राष्ट्रिय सभामा दबाब दिन अनुरोध

राष्ट्रिय सभामा दबाब दिन अनुरोध

विवेकशील साझा पार्टीले आफ्नो समर्थनमा राष्ट्रिय सभाको सदस्य बन्नुभएका राधेश्याम अधिकारीसँग भेट गरी चिकित्सा शिक्षा विधेयकबारे आज राष्ट्रिय सभामा हुने छलफलमा डा गोविन्द केसीसँगको संझौता पालना गर्न सक्दो दबाब दिन आग्रह गरेको छ।

आज ११ बजे विवेकशील साझा पार्टीको बखुण्डोल, ललितपुरस्थित पार्टी मुख्यालयमा पार्टीका नेता तथा सांसद अधिकारीबीचको कुराकानीमा अधिकारीले डा केसीको मागको पक्षमा आफूले आजै संसोधन प्रस्ताव दर्ता गरिसकेको बताउनुभयो।

सरकारले ल्याउन लागेको विधेयक पुनर्विचारका लागि विधायन समितिमा पठाउनु उपयुक्त हुने उहाँको धारणा थियो। राष्ट्रिय सभाले चाहेमा प्रतिनिधसभाबाट भएको गल्ती सच्याउन सक्ने ठाउँ रहेको विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले बताउनुभयो। पार्टीका नेताहरुले डा केसीको जिवन रक्षाको लागि सक्दो पहल गर्न पनि अधिकारीसँग आग्रह गरे।

“पाँच वर्ष राज्य चलाउन दिएको पार्टी एउटा अस्पताल चलाउन पाइन भनेर झगडा गरिरहेको छ,” अधिकारीले भन्नुभयो।

विवेकशील साझा पार्टीले शिक्षा र स्वास्थ जस्ता आधारभुत समाजिक सेवा मुलत: राज्यको दायित्व हुनु पर्ने अडान लिँदै आएको छ। चिकित्सा शिक्षाको गैर-नाफामुलक सार्वजनिकिकरण नहुँदासम्म यो क्षेत्रमा व्याप्त विसंगतिपूर्ण व्यापारीकरणको समस्याको जरैबाट निराकरण सम्भव नहुने विवेकशील साझाको ठहर छ।

विवेकशील साझा पार्टी डा केसीको जिवन रक्षाका लागि तुरून्त कदम चाल्न पनि सरकारसँग आग्रह गर्दछ। पार्टीले प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक जुन ढङ्गबाट सरकारले जबरजस्ती पारित गर्यो त्यो सिमीत नेता र व्यापारीको हित र आम जनताको अहित हुने कार्य भएको निष्कर्ष निकालेको छ।

प्रवक्ता
डा सूर्यराज आचार्य
विवेकशील साझा पार्टी

१७ माघ २०७५

विवेकशील साझा राष्ट्रिय सन्देश भेला घोषणा

आज मिति ०७५ माघ १२ गते, शनिवार विवेकशील साझा पार्टीको राष्ट्रिय संदेश भेला ऐतिहासिक र भब्यरुपमा सम्पन्न भयो। भेलामा सहभागी हामी देशभरीबाट आएका झण्डै ५०० पार्टीका अगुवा सदस्य तथा अभियन्ताहरुले पार्टीलाई “कल्याणकारी लोकतन्त्र”को दिशामा डोर्याउँदै, अझ सुदृढ, रचनात्मक र एकतावद्द बनाई नेपालको राजनीतिक र संवृद्धिमुखी रूपान्तरणलाई सुनिश्चित गर्न दृढता र प्रतिवद्धताका साथ अगाडि बड्ने निर्णय गर्दै निम्न घोषणा गर्दछौं।

