सार्वभौमिकतामाथि आँच पुर्याउनेलाई रोकियोस्

हालै दुई फरक प्रसंग र सन्दर्भमा नेपालभित्र र नेपाल बाहिरबाट नेपालको सार्वभौमिकता र स्वाभिमानमाथि आँच पुग्ने गरी भएको देखिएका दुई घटनाप्रति विवेकशील साझा पार्टीको गंभिर ध्यानाकर्षण भएको छ।

संविधान दिवसका दिन प्रदेश नं २ मा एउटा समुहले मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामा ठाडो प्रहार हुने गरी गरेको भेला र भाषणको विवेकशील साझा पार्टी कडा भर्त्सना गर्दछ। संविधानसभाका झण्डै ९० प्रतिशत सभासदहरूले अनुमोदन गरेको हालको संविधान एक सहमतिको दस्तावेज हो। लोकतान्त्रिक देशमा संविधानसभामार्फत बनेको संविधानमा त्यति ठूलो संख्याको सहमति रहनु आफैंमा एउटा उदाहरण हो। संविधान एक गतिशील राजनीतिक दस्तावेज हो र परिस्थिति अनुकुल त्यसमा संसोधन हुने लोकतान्त्रिक बाटो हाम्रो संविधानले खुला राखेको छ। संबिधानप्रतिको असन्तुष्टीलाई सबै दल र सरकारले सक्दो लचकताका साथ राजनीतिक हिसाबले संबोधन गर्न जरुरी छ। तर कुनै पनि आवरणमा मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामाथिको प्रहारलाई सरकारले लाचार भएर हेरी बस्नु आपत्तिजनक छ। त्यस्ता गतिविधिका अगुवालाई कडाईका साथ कानुनी दायरामा ल्याउन विवेकशील साझा पार्टी सरकारलाई आग्रह गर्दछ।

त्यसैगरी, केही दिनअघि भारतीय सेना प्रमुख विपिन रावतले ‘भौगोलिक बाध्यता’ कारण नेपालले चाहेर पनि भारतबाट टाढा जान नसक्ने बताएका खबरहरू प्रकाशमा आएका छन्। उनले भूगोलकै कारण नेपाल चीनतर्फ ढल्किन नसक्ने दाबी समेत गरेको बताइएको छ। त्यस प्रकृतिका टिप्पणी विज्ञ र विश्लेषकबाट आउनु अस्वभाविक हुँदैन। तर ती टिप्पणीहरू साँचो हुन् भने एकजना सेनाप्रमुखबाट त्यस्तो अभिव्यक्ति आउनु गैर-कूटनीतिक र असोभनीय हुन्छ, जसका बारे देशका सत्तारूढ तथा प्रमूख विपक्षी दलहरू मौन छन्। नेपाल सरकारलाई सोबारेमा भारत सरकारसँग पत्राचार गर्न र भविष्यमा द्वीपक्षीय सम्वन्धमा आँच आउन सक्ने त्यस्ता गैरजिम्मेवार अभिव्यक्ति दोहोरिन नदिन आग्रह गर्न पनि हामी सरकारलाई अनुरोध गर्दछौं।

डा सूर्यराज आचार्य
प्रवक्ता
विवकेशील साझा पार्टी
०५ असोज २०७५