विश्वविद्यालयमा दलिय भागबन्डा बन्द गर

विभिन्न विश्वविद्यालयमा रिक्त हुँदै गरेका उपकुलपति लगायतका पदाधिकारीको नियुक्ति पुन: दलीय भागभन्डामा हुने भन्ने समाचारप्रति साझा पार्टीको गंभिर ध्यानाकर्षण भएको छ।

विश्वका संवृद्ध मुलुकहरुको राष्ट्र निर्माणको ईतिहासमा गुणस्तरिय उच्च शिक्षाको केन्द्रिय भुमिका रहेको छ। विश्वविद्यालयको गुणस्तर र प्राज्ञिक उन्नयनका लागि प्राज्ञिक स्वतन्त्रता, व्यवस्थापकीय स्वायत्तता, उत्कृष्टता र क्षमताको आधारमा पदाधिकारी र प्राध्यापकको नियुक्ति लगायतका आधारभुत मान्यताको अबलम्वन अनिवार्य छ। नेपालमा भने केही दशकदेखि विश्वविद्यालयका महत्वपूर्ण पद राजनीतिक दलका कार्यकर्तालाई दिईने ‘पुरस्कार’का रुपमा उपयोग हुँदै आएको लज्जाजनक स्थिति छ।

यस्तो स्थितिमा अब उप्रान्त दलिय सम्बद्धता र भागभन्डाका आधारमा विश्वविद्यालयका कुनै पनि पदमा नियुक्त नगर्न सरकारलाई साझा पार्टी खबरदारी गर्दछ। उपकुलपति लगायतका नियुक्ति प्राज्ञिक योग्यता, क्षमता र उत्कृष्ठताका आधारमा हुने सुनिश्चितताका लागि निष्पक्ष र पारदर्शि कार्यविधी अपनाउन सरकारलाई साझा पार्टी आग्रह गर्दछ।

यो कुनै साँघुरो दायराको निर्णय नभई युवा पुस्ता र राष्ट्रकै भविष्य निर्धारण गर्ने बिषय हो भन्ने साझा पार्टीको ठहर छ। त्यसैले दलिय भागबन्डाको विरोधमा सरकारमाथि दवाव सिर्जना गर्नका लागि विद्यार्थी समुदाय, वुद्धिजिवी, नागरिक समाज, सञ्चारकर्मी र आम जनतामा साझा पार्टी हार्दिक अनुरोध गर्दछ। नियुक्तिसम्वन्धी सरकारका कार्यविधिलाई साझा पार्टीले नजिकबाट नियाल्ने र त्यो दलीय भागबन्डा कै निरन्तरता भएमा देशव्यापिरुपमा भन्डाफोर अभियान सञ्चालन गरिने समेत हामी सरकारलाई चेतावनि दिन चाहन्छौं।

न्युनतम प्राज्ञिक चेत, क्षमता र निष्ठा बिनाका दलका ‘बरिष्ठ’ कार्यकर्ताले ज्ञानको मन्दिर मानिने विश्वविद्यालयमाथि एक छत्र दाईं गरेका छन्। परिणामस्वरुप वौद्धिक चोरीको पुष्ट्याई भएका पदाधिकारी र प्राध्यापकको नियुक्ति, किनिएको थेसिसबाट डिग्री, प्राध्यापक नियुक्ति परिक्षाको अंकमा केरमेट जस्ता समाचार सामान्य लाग्न थालेका छन्। नेपालको राजनीति हाँक्ने ठुला दलहरुले अपनाएको भागबन्डाको यो घातक प्रवृत्तिले हाम्रो विश्वविद्यालय शिक्षा अहिले मृत्यु शैयामा लम्पसार परेको छ।

ज्ञानको भोक र खोजिमा क्याम्पस पुगेका हाम्रा विद्यार्थिको प्रतिभा र सिर्जनात्मक उर्जालाई एकातिर दलिय भागबन्डामा विश्वविद्यालय छिरेका भ्रष्ट पदाधिकारी र असक्षम प्राध्यापकले निस्तेज पारेका छन् भने अर्कोतर्फ राजनीतिक दलहरूले शिक्षण संस्थाभित्र निर्दोष विद्यार्थीहरूमाथि थोपरेको दूषित राजनीति र युनियनवाजीले सिँगो पुस्ताको भविष्य नै वर्वाद बनाइदिएको छ। न्युनतम गुणस्तरको विश्वविद्यालय शिक्षाका लागि आफ्ना सन्ततिलाई घरखेत बेचेर विदेश पढ्न पठाउन अभिभावकहरु बाध्य छन्। यदि यो प्रवृत्तिलाई बेलैमा परास्त गर्न सकिएन भने यसको दुष्परिणाम हाम्रो समाजले शदियौँसम्म भोग्नु पर्नेछ।