१. हामी ०७५ पौष २७ गते पार्टीमा एउटा गुटबाट भएको बहिगर्मनका कारण निश्चय नै दुखी छौं। बन्दै गरेको पार्टीमा आफ्ना असहमतिहरु राख्ने, छलफल गर्ने र लोकतान्त्रिक प्रकृयाबाट निर्णय गर्ने विधिलाई अस्विकार गरी पार्टीबाट टुक्रिएर जाने जस्तो अनपेक्षित कार्य गर्ने नेता साथीहरुले पार्टीका सदस्य, सुभचिन्तक र आममतदाताहरुलाई दुखी बनाएको हाम्रो ठहर छ। यद्दपी हामीले सो घटनालाई शिक्षाको रुपमा ग्रहण गर्ने निर्णय गरेका छौं। यही निर्णयसाथ थप एकता, उर्जा र आह्वानसहित पार्टीलाई सुदृढ विकल्पको रुपमा स्थापित गर्न हामी सामुहिक प्रतिवद्दता ब्यक्त गर्दछौं।

२. नेपालीहरूको लामो संघर्षपछी प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ ले प्रत्याभुत गरेका पुर्ण लोकतान्त्रिक अधिकार र संवृद्धिका सपनाहरु पुरा गर्न बर्तमान सरकार विफल हुदैँ गएको छ। प्रतिपक्षी दलले आफ्नो भुमीकालाई रचनात्मक र प्रभावकारी बनाउन सकेको छैन। परिणामस्वरूप जनता निरास छन्। भ्रष्टाचार तिब्र छ। महंगी आकासिँदो छ। शिक्षा, स्वास्थ र सामाजिक सुरक्षाका बिषयहरु महंगो बन्दैछन्। राष्ट्रिय उत्पादन कमजोर छ। ग्रामीण अर्थतन्त्रमा सुधार छैन। प्रदेश र स्थानीय सरकार योजना विहिन छन्। यस्तो वेला हामी सरकार र प्रतिपक्षी दुबैलाई जिम्मेवार हुन र जनतासंग गरेका वाचाहरु नबिर्सन गम्भिर ध्यानाकर्षण गराउछौं।

३. नेपालमा पुर्ण लोकतन्त्र, सुशासन, सामाजिक न्याय र संम्वृद्धिका सपनाहरु पुरा गर्न पुराना राजनीतिक विचार र नेतृत्वबाट संभव छैन। त्यसैभएर हामीले देशमा रूपान्तरणकारी वैकल्पिक राजनीतिक शक्तिको परिकल्पना गरेका हौं। हामीलाई लाग्छ “कल्याणकारी लोकतन्त्र”को वैचारिक आलोक र कार्यदिशा तथा “पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता” जस्ता मूल्यमान्यताको अवलम्वनबाट मात्र देशमा बिद्यामान सबै खाले विकास, सम्वृद्धि, सुशासन र सामाजिक न्यायका चुनौतीहरुलाई संवोधन गर्न सक्छ। यसर्थ विवेकशील साझा पार्टीले अंगिकार गरेको “कल्याणकारी लोकतन्त्र”को राजनीतिक कार्यदिशा तथा मूल्यमान्यतालाई स्थापित गर्न हामी निरन्तर कृयाशिल हुनेछौं।

४. हामी राजनीतिमा खासगरी युवा र महिला सहभागीताका लागि आह्वान गर्न चाहान्छौं। हामी आजको पुस्ताको राजनीतिक सहभागीता र नेतृत्वलाई प्रवर्धन गर्न सधैँ प्रयत्नशील हुनेछौं। हामीलाई थाहा छ, आजको पुस्ताको सपना, आशा र भाषाले नै आजको युगलाई सम्वोधन गर्ने सामर्थ्य राख्दछ। अतः हामी युवाहरुलाई आफ्नो अध्ययन र वृत्तीविकासमा असर नपर्ने गरी पार्टीमा संलग्न हुन, राजनीतिक नेतृत्व लिन र अगाडि बढ्न आह्वान गर्दछौं।

