‘बलात्कार र हत्या’को कञ्चनपुर घटनाबारे

मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति विवेकशील साझा पार्टी गम्भीर चिन्ता व्यक्त गर्दछ। हाम्रो पार्टी यस्ता खाले जघन्य अपराधमा संग्लनहरुलाई कानुनको दायरामा ल्याई हदैसम्मको सजायाँ दिलाउन नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ।

यस्ता घटनाका अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन नसक्दा सरकारको विश्वसनीयतामा ठुलो ह्रास आउँछ भन्नेमा सरकार सचेत छ भन्ने हामीले आशा गरेका छौँ।

गत श्रावण ११ गते कञ्चनपुरको भीमदत्त–२ मा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि निर्ममतापूर्वक हत्या गरिएको खबरहरू आइरहेका बेला उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन प्रहरी प्रशासन प्रभावकारी नदेखिएको भन्दै स्थानीयहरू विरोधमा उत्रँदा प्रहरीले गोली चलाउनु अत्यन्तै निन्दनीय छ। घटनामा घाइते भएका सबैको विवेकशील साझा पार्टी शीघ्र स्वास्थलाभको कामना गर्नुका साथै उनीहरूको निशुल्क उपचारको माग गर्दछ।

ढिलै भए पनि गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गर्नुलाई हामीले सकारात्मकरूपमा लिएका छौँ। तर अन्य विभिन्न घटनामा बन्ने छानबिन समितिजस्तै यो समिति पनि कर्मकाण्डी नहोस् भन्नेमा हामी सरकारलाई सावधान गराउन चहान्छौं।

स्व. निर्मला पन्तको परिवारजन एवं कञ्चनपुरका न्यायप्रेमी नागरिकहरूको न्यायका आवाजप्रति हामी एक्यबद्धता जनाउदछौं।

साथै, समाजमा बढिरहेको यौनजन्य हिंसा र बलात्कारका घटनाहरूमा समाजका हरेका नागरिक र परिवारले पनि त्यसबारे परिवार र गाउँठाउँमा सचेतना जगाउन भूमिका निर्वाह गर्नु अत्यन्तै जरुरी भएको हामीले महसुस गरेका छौँ। हामी विवेकशील साझा पार्टीसँग आबद्ध र हामीप्रति शुभेच्छा राख्ने सबैलाई यौनजन्य हिंसाका बारे आ-आफ्नो ठाउँमा सचेतना कार्यक्रमहरू सुरु गर्न पनि यसै विज्ञप्तिमार्फत आग्रह गर्दछौँ।

रमेश पौड्याल
प्रवक्ता
विवेकशील साझा पार्टी
मिति: ०८ भदौ २०७५

विवेकशील साझाको कार्यक्रममा भएको हुलदङ्गाबारे

विवेकशील साझाको कार्यक्रममा भएको हुलदङ्गाबारे

प्रिय सदस्य तथा शुभेच्छुकहरू, यही २०७५ श्रावण १९ गते, शनिवार बानेश्वरमा प्रदेश नं ३ को ६ वटा जिल्लाका संयोजकहरूको घोषणा कार्यक्रममा केही व्यक्तिहरूबाट भएको हुलदङ्गाप्रति हामी अत्यन्तै दुखी छौँ। सो हुलदङ्गामा संलग्न कतिपय पार्टीको सदस्य नै नरहेको र घुसपैठ समेत भएको हामीले प्रारम्भिक सूचना पाएका छौं।

हुलदङ्गा र त्यसमा संलग्नहरूका बारे सूक्ष्म छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन शनिवार नै बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले न्याय तथा सुशासन आयोगलाई सिफारिस गरिसकेको छ। यस विषयमा हामी तपाईँको धैर्यको अपेक्षा गर्दछौँ।

यसै सिलसिलामा हामी केही कुरा प्रस्ट पनि पार्न चहान्छौं।

कतिपय साथीहरूले प्रदेश संयोजक र जिल्ला संयोजकहरू कसरी चयन हुँदैछन् भन्नेबारेमा जिज्ञासा राखेको देखिएको छ। हाम्रो एकीकरण संझौतापत्रले प्रदेश संयोजक पार्टीको संयोजन समितिलाई केन्द्रीय समितिप्रति उत्तरदायी हुने गरी तोक्ने जिम्मा दिएको छ र अहिलेसम्म हामीले त्यसै गर्दै आएका छौँ।

त्यसैगरी, केन्द्रीय समितिबाट पारित गरिएको हाम्रो सङ्गठन निर्माण दस्ताबेजले जिल्ला संयोजक तोक्ने जिम्मा सङ्गठन विभागसँगको सम्मनवयमा प्रदेश संयोजकलाई दिएको छ। र अहिलेसम्म हामीले त्यसै गर्दै आएका छौँ। हालको अवस्थामा हाम्रा संरचनाहरू अत्यन्तै न्यून रहेकोले हामीले नेतृत्व निर्माणको उक्त शैली अवलम्वन गरेका हौं।

अबको एकदेखि डेढ वर्षभित्र हुने पार्टीको महाधिवेशन पश्चात् नेतृत्व निर्माणको शैली महाधिवेशनले पारित गरेको विधान बमोजिम हुनेछ। हालको नेतृत्व चयनको प्रकृयाबारे घटनाको अघिल्लो दिन पार्टीका एकजना संयोजक तथा केही केन्द्रीय नेताहरूले उक्त घटनामा संलग्न केहीे असन्तुष्ट सदस्यहरूसंग भेटी जानकारी गराएका थिए।

कतिपय साथीहरूले युवा नेतृत्वलाई हामीले ध्यान नदिएको भन्ने विषय पनि उठाउनु भएको छ। तर हिजो चयन भएका ६ जना जिल्ला संयोजकहरूमध्ये तीन जना ४० वर्ष मुनिका र ३ जना ४५ वर्षको हाराहीका हुनुहुन्छ। त्यसै गरी प्रदेश नं ३ की संयोजक समीक्षा बास्कोटा ३४ वर्षकी हुनुहुन्छ।

हामी हाम्रा शुभेच्छुक र सदस्यहरूको व्यावहारिक र जायज आवाज तथा आलोचनाको सधैँ सम्मान गर्नेछौँ तर अभद्र व्यवहार स्वीकार्य हुने छैन। पार्टी निर्माणको क्रममा आएका प्रतिकूलताहरू हामी चिर्दै जाने नै छौँ।

तपाईँको साथ र सहयोग अटल रहोस्!

डा सूर्यराज आचार्य
प्रवक्ता
विवेकशील साझा पार्टी
२० साउन २०७५