डा. केसीको सम्भावित १६औं अनशन बारे

सत्याग्रही डा. गोविन्द केसीले १६ औँ पटक अनशन बस्ने तयारी गरिरहेको भन्ने समाचार प्रति विवेकशील साझा पार्टीको ध्यानाकर्षण भएको छ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई सर्वसुलभ एवं गुणस्तरीय बनाउन यसअघि पन्ध्र पटकसम्म अनशन बसेका डा. केसीसँग नेपाल सरकारले पछिल्लो पटक २०७५ श्रावण १० गते २२ बुँदे सम्झौता गरेको विषय यहाँ स्मरणीय छ। उक्त सम्झौतामा उल्लेखित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा यथोचित संशोधन गर्ने विषयमा सरकार पुरै उदासीन देखिनु गम्भीर चिन्ताको विषय हो।

एकै विषयमा एउटा सत्याग्रहीले १५ पटकसम्म अनशन बस्नुपर्ने र हरेक पटक सरकारको तर्फबाट सम्झौता गर्दै र उक्त सम्झौता उलंघन गर्दै रहने यो परिघटना सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि लज्जास्पद छ। आफूले हस्ताक्षर गरेको विषयबाट पटक, पटक पछाडि हट्नुले सरकारको विश्वसनीयतामाथि समेत गम्भीर प्रश्न चिन्ह लागेको छ।

यस परिप्रेक्ष्यमा डा. केसीले फेरि पनि अनसन बस्नुपर्ने अवस्था नै आउन नदिनेगरी देहायअनुसार कदम चाल्न विवेकशील साझा पार्टी सरकार समक्ष जोडदार माग गर्दछ।

१) डा. गोविन्द केसीसँग भएको सम्झौता किन कार्यान्वयनमा जान सकेन भन्ने विषयमा प्रधानमन्त्रीले देशवासीलाई तत्काल जानकारी गराउनु पर्छ।

२) सम्झौता कार्यान्वयनका क्रममा सतहमा आएको नेपाल सरकारका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको विवादास्पद भूमिकाको स्वतन्त्र छानबिन गरिनुपर्छ।

३) छानबिनलाई सहज ढङ्गले अघि बढाउन शिक्षा मन्त्रीले पदबाट राजीनामा दिनुपर्छ।

४) शिक्षा मन्त्रीले अटेर गरि राजीनामा नदिए सम्झौताको स्वामित्व लिँदै प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्छ।

५) प्रधानमन्त्रीको अग्रसरतामा डा. गोविन्द केसीसँग अविलम्ब वार्ता गरी श्रावण १० को सम्झौता पूर्णतः कार्यान्वयनको ग्यारेन्टी गरिनुपर्छ।

रमेश पौड्याल
प्रवक्ता
विवेकशील साझा पार्टी
०१ पुष २०७५