कहिल्यै पुग्न नसक्ने पार्टी हुन चाहाँदैनौं। आउँदो निर्वाचनमा देशको नेतृत्व सम्हाल्ने उद्देश्यका साथ आगामी दिनहरूमा हामी मूलरूपमा देशभरि सङ्गठन विस्तार, सदस्यता विस्तार, कोष सङ्कलन र भ्रष्टाचार विरोधी अभियानमा केन्द्रीत रहने छौँ। साथसाथै हामी सरकारलाई जवाफदेही बनाउन सदा प्रयत्नशील हुनेछौँ।
हामी पनि मान्छे हौँ, हामीबाट पनि गल्ती हुन्छ। पार्टी निर्माणको क्रममा हामी गल्ती गरौँला तर बेइमानी गर्दैनौँ। त्यो हाम्रो प्रतिबद्धता हो। हामी सबैको प्रतिबद्धता, परिश्रम र देश प्रेमले एकै पुस्ताभित्र यो देश रूपान्तरण गर्ने नै हो र परिवर्तन हेर्ने नै हो।
तपाईँहरूको साथ र सहयोग अटल रहोस्, नेपालको जय होस्!
रवीन्द्र मिश्र तथा उज्वल थापा
संयोजक
विवेकशील साझा पार्टी
मिति: ११ साउन २०७५