५. देश रूपान्तरणकारी वैकल्पिक पार्टी निर्माणका लागि मूल्यमान्यता सहितको संगठन र सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने अभियान अत्यावश्यक दुई खम्बा हो भन्नेमा हामी सचेत छौं। यसर्थ हामी जनताको जिवनसँग सम्वन्धित महत्वपुर्ण मुद्धाहरुमा जनतासँगै मिलेर विभिन्न अभियानहरु शुरू गर्नेछौं। हामी छिटै नै ‍भ्रष्टाचार बिरुद्धको अभियान, सुशासनका लागि अभियान, महिलाहिंसा विरुद्धको अभियान, जातीय भेदभाव विरुद्धको अभियान, उद्यमशीलता प्रवर्धन अभियान, सामाजीक सद्भाव र एकताका अभियानहरु देशैभरी संचालन गर्नेछौं।

६. राजनीति हाम्रा लागि पेसा होइन, सेवाको उच्चतम् अभिव्यक्ति हो। यसलाई हामी देश र जनताको भाग्य र भविष्य बदल्ने एक संकल्प, एक साधना, एक अभियानको रुपमा स्विकार गर्दछौं।

७. हामी आगामी ०७६ फाल्गुण १५ देखी १९ गतेसम्म आयोजना हुने पार्टीको प्रथम ऐतिहासिक माहाधिवेशनलाई शानदारसँग सफल बनाउन आजैबाट काममा जुट्नेछौं। त्यसका लागि सदस्यता वितरण गर्ने, संगठन निर्माण गर्ने, अभियानहरुको विकास गर्ने, जनताका मुद्धाहरुसँग एकाकार हुने र तलैबाट एक उन्नत र गतिशील पार्टी निर्माण गर्ने काममा निरन्तर कृयाशिल हुनेछौं।

८. यो देशको रूपान्तरणको अभिभारा बोक्न हामी तयार छौं। त्यसक्रममा आएका र भविष्यमा आउने समस्या र चुनौतिहरू हामी चिर्दै अगाडि बढ्नेछौं। हाम्रो यात्रा सहज हुने छैन भन्नेमा पनि हामी सचेत छौं। सगरमाथाको चुचुरो चुम्ने यात्रा कहिल्यै सहज हुँदैन। यो कठीन र चुनौतिपूर्ण यात्रामा हामीलाई निरन्तर सहयोग गर्ने नेपालभित्र र बाहिर बसेका सम्पुर्ण सुभेच्छुक, सहयोगी र सदस्य साथीहरूप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं। हामी सबै मिलेर यो देश हाम्रै जीवनकालमा रूपान्तरण गर्न सक्छौं भन्नेमा हामी विश्वस्त छौं।

सबैको जय होस,नेपालको जय होस्!

चिकित्सा शिक्षा विधेयक पारितको घोर भत्सर्ना


डा गोविन्द केसीसँग सरकारले गरेको संझौता विपरितका कयौं प्रावधान समाविष्ट चिकित्सा शिक्षा विधेयक आज संसदबाट जबरजस्ती पारित गरिएकोमा विवेकशील साझा पार्टी त्यसको घोर भत्सर्ना गर्दछ।

शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताको आफूलाई समाजवादी भन्ने सत्तारूढ दलबाट नै खिल्ली उडाइनु अत्यन्तै खेदजनक छ। संसदीय सर्वोच्चताको गलत प्रयोग भएको छ। सिमीत नेता र व्यापारीको लगानी र मुनाफा सुरक्षित गर्न र याराना पुँजिवाद (क्रोनि क्यापिट्यालिजम) लाई प्रश्रय दिएर सिमीत नेता, पार्टी र व्यापारीको हित हुने र आम जनताको अहित हुने कार्य भएको छ।

कल्याणकारी लोकतन्त्रमा विश्वास गर्ने विवेकशील साझा पार्टी शिक्षा र स्वास्थ्यलाई मूलरूपमा राज्यको दायीत्व ठान्दछ। सोही विश्वासका कारण शुरूदेखि नै हाम्रो पार्टीले डा गोविन्द केसीले उठाएका मागहरूको मर्ममा समर्थन जनाउँदै आएको छ।