डा. सूर्यराज आचार्य
प्रवक्ता
साझा पार्टी
मिति: १५ साउन २०७६

भिसिटिएस लगायतका नीति र उद्योग व्यवसायीको विरोध

नेपाल सरकारले हालै लागू गरेको भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) लगायतका नीतिमा आपुर्ति क्षेत्रका उद्योग व्यवसायीको विरोध प्रति साझा पार्टीको ध्यानाकर्षण भएको छ।

उद्योग व्यवसायको क्षेत्रमा लगानी प्रोत्साहन, व्यवसायको सुरक्षा, आकर्षक प्रतिफलको अवस्था सिर्जना, न्यायोचित, सहज र प्रभावकारी कर प्रणाली, आधुनिक प्रविधिको प्रयोग लगायतका कुराको नीतिगत र प्रकृयागत सुनिश्चितता गर्नु राज्यको दायित्व हो भन्ने साझा पार्टीको धारणा रहि आएको छ।

यस सम्बन्धमा सरकारले हालै अवलम्बन गरेका नीतिहरू सैद्धान्तिक तहमा उपयुक्त देखिए पनि उद्योग व्यवसायीहरूले विभिन्न व्यवहारिक कठिनाइ हुने कुरा औंल्याउँदै विरोधमा उत्रिने अवस्था सृजना हुनु सुखद कुरा होइन।

कतिपय नीति कार्यान्वयन गर्न विद्यमान इन्टरनेट पूर्वाधारको अपर्याप्तता र अविश्वसनीयताले गर्दा आपुर्ति प्रणालीमा नै गम्भिर प्रतिकुल असर पर्न सक्ने उद्योग व्यवसाय क्षेत्रको चिन्ता प्रति सरकारले गम्भीरताका साथ सम्बोधन गर्नु पर्ने साझा पार्टी ठहर छ।

यस सम्बन्धमा लगानी, उत्पादकत्व र रोजगारी सृजनाको प्रमुख वाहक उद्योग व्यवसाय क्षेत्रको जायज मागहरू प्रति संवेदनशीलताका साथ सरकारले विचार गर्न, र उद्योग व्यवसाय क्षेत्रले पनि प्रभावकारी कर प्रणाली र व्यवहारिकताका आधारमा क्रमिक रुपमा आधुनिक प्रविधिको प्रयोगमा सरकारका नीति कार्यान्वयनमा सघाउन साझा पार्टी आग्रह गर्दछ।

डा. सूर्यराज आचार्य
प्रवक्ता
साझा पार्टी
मिति: ०६ साउन २०७६

साझा पार्टीको केन्द्रीय समिति विस्तार

साझा पार्टीले आफ्नो २६ सदस्यीय केन्द्रीय समितिमा सात जना नयाँ सदस्य थपेको छ। आइतबार पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो।

नयाँ थपिएका सदस्यहरू यसप्रकार छन्: नेपाल जेसिसमा आजसम्म राष्ट्रिय अध्यक्ष बनेका तीन महिला मध्येकी एक कीर्ति तुलाधर। उनी अन्तराष्ट्रिय जेसिसको पनि उपाध्यक्ष थिइन्। हाल उदाय् मिसा पुचकी अध्यक्ष छिन्। जनस्वास्थ्यमा विद्यावारिधि गरेकी समाजसेवी तथा गत निर्वाचनमा साझा पार्टीको काठमाडौँ क्षेत्र नं ३ की उमेदवार सुमित्रा सिंह लामा। शिक्षा क्षेत्रको नीतिगत र व्यवस्थापन तहमा लामो अनुभव हासिल गरेका उच्च माध्यमिक शिक्षा परिषदका पूर्व सदस्य सचिव नारायण कोइराला। नेपाल जेसिसका पूर्व अध्यक्ष तथा नेतृत्व प्रशिक्षक विकल शेरचन। प्रहरी सेवामा सफल कार्यकाल निर्वाह गरेका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक रोहित थापा। झापाका कम्युनिस्ट पृष्ठभूमिका समाजसेवी भिमप्रसाद अधिकारी। काभ्रे जिल्लाका २०० भन्दा बढी स्कुलमा आफ्नो अग्रसरतामा पुस्तकालयहरू निर्माण गरेका, पेशाले व्यवसायी तथा साहित्यकार विकु लामा।

