साझा पार्टीको धरान मेयर उमेदवार घोषणा

साझा पार्टीले धरानका सामाजिक अभियन्ता राजन कुमार श्रेष्ठलाई पार्टीका तर्फबाट धरान उपमहानगरपालिकाको उमेदवार बनाउने निर्णय गरेको छ।

विगत लामो समयदेखि सामाजिक र राजनीतिक अभियन्ताको रुपमा सक्रिय श्रेष्ठ धरान उपमहानगरपालिकाका वासिन्दा हुन।
श्रेष्ठले आफू निर्वा्चित भएको खण्डमा धरान उपमहानगरपालिका भित्र दिर्घकालिन खानेपानीको व्यवस्था गर्ने, बसपार्कको उचित व्यवस्थापन गर्ने र स्थानीय सरकार मातहतमा रहेको सर्दु जलाधार संरक्षणका लागि आवश्यक पहल कदमी लिने बताएका छन्। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित तथा सुविधायुक्‍त बनाउन पहल गर्ने पनि श्रेष्ठले प्रतिवद्धता जनाएका छन्।

सुसंस्कृत राजनीति र समतामूलक संवृद्धिको राजनीतिक यात्रालाई आत्मसात गर्दै अघि बढेको साझा पार्टीका उम्मेदवारलाई विजयी गराउन हामी सबैसँग हार्दिक अपील गर्दछौँ।

साझा पार्टीले यस अघि कास्कीको निर्वाचन क्षेत्र नं. २, भक्तपुर क्षेत्र नं. १ को प्रदेश (क ) र दाङ क्षेत्र नं. ३ को प्रदेश (ख)मा उमेदवार घोषणा गरिसकेको छ।

डा. सूर्यराज आचार्य
प्रवक्ता
साझा पार्टी
२० कार्तिक २०७६

भारतले जारी गरेको गलत नक्साबारे

नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग दावी गरेको प्रति साझा पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ।

भारत सरकारको यो कदम अन्तराष्ट्रिय कानुनको विपरित नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथीको ठाडो हस्तक्षेप हो।

यी भूभाग लगायत नेपालका दर्जनौं ठाउँमा भारतबाट भएको सीमा अतिक्रमणको साझा पार्टीले निरन्तररुपमा विरोध गर्दै आएको छ।

हामी नेपाल सरकारलाई भारतले हालै जारी गरेको नयाँ नक्साको बारेमा कडा आपत्ति जनाउँदै स्पष्टिकरण माग्न, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्न र जारी नक्सा सच्याउन माग गर्न जोडदार आग्रह गर्दछौं।

साथै नेपाल-भारत संयुक्त सीमा सर्वेक्षण टोलीको प्रयासमा भएको सीमा क्षेत्रका पिलरहरुको निर्माण, मर्मत र सर्वेक्षण कार्यमा प्रयोग भएका प्रविधि, ऐतिहासिक तथ्य एवं नाप नक्साका साथै हाल सम्मको कार्यप्रगतीबारे आमनागरिकलाई जानकारी गराउन पनि हामी नेपाल सरकारलाई अनुरोध गर्दछौं।

नेपाल-भारत बीचको सदियौंदेखि रहिआएको घनिष्ट सम्बन्ध अझ नयाँ उचाईमा पुर्याउनु पर्नेमा भारत सरकारको यो कदम प्रत्युत्पादक हुने साझा पार्टीको ठहर छ।

मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसंग सम्बन्धित यो मुद्दामा नेपाल सरकार र सबै राजनीतिक दल एकै ठाउँमा उभिनु पर्छ भन्ने साझा पार्टीको मान्यता छ।

डा. सूर्यराज आचार्य
प्रवक्ता
साझा पार्टी
२० कार्तिक २०७६

प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको बारे

सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई अनायासै पदमुक्त गरेको निर्णयप्रति साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ।

पाँच वर्षका लागि संवैधानिकरूपमा नियुक्त भएका प्रदेश प्रमूखहरूलाई हालको प्रमूख प्रतिपक्षि र तत्कालिन सत्तारूढ पार्टी नेपाली कांग्रेसको सरकारले नियुक्त गरेकै कारण एकै पटक पदबाट हटाउनु हेर्दा संविधानको परिधिभित्र देखिने तर अभ्यासमा अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण हो।

सरकारको उक्त निर्णय पुर्वाग्रह र दुराग्रहपूर्ण तथा भविष्यका लागि गलत नजिर स्थापित गर्ने प्रकृतिको गैर-राजनीतिक कदम पनि हो। यस्तो रवैयाबाट देशमा सुसंस्कृत राजनीति स्थापित हुन सक्दैन।

दुई-तिहाई समर्थन प्राप्त शक्तिशालि सरकारले देशलाई विकास र संवृद्धिको मार्गमा डोर्याउन गर्नु पर्ने अनगिन्ति कामहरू छन् तर सरकार बारम्बार देशको रूपान्तरणका प्रमुख मुद्दाहरूमा प्रवेश नै नगरि ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भने झैँ तपशीलका विषयहरूमा अल्झिनु अत्यन्तै खेदजनक विषय हो।

डा. सूर्यराज आचार्य
प्रवक्ता
साझा पार्टी
मिति: १८ कार्तिक २०७६