सरकारले जबरजस्ती संसदीय मर्यादालाई मिचेर संसदीय सर्वोच्चताको दुरूपयोग गरेको विरोधमा र डा गोविन्द केसीसँगको संझौताको पक्षमा विवेकशील साझा पार्टीले आइतबार, माघ १३ गते, माइतिघर मण्डलामा प्रदर्शन गर्नेछ। उक्त प्रदर्शनमा आम सर्वसाधारणलाई सरीक हुन विवेकशील साझा पार्टी हार्दिक अनुरोध गर्दछ।

प्रवक्ता
डा सूर्यराज आचार्य
विवेकशील साझा पार्टी
मिति: ११ माघ २०७५

कालो धन र विदेशमा लगानीबारे

देशभित्रको अर्बौंको ‘कालो धन’ लाई ट्याक्स हेभेन भनेर चिनिएका देशमा अवैध तवरबाट जम्मा गरी वैदेशिक लगानिका रुपमा ‘सेतो धन’ बनाएर फेरी नेपाल भित्र्याउने र कानून विपरित विदेशमा लगानी गर्ने बारे प्रमुख दैनिकहरुमा महत्वकासाथ प्रकाशित समाचारप्रति विवेकशिल साझा पार्टी गंभिर ध्यानाकर्षण भएको छ।

यो गैरकानूनी धन्दाको यथाशिघ्र विश्वसनीय र निष्पक्ष छानविन गरि कानुनी कारवाहिको प्रकृया शुरु गर्न नेपाल सरकारसँग विवेकशील साझा पार्टी जोडदार माग गर्दछ।

मुलुककै अर्थतन्त्र तहस-नहस पार्न सक्ने यो धन्दाको विरोध र सरकारलाई निरन्तर खबरदारी गर्नका लागि हामी सबै राजनीतिक दल र नागरिक समाजलाई आह्वान गर्दछौं।

कुशासन र भ्रष्टाचारको दिनहुँका समाचारले मुलुकको भविष्यप्रति नागरिकमा चरम निराशा छाईरहेको अवस्थामा ठुलो स्तरमा ‘कालो धन’ लाई ‘सेतो बनाउने’ र देशको कानून विपरित विदेशमा लगानी गर्ने कार्यले समग्र अर्थतन्त्रलाई नै धरासायी बनाउने डरलाग्दो अवस्था श्रृजना भएको छ।

विश्व आर्थिक तथा वित्तिय प्रणालीमा नेपालको छवि रसातलमा पुग्ने जोखिम बढेको छ। देशभित्रै ठुलो परिणामको कर छलि र त्यसको प्रत्यक्ष प्रभाव राजनीतिक तथा नीतिगत तहको भ्रष्टाचार मौलाएको स्पष्टरुपमा देख्न सकिन्छ।

जतिबेलासम्म सरकारले भ्रष्टाचारको विषयलाई ठोसरूपमा सम्वोधन गर्न सक्दैन त्यतिबेलासम्म विकास र समृद्धिको नारा खोक्रो नै रहिरहने छ।

यस्तो गम्भिर विषयमा लामो समय लगाएर खोजमूलक रिपोर्टहरू तयार पार्ने खोज पत्रकारिता केन्द्र (खोपके) प्रति हामी विशेष आभार प्रकट गर्न चाहान्छौं। खोपकेबाट भविष्यमा पनि यस्तै खुलासाहरूको अपेक्षा गर्दछौं।

प्रवक्ता
डा सूर्यराज आचार्य
विवेकशील साझा पार्टी
३ माघ २०७५

विवेकशील साझा पार्टी, केन्द्रीय समितिका निर्णयहरू


विवेकशील साझा पार्टीको पूर्व निर्धारित केन्द्रिय समितिको बैठक यही पौष ३० र माघ १ गते पार्टीको मुख्यालय बखुण्डोलमा बस्यो। हालै पार्टीमा देखा परेका समस्या तथा त्यसको राजनीतिक र सांगठनिक समाधानको लागि केन्द्रीय समितिको बैठकले कैयौं महत्वपूर्ण तथा दुरगामी निर्णयहरु गरेको छ। पार्टीभित्र देखिएका असामान्य गतिविधिले पुर्याएको निरन्तरको गत्यावरोध र अराजकतालाई चिरेर पार्टीलाई आजको
अवस्थामा ल्याइ पुर्याउने नेपाल र नेपाल बाहिर रहनुभएका सम्पूर्ण शुभेच्छुक, सदस्य तथा नेतृत्वदायी अभियानकर्ताहरुप्रति पार्टी हार्दिक आभार प्रकट गर्दछ।

