हरेक नागरिकले जन्मका नभइ क्षमता र लोकप्रियताका आधारमा देशको नेतृत्व गर्न पाउने लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उन्नत राज्य व्यवस्था हो। लोकतान्त्रिक गणतन्त्र सुसंस्कृत राजनीति र समतामूलक संवृद्धिको उच्चतम अभिव्यक्ति पनि हो। जसले नेपालमा सुसंस्कृत राजनीति र समतामूलक संवृद्धियुक्त लोकतान्त्रिक गणतन्त्रको सपना बोकेर संघर्ष गरे, बलिदान गरे, ती सबैप्रति आज गणतन्त्र दिवसका दिन हार्दिक सम्मान र श्रद्धांजली अर्पण गर्न चाहन्छु।
देशमा गणतन्त्र स्थापना भएको १२ वर्ष भयो। तर गणतन्त्रको आगमनपछि पनि आम सर्वसाधारणको जीवनमा तात्विक अन्तर आउन नसकेको तथ्य सर्वविदित नै छ। त्यसबीच, गणतन्त्रकै लागि भनेर अत्यन्त विपन्न पृष्ठभूमीबाट लडेका अधिकांश नेताहरूको सम्पन्नताले आज सीमा नाघेको छ। त्यसले आम सर्वसाधारणमा चरम नैराश्यता सृजना गरेको छ भने धमिलो पानीमा माछा मार्न चाहनेहरूका लागि अनुकूल अवस्था सृजना गरिदिएको छ।
उतारचडाउपूर्ण लोकतान्त्रिक अभ्यास र लामो राजनीतिक अस्थिरतापछि बल्लबल्ल प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै र परिष्कृत बनाउँदै लैजानु सबैको दायित्व हो। तर त्यसको प्रमुख जिम्मेवारी दुई-तिहाईको समर्थनप्राप्त शक्तिशाली सरकार र प्रमुख प्रतिपक्षी दलमा निहित छ।
गणतन्त्रलाई बलियो र उन्नत बनाउँदै लजाने एकमात्र उपाय भ्रष्टाचार न्युनिकरण गरेर सुशासनमार्फत देशलाई विकास र संवृद्धिको दिशामा द्रूतरूपले अगाडि बढाउनु हो। भ्रष्टाचार न्युनिकरण, सुशासन, विकास र संवृद्धिबिना राजनीतिक स्थिरता र उपलब्धि संस्थागत गर्न कठिन हुन्छ। यो विषयमा प्रमुख राजनीतिक दलहरू नराम्रोसँग चुकिरहेका छन्। उनीहरू लगायत सबै दल राष्ट्रिय स्वार्थ र जनताका आकांक्षालाई केन्द्रमा राखी जिम्मेवार बनुन्।
गणतन्त्र दिवसमा नेपालभित्र र बाहिर रहेका सबै नेपालीप्रति हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु।
रवीन्द्र मिश्र
संयोजक, साझा विवेकशील पार्टी
१५ जेठ २०७६