साझा पार्टीले देशैभरिबाट उल्लेख्य संख्यामा महिला र युवाहरूलाई पनि पार्टीको केन्द्रीय समितिमा छिट्टै सामेल गर्दैछ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्र भन्छन्: “विविध क्षेत्रमा उपलब्धि हासिल गरेका फरक पृष्ठभूमिका नेपालीहरू साझा पार्टी निर्माणमा संलग्न हुनुले आम नागरिकमा पार्टी प्रतिको आशा र विश्वासलाई पुन: पुष्टी गरेको छ। नयाँ सदस्यहरूको पार्टी नेतृत्वमा आगमनले पार्टी पंक्तिको मुलुक रूपान्तरणको आत्मविश्वासलाई अझै दृढ बनाएको छ।”

डा. सूर्यराज आचार्य
प्रवक्ता साझा पार्टी
मिति: ०५ साउन २०७६

रुपन्देहीमा वुद्धको मुर्ति तोडफोडको भत्सर्ना

रुपन्देही जिल्लाको बुटवल–भैरहवा सडकको मध्यभागमा राखिएको भगवान गौतम बुद्धको मुर्ति तोडफोड गरिएको घटनाप्रति साझा पार्टीको गंभिर ध्यानाकर्षण भएको छ।

नेपालका गौरव, शान्ति र सह-अस्तित्वका प्रेरक गौतम बुद्धको मुर्ति तोडफोड गर्ने कार्य गंभिर सामाजिक अपराध हो।

यो निन्दनीय कार्य हाम्रो संस्कृति र धार्मिक सद्भावप्रतिको प्रहार पनि हो।

यो घटनाको सुक्ष्म अनुसन्धान गरि तोडफोड गरिएको ठाउँमा तुरुन्त मुर्ति पुनर्स्थापन गर्न, भविष्यमा यस्ता कार्य हुन नदिन आवश्यक सतर्कता र सुरक्षा प्रवन्ध मिलाउन साथै दोषीलाई यथाशिघ्र कानुनी कारवाही गर्न साझा पार्टी सरकार समक्ष आग्रह गर्दछ।

डा. सूर्यराज आचार्य
प्रवक्ता, साझा पार्टी
मिति: ३ श्रावण २०७६

अन्तर्राष्ट्रिय संस्थाको नेतृत्व छोडेर साझा पार्टीको नेतृत्वमा

सयवटाभन्दा बढी देशमा काम गर्ने विश्व परामर्शदातृ संस्था क्युइडि ग्रुपको एसिया क्षेत्रका निर्देशक डा सिद्धि अर्यालले सो पदबाट राजीनामा दिएर केन्द्रीय सदस्यका रूपमा साझा पार्टीमा आवद्ध भएका छन्।

संयुक्त राज्य अमेरिकाबाट अन्तराष्ट्रिय स्वास्थ्यमा स्नातकोत्तर रविश्व स्वास्थ पद्धति विकासमा विद्यावारिधि गरेका ४४ वर्षिय सिद्धी अर्यालले गत १८ वर्ष यता विभिन्न अन्तराष्ट्रिय संगठनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए। क्युइडि ग्रुपका निर्देशक हुनअघि डा अर्याल मलेरिया कन्सोर्टियमका एसिया निर्देशक, युएनडिपि/युएनएड्सका एसिया क्षेत्रका सल्लाहाकार पनि रहिसकेका छन्। उनी पछिल्ला केही वर्षदेखि म्यानमारलाई आधार बनाएर कार्यरत थिए।

उनले सन्सारका दर्जनौँ देशहरूका राष्ट्रिय, प्रान्तिय तथा स्थानीय निकायहरूका स्वास्थ्य पद्धति सुधारका लागि नीति निर्माण गर्ने, रणनीतिक योजना बनाउने र कार्यानवयनका संरचनाहरू तयार पार्ने कार्यको नेतृत्व गरेका छन्।