हालै पार्टीको केन्द्रिय समितिबाट बाहिरिएका केही सदस्यहरुले उत्पन्न गरेको अन्योल र सिर्जना गरेको भ्रमबारे केन्द्रिय समितिले संक्षिप्त र प्रारम्भिक समीक्षा गरेको छ। पार्टीका तात्कालिक एकजना संयोजकले नियोजितरुपमा पार्टी फुटाउन खोजेको र सोही कारण केन्द्रिय समितिको बैठकमा उपस्थित हुनुभन्दा पहिले नै नयाँ पार्टी दर्ता प्रकृया शुरू गरेको देखिन्छ। यो केन्द्रिय समितिको बैठकमा पार्टीमा घटेका पछिल्ला घटनाहरु र अन्य समस्याहरुबारे छलफल गर्ने एजेण्डा पूर्वनिर्धारित थियो।

केन्द्रीय समितिले पछिल्लो अवस्थालाई अनपेक्षित र दुखद घटनाको रुपमा मूल्यांकन गर्दै पार्टीका संयोजक रवीन्द्र मिश्रद्धारा पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने निर्णय गरेको छ। साथै हाम्रा सबै प्रदेश, जिल्ला तथा स्थानीय तहको नेतृत्व र संरचनामा कुनै प्रकारको उल्लेख्य असर नपरको मूल्यांकन पनि गरियो। तर पार्टीका मतदाता, शुभचिन्तक र शुभेच्छुकहरुमा भने केही अन्यौल उत्पन्न भएकोले त्यसलाई यथासिघ्र चिर्नको लागि पार्टीका विभिन्न तहमा विविध कार्यक्रमहरु सम्पन्न गर्ने निर्णय गरिएको छ।

