प्रिय सदस्य तथा शुभेच्छुक,
सर्वप्रथम, नयाँ वर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु। हामी सबै – र संसारभरीका मानिसहरू – कोरोना महामारीले ल्याएको मृत्यु, पीडा, त्रास र बन्दाबन्दीबाट मुक्त भएर पुन: उन्मुक्तिका साथ जिउँन सकौँ।
नयाँ वर्ष खुशी, उर्जा, अनुकूलता र सकारात्मकताले पूर्ण होस्। भ्रष्टाचारीहरूमा सदबुद्धी पलाओस्, सुशासन प्रवर्धन होस्!
साथसाथै, २०७७ साल साझा पार्टीका लागि कोषेढुङ्गा बनोस् र जति चिच्याए-कराए पनि नसुध्रिने पुरानो राजनीतिलाई विस्थापित गरेर यो देशको नेतृत्व गर्न ‘इमानदार, सक्षम र दूरदृष्टिपूर्ण’ पार्टी हामी हौँ भन्ने विश्वास स्थापित गर्न सकियोस्।
हामीले २०७६ सालमा सुदूर पश्चीमका नौवटै जिल्लामा भ्रष्टाचार विरोधी अभियान, बालुवाटार लगायत अन्य काण्डहरूविरूद्ध अभियान, पर्सा र धनगढीमा हावाहुरीबाट प्रभावितहरूलाई सहयोग, कोरोनाभाइरस विरूद्ध जनचेतना कार्यक्रम र रक्तदान, विभिन्न स्थानमा अन्तर्कृया र प्रशिक्षणहरू, राष्ट्रिय सभागृहमा साझा युवा संगठनको घोषणा, युवा संगठनकै अगुवाईमा देशका विभिन्न प्रतिश्ठित तथा अन्य व्यक्तित्वहरूको सहभागितामा साझा स्कूल अफ पब्लिक लिडरशिप श्रृंखलाको थालनी, विभिन्न जिल्ला तथा नगरमा संयोजकहरूको घोषणा, धेरै देशहरूमा साझा सद्भाव समूहहरूको निर्माण, देशभरीबाट साझा पार्टीका लगभग ४५० जना नेता तथा अगुवा सदस्यहरू सहभागी साझा राष्ट्रिय भेलाको आयोजना आदि सम्पन्न गरेछौँ।
साझा पार्टीको बागमती प्रदेश सांसद शोभा शाक्यले निरन्तर सुशासन र जनचासोका मुद्दाहरू उठाइरहनुभयो। उहाँले शुरूदेखि उठाउनुभएको एउटा मुद्दा सांसद विकास कोष नीतिगत भ्रष्टाचारको चरम उदाहरण हो र त्यो खारेज गरिनु पर्छ भन्ने थियो, जुन अहिले सत्तारूढ दलकै सांसदहरुले पनि भन्न थालेका छन्।
यी सबैका साथसाथै, संचार माध्यमहरूमा हाम्रो उपस्थिति उत्साहजनक नै रह्यो भने हामी पार्टी निर्माणको प्रारम्भिक चरणमैँ र संगठनात्मकरूपमा सानो भए पनि बेलाबख राष्ट्रिय राजनीतिका महत्वपूर्ण बहसहरूमा अग्रपंतिमा रहिरह्यौँ।
२०७७ सालमा हामी मूलत: साझा राष्ट्रिय भेलामा तय गरिएका पाँच रणनीति र कार्यनीतिमा केन्द्रीत रहने छौँ। कोरोना संकटले ल्याएको अनपेक्षित परिस्थितिका कारण हाम्रा उद्देश्यहरूको कार्यानवयनमा केही ढिलाई हुने देखिन्छ तर कोरोना संकटबाट पार पाउने वित्तिकै हामी ती उद्देश्यहरूमा गम्भिरतापूर्वक केन्द्रीत हुनेछौँ, जुन निम्न अनुसार छन्:
१। सङ्गठन विस्तार तथा सुदृढीकरण, २। नीति तथा स्कूलिङ, ३। अभियान, ४। ध्रुवीकरण, र, ५। स्रोत व्यवस्थापन।
माथिका अधिकांश कार्यहरू प्रभावकारीरूपमा अघि बढाउन स्रोत व्यवस्थापन हाम्रो प्रमुख चुनौती हुने देखिएको छ। तपाईं र अन्य धेरै शुभेच्छुकहरूको सहयोगका कारण हामी पार्टीलाई यहाँसम्म ल्याइपुर्याउने सफल भएका हौँ। २०७६ सालका सम्पूर्ण गतिविधि तपाईंकै नैतिक तथा आर्थिक सहभागिता र समर्थनको परिणाम हो। यो कठिन र चुनौतिपूर्ण यात्रा हामी सबैको प्रतिवद्धता र दृढताबिना संभव हुने थिएन।
टाकुरामा पुग्न अझ धेरै कठिनाई र चुनौतीको सामना गर्नु छ। सबै नेपाली सुख, शान्ति र संवृद्धिका साथ नेपालमैँ बस्न योग्य बनाउन बाँकी छ। तसर्थ, हाम्रा उद्देश्यहरू हासिल गर्न यहाँको सहभागिता र सहयोग निरन्तर जारी रहने अपेक्षा गर्दछु।
फेरी एक पटक नयाँ वर्षको शुभकामना अर्पण गर्दछु। नेपालको जय होस्!
रवीन्द्र मिश्र
संयोजक, साझा पार्टी
मिति: ०१ बैशाख २०७७