संयुक्त राष्ट्र संघ लगायतका अन्तराष्ट्रिय दाताहरू, नागरिक समाज र विकास संस्थाहरूसँग सम्मन्वय गरेर काम गर्दै आएका अर्याल भन्छन्: “मैले एउटा इमानदार मध्यम वर्गीय परिवारबाट उठेर हालसम्म जे पाएँ, त्यो धेरै पाएँ। मलाई लाग्यो, नेपालको जुन अवस्था छ, अब म चुप लागेर बस्नु हुँदैन। त्यसका लागि नेपालीहरूले बढ्दोरूपमा आशा र विश्वास गरिरेहका साझा पार्टी निर्माणमा सहभागि हुनुबाहेक अर्को विकल्प थिएन। म अब मेरो वुद्धि, विवेक र इमानदारीले भ्याएसम्म साझा पार्टीको निर्माण र त्यसमार्फत नेपालको रूपान्तरणमा सरिक हुनेछु।”

साझा पार्टीका संयोजक रवीन्द्र मिश्र भन्छन्, “एकै पुस्तामा नेपालको रूपान्तरण गर्न हामीलाई सबै नेपालीहरूको साथ र सहयोगको खाँचो छ। सिद्धी अर्यालजस्ता क्षमतावान् र स्वदेश तथा विदेशको व्यापक अनुभव संगालेका नेपालीले प्रतिष्ठित अन्तराष्ट्रिय जागिर छोडेर पार्टी निर्माणमा सहभागि हुनुले हामीलाई हाम्रो लक्ष्यमा पुग्न बलियो संकेत प्रदान गरेको छ।”

डा सूर्यराज आचार्य
प्रवक्ता, साझा पार्टी
मिति: २२ असार २०७६

विषादी जाँच स्थगनबारे

विषादी जाँच स्थगनबारे

विदेशबाट आयात गरिने तरकारी र फलफुल लगायतका खाद्यजन्य वस्तुहरुको बिषादी जाँच बारेको समाचारप्रति साझा पार्टीको गंभिर ध्यानाकर्षण भएको छ।

नेपाली बजारका तरकारी, फलफुल लगायतका खाद्यजन्य वस्तुमा जनस्वास्थमा गम्भिर असर पर्ने विषादी र रसायन रहेको भन्ने बारेमा आम जनताको सरोकार रहँदै आएको छ। यसै सन्दर्भमा भारतबाट आयात हुने तरकारी र फलफुलको विषादी परिक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको समाचार दुर्भाग्यपुर्ण छ।

खाद्यजन्य वस्तुहरुको बिषादी जाँच लगायत क्वारेन्टाईन परिक्षण अन्तराष्ट्रिय व्यापारको आधारभुत शर्त हो। अझ विषादी परीक्षण जस्तो आम जनस्वास्थमा प्रत्यक्ष प्रभाव पर्ने विषयमा सरकार बढि गंभीर र संवेदनशील हुनु अनिवार्य छ। कुनै पनि बहानामा विषादी चेक-जाँच बिना खाद्यजन्य वस्तु आयात गर्नु अन्तराष्ट्रिय व्यापारको आधारभुत मान्यताको बर्खिलाप हो। त्यो नागरीकको स्वास्थमाथिको गंभिर खेलबाड हो।

कुनै पनि देशबाट आयात गरिने खाद्यजन्य वस्तुको बिषादी लगायत क्वारेन्टाइन परिक्षणका लागि आवस्यक पूर्वाधार प्राथमिकताका साथ यथाशिघ्र तयार गर्न साझा पार्टी सरकारलाई आग्रह गर्दछ। तर परिक्षण सुविधा नभएको बाहानामा जनस्वास्थमा प्रत्यक्ष असर पर्ने खाद्यजन्य वस्तु बिना चेक-जाँच आयात गर्न दिनु पूर्णत: गैरजिम्मेवारी कार्य हो।

सम्बन्धित विज्ञहरुको रायसुझावका आधारमा जनस्वास्थमा जोखिम हुने तरकारी, फलफुल लगायतका खाद्यजन्य वस्तुको बिना चेक-जाँचको आयातमा तुरुन्त प्रतिबन्ध लगाउन साझा पार्टी सरकारलाई आग्रह गर्दछ।

डा. सूर्यराज आचार्य
प्रवक्ता
साझा पार्टी
मिति: २१ असार २०७६