१. आगामी २०७६ साल फागुन १५ गतेदेखि १९ सम्म काठमाडौंमा विवेकशील साझा पार्टीले भव्यताका साथ पहिलो महाधिवेशन गर्नेछ।
२. विदेशमा रहेका पार्टीका सद्भाव समूहका सदस्यहरूको पार्टी संगठनमा भूमिका र मताधिकारलाई सुनिश्चित गर्न स्पष्ट व्यवस्था गरिनेछ। साथै,विदेशमा रहेका सबै नेपालीहरूलाई राष्ट्रिय निर्वाचनमा मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयनमा ल्याउन दबाबका कार्यक्रम सञ्चालन गरिने छ।
३. पार्टीले प्रदेश नं १ को संयोजकमा अनिल भेटवाललाई चयन गरेको छ। र, अनिल भेटवाल पार्टीको विधान अनुसार पदेन केन्द्रिय सदस्य समेत हुनुभएको छ। (संक्षिप्त परिचय तल दिइएको छ)
४. पार्टीले केही महिनाअघि देशका सातै प्रदेशबाट प्रदेशको सिफारिशमा एकरएकजना महिला केन्द्रीय समितिमा चयन गर्न लिएको निर्णय अनुसार सुदूर पश्चिम प्रदेशबाट शैलु श्रेष्ठ, प्रदेश नं ५ बाट सरस्वती पन्थी भुसाल र गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारीलाई केन्द्रीय समितिमा सामेल गरिएको छ। (संक्षिप्त परिचय तल दिइएको छ)
५. पार्टीमा युवा तथा महिला सहभागितालाई प्रबर्धन गर्न र तिव्रता दिन ’विवेकशील साझा युवा संगठन’ र ’विवेकशील साझा महिला संगठन’ गठन गर्ने र तिनको संयोजकमा क्रमश: पार्टीको केन्द्रीय सदस्य अब्दुस मियाँ तथा पार्टीकी केन्द्रीय सदस्य सोभिता परियारलाई जिम्मेवारी दिने निर्णय गरेको छ। पार्टीले पेशागत र व्यावसायीक भातृ संगठन भने निर्माण नगर्ने प्रतिबद्धतामा पुन जोड दिएको छ।
६. पार्टीमा देखापरेका पछिल्ला चुनौतिहरु र आउँदा दिनमा लिनुपर्ने बाटोबारे यही माघ १२ गते काठमाडौंमा देशभरीका पार्टी प्रतिनिधि सदस्यहरु सहित “विवेकशील साझा राष्ट्रिय सन्देश भेला”को आयोजना गर्ने निर्णय गरेको छ। साथै माघ १३ गते राष्ट्रिय सभागृहमा ‘विवेकशील साझा: अबको बाटो’ शीर्षकमा सार्वजनिक कार्यक्रमको आयोजना गरिने छ।
७. पार्टीका केन्द्रिय विभागहरुको पुर्नगठन र जिम्मेवारीको वाँडफाँड गरिएको छ, जसअनुसार कोष संकलन (डा उमेद पुन), संगठन (मुमाराम खनाल),अभियान (किशोर थापा), नीति तथा कार्यक्रम (डा सूर्यराज आचार्य), प्रशिक्षण (केशव दाहाल), सञ्चार (किरणकृष्ण श्रेष्ठ), सामाजिक न्याय तथा समावेशिता (प्रकाशचन्द्र परियार), कानून (निरूपमा यादव), उद्यमशीलता (रमेश महर्जन), तथ्यांक (राम साह), केन्द्रीय कार्यालय (मानवी पौडेल) तथा विदेश विभाग (रवीन्द्र मिश्र) ले सम्हाल्ने छन्।
८. पार्टीले केही महिनाअघि शुरू गरेर बीचमा अवरूद्ध भएको संगठन विस्तार तथा प्रशिक्षण अभियानलाई पुन जिल्ला स्तरबाट क्रमशः स्थानीय तहसम्म पुर्याउने छ।
९. पार्टीले मधेशको भावना, चाहाना र देशको रूपान्तरणमा उनीहरूको सपना बुझ्नका लागि माघको तेश्रो हप्तादेखि विशेष ‘मधेस मिसन’ सञ्चालन गर्नेछ।


केन्द्रीय नेतृत्वमा जोडिएका नयाँ साथी तथा आंगिक संगठनका नेतृत्वकर्ताहरूको संक्षिप्त परिचय:

अनिल भेटवाल, संयोजक, प्रदेश नं १:
सन् १९९० ताका राजनीति गरेर पछि राजनीति त्यागेका भेटवाल सन् १९९५ मा सबैभन्दा कम उमेर (२९ वर्ष) मा नेपाल जेसिसको राष्ट्रिय अध्यक्ष बन्नुभएको थियो। हाल पनि उहाँ जेसिसको देशव्यापी प्रशिक्षक भएका कारण प्रदेश १ का सबै जिल्लाहरूमा उहाँको परिचयको राम्रो सञ्जाल छ। झण्डै ६ वर्ष सपरिवार अमेरिका बसेर सन् २००८ मा सधैंको लागि नेपाल फिर्ता आउनुभएका भेटवाल झापाका एकजना उद्यमी पनि हुनुहुन्छ।

सुशिला केसी अधिकारी (गण्डकी प्रदेश), केन्द्रीय सदस्य
अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएकी अधिकारी पोखराको पिनाकीन होटलको संचालक तथा निर्देशक, एउटा बोर्डिङ्ग स्कुलको संस्थापक निर्देशक, पौलिनी कृषी फार्म (चितवन) को संचालक, लायन्स क्लब अफ सेती गण्डकी, पोखरा, तथा सामिप्य समाज नेपालकी पूर्व अध्यक्ष हुनुहुन्छ।

सरस्वती पन्थी भुसाल (प्रदेश ५), केन्द्रीय सदस्य
भुसाल बुटवलस्थित गुरास अस्पतालकी अध्यक्ष, मलिका होमियोप्याथिक अस्पतालकी व्यवस्थापक निर्देशक तथा मनिउजेस बुटवल लायन्स क्लबको उपाध्यक्ष हुनुहुन्छ। उहाँ प्रदेश ५ बाट विवेकशील साझाकी समानुपातिक उमेदवार पनि हुनुहुन्थ्यो। उहाँको खासगरी स्वास्थ्य सेवासँग सम्वन्धित परोपकारी गतिविधिमा विशेष रूची छ।

शैलु श्रेष्ठ (सुदूर पश्चीम प्रदेश), केन्द्रीय सदस्य
एयर राइफल शुटिङ्गमा नेपालको अन्तराष्ट्रि प्रतिनिधित्व गर्नुभएकी पूर्व राष्ट्रिय खेलाडी, कैलाली उद्योग वाणिज्य संघकी पहिलो महिला सदस्य,पूर्व शिक्षिका, नेवास् देय् दबुको जिल्ला कोषाध्यक्ष तथा महिला उद्यम प्रशिक्षक श्रेष्ठ विवेकशील साझा पार्टी, कैलालीकी एकजना नेता पनि हुनुहुन्छ।

सोभिता परियार, संयोजक, विवेकशील साझा महिला संगठन:
पार्टीकी केन्द्रीय सदस्य तथा देशभरी महिला सशक्तिकरण, सुशासन र जवाफदेहिताका क्षेत्रमा प्रशिक्षकका रूपमा काम गर्नुभएकी सोभिता परियारले देशको लगभग सबै जिल्लामा समुदायमैं बसेर काम गर्नुभएको छ। बन तथा बातावरण विज्ञानमा स्नातकोत्तर परियारले विपन्न समुदायमा पुर्याएको योगदानका लागि डाक्टर अब्बेदकर सेवाश्री पुरस्कार प्राप्त गर्नुभएको छ।

अब्दुस मिया, संयोजक, विवेकशील साझा युवा संगठन:
पार्टीका केन्द्रीय सदस्य, युवा उद्यमी, परचित उत्प्रेरक २५ वर्षीय अब्दुस मिया राजनीति शुरू गर्नुअघि युवाहरूको संगठन युथ इनिशिएटिभका निर्वा्चित अध्यक्ष हुनुहुन्थ्यो। उहाँले शुरू गर्नुभएको लिडरशिप कर्नर तथा ओरेटर्स हाउस युवाहरुमाझ लोकप्रिय छ। नेपाल तथा विदेशका कयौं युवा सम्मेलनमा प्रमुख वक्ता बनिसकेका मियालाई धेरै युवाहरू प्रेरणाका रूपमा हेर्ने गर्दछन्।

प्रवक्ता
डा सूर्यराज आचार्य
विवेकशील साझा पार्टी
०१ माघ २०७५

 

असन्तुष्टहरुद्वारा नयाँ दल दर्ताबारे

विवेकशील साझा पार्टीका ३८ जना केन्द्रीय सदस्यहरुमध्ये केही केन्द्रिय सदस्यहरुलाई लिएर संयोजक उज्वलबहादुर थापाले आज पौष २७ गते निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिनुभएको खबरले हामीलाई आश्चर्यचकित पारेको छ।

विवेकशील साझा पार्टीका सबै प्रदेश तथा जिल्ला संयोजकहरू आ–आफ्नै जिम्मेवारीमा यथावत क्रियाशील हुनुहुन्छ।

निश्चयनै विगत केही समयदेखि पार्टीमा कार्यशैली र कार्यप्रणालीलाई लिएर मतभिन्नताहरु थिए। पार्टीको चरित्र, पार्टी निर्माणको शैली र पार्टीको उद्देश्यमा भिन्नता रहेको विषय समय समयमा सार्वजनिक भइसकेको पनि थियो। नेपालभित्र र बाहिर रहेका लाखौं नेपाली नागरिकले आशा र विश्वासका साथ हेरेको विवेकशील साझा पार्टीमा यस्तो परिस्थिति आउनु दुर्भाग्यपूर्ण कुरा हो।

पार्टीमा रहेका यस्तै मतभिन्नताहरुलाई सम्बोधन गर्न आगामी पौष ३० गते केन्द्रिय समितिको बैठक बोलाईएको थियो। हामीलाई आशा एवं विश्वास थियो – आगामी बैठकमा संयोजक थापा लगायत केन्द्रिय सदस्यहरुले आफ्ना भनाईहरु राख्नुहुनेछ, केही असन्तुष्टि रहेका भए पार्टीमा छलफल गर्नुहुनेछ र पार्टीलाई गतिशील र एकताबद्ध गर्न मद्दत गर्नुहुनेछ। र, केन्द्रिय समितिको बैठकमा संपूर्ण नेताहरुले उदार हृदयकासाथ सकारात्मक योगदान गर्नुहुनेछ। तर संयोजक थापा स्वयंले आसन्न बैठकमा सहभागी समेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद अवस्था हो।

पार्टीका केही नेताहरुको यस्तो कार्यले वैकल्पिक पार्टी निर्माणको पवित्र उदेश्यलाई घात मात्र भएको छैन, स्वयं पार्टी निर्माणमा लामो समयदेखि क्रियाशिल युवाहरु र मतदाताप्रति पनि अन्याय भएको छ। उहाँहरुले वैकिल्पक पार्टी निर्माणको अभियानमा पुर्याउनुभएको आघात र धोकापूर्ण कार्यको इतिहासले मुल्यांकन गर्ने नै छ।

यात्राको दौरानमा अवरोधहरु आउँछन्। तर अवरोधहरू खुलेपछि यात्राको गति स्वतः तिव्र हुन्छ। यही विश्वासका साथ पार्टीले पौष ३० गते केन्द्रिय समितिको बैठकको तयारी गरेको छ। सोही बैठकले पार्टीको राजनीतिक तथा सांगठनीक अवस्थाको समग्र समीक्षा गर्नुका साथै केन्द्रीय समिति विस्तार गरी आगामी कार्ययोजना र रणनीति तयार गरेर अगाडि बढ्नेछ।

हामीलाई विश्वास छ, सम्पूर्ण शुभेच्छुकहरू पार्टीको पछिल्लो विकसित घटनाक्रमबाट कत्ति पनि विचलित नभई जिम्मेवारीप्रति सचेत रहनुहुनेछ, संपूर्ण पार्टी सदस्यहरु, पार्टी अभियानकर्ताहरू तथा संपूर्ण पार्टी संगठनहरु नियमित रुपमा क्रियाशील रहनेछन्। यस्तो क्रियाशीलता अझ सुदृढ र एकताबद्ध हुनेछ भन्ने हाम्रो विश्वास छ।

विवेकशील साझा पार्टीलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गरी देशको नेतृत्वदायी भूमिकामा पुर्याउने कुरामा हामी दृढ संकल्पिक छौं। हामीलाई संधैझैं माया गर्ने मतदाता, सुभेच्छुक सुभचिन्तक तथा आम सदस्यहरुसंग निरन्तर सहयोग र समर्थनको अपेक्षा गर्दछौं। विवेकशील साझा पार्टीलाई मूल्य–मान्यतायुक्त लोकतान्त्रिक वैकल्पिक पार्टी बनाउने अभियानमा हामी अविचलीत रहने छौँ। नयाँ दल दर्ताका लागि निवेदन दिनुभएका सबै साथीहरूप्रति शुभकामना व्यक्त गर्न चाहान्छौ।

डा. सूर्यराज आचार्य
प्रवक्ता, विवेकशील साझा पार्टी
मितिः २७ पौष २०७५