कसले रोक्दो रहेछ, हेरौँ!

कसले रोक्दो रहेछ, हेरौँ!

केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गर्दछ।

कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो। तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो।

सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्। शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले।

साझा पार्टीको उक्त कदम महिनौँदेखि निरन्तर रूपमा अतुलनीय शुभ कार्य गरिरहेका परोपकारी समूहप्रतिको नैतिक र सानो आर्थिक सहयोग मात्र हो। साझा पार्टी नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई खुलामञ्च लगायतका स्थानमा दैनिक सयौँ नेपाली दाजुभाइ, दिदीबहिनीको पीडामा मल्हम लगाइरहेका समूहहरूलाई सहयोग गर्न हार्दिक अपिल पनि गर्दछ।

सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गरोस्।

शरदराज पाठक
प्रवक्ता, साझा पार्टी
१८ कार्तिक २०७७

के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन्?

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्तरूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर फर्किएको विषयप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

के रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन्? यदि हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्। होइन भने, आफ्ना खुफिया एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुबाट भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत गर्दछ।

त्यो प्रधानमन्त्रीकै तहबाट नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि भएको ठाडो आक्रमण हो।

के रअका प्रमुख उनको नेपाली समकक्षी नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन्? के त्यसरी आउँदा उनले प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ गरेका हुन्? यदि हुन् भने त्यो पनि प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्। होइन भने, देशको प्रधानमन्त्रीको मर्यादाको ख्याल भयो कि भएन?

एकातिर परराष्ट्र मन्त्रालयले औपचारिक वार्ताका लागि गरेको पत्राचारको जवाफ दिल्लीले नदिनु र अर्कोतिर खुफिया एजेन्सीका प्रमुख आएर सिधै प्रधानमन्त्रीलाई भेट्नुले नेपाली कुटनीति भारतसँगको सम्वन्धमा कुन तहमा गिरेको छ भन्नेमात्र स्पष्ट पार्दैन, त्यसले अन्य देशहरूसँगको हाम्रा कुटनीतिक सम्बन्धलाई पनि अत्यन्तै हलुका र सस्तो बनाइदिनेछ।

साझा पार्टी प्रधानमन्त्री ओलीको यस्तो लज्जाजनक रवैयाको गम्भीर भर्त्सना गर्दछ। यो दशकौँदेखि नेपालका शीर्ष भनिएका नेताहरूले देखाइरहेको आचरणकै निरन्तरता हो। यस्तो आचरणलाई रोक्न र परराष्ट्र मन्त्रालयको कुटनीतिक आचारसंहिता पालना गर्न साझा पार्टी सबै नेताहरूलाई पुन: आग्रह गर्दछ।

शरदराज पाठक
प्रवक्ता, साझा पार्टी
मिति: ०६ कार्तिक २०७७

 

विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरण वार्ताबारे

विवेकशील नेपाली दल र साझा पार्टीका राजनीतिक संवाद समितिले दुई दलबिचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का रूपमा यहि २०७७ असोज २९ गते साझा पार्टिका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएको थियो।

आजै साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका अध्यक्षले आआफ्नो पार्टीको संघिय/केन्द्रीय समितिमा उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।

सुसंस्कृत राजनीति, सुशासन, भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता, समतामूलक संवृद्धि र नेपाल रूपान्तरणको एउटै लक्ष्य बोकेका तथा आम नेपालीले वर्तमानको विकृत राजनीतिको विकल्पका रूपमा हेरेका यी दुई पार्टी एक भएको देख्न चाहेको सर्वविदित नै छ।
विगतमा भएका आफ्ना कमजोरीलाई स्विकार्दै तथा जनभावनाको कदर गर्दै २०७७ असार ३१ गतेदेखि दुवै पार्टीले एकीकरण वार्ता शुरू गरेका थिए।

उक्त प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय/सङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आ-आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउनेछ।

वार्ता प्रक्रियामा साथ र सहयोग दिनुहुने पार्टी नेत्रित्वका साथै वार्ताको माहौल बनाउन सकारात्मक भुमिका खेल्नुहुने दुवै पार्टीका सदस्य पङ्तीलाई हामी धन्यवाद ज्ञापन गर्दछौं। दुवै पार्टीका समर्थक, शुभचिन्तक तथा बैकल्पिक राजनीति प्रति भरोसा राख्ने तमाम नेपाली नागरिकप्रति आभार प्रकट गर्दछौं।

निर्देश सिलवाल संवाद समिति संयोजक, विवेकशील नेपाली दल

समीक्षा बास्कोटा
संवाद समिति संयोजक,
साझा पार्टी
मिति: ०४ कार्तिक २०७७

 

जनतालाई पैसा भए बाँच, नभए मर भन्नु क्रूरता हो

कोरोना भाइरस संक्रमित नागरिकले उपचार खर्च आफै ब्यहाेर्नु पर्ने सरकारको पछिल्लो निर्णयको साझा पार्टी गम्भीर भर्त्सना गर्दछ।हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा राज्यबाट नि:शुल्क पाउने संविधानको मौलिक हकको व्यवस्था र सर्वोच्च अदालतको हालैको परमादेश समेत विरुद्धको यस्तो निर्णय तत्काल सच्याउन साझा पार्टी सरकारलाई आह्वान गर्दछ।

वर्षौँदेखि नेपाल तथा विदेशमा गरिएको आफ्नो उपचारमा राज्यकोषबाट पटक, पटक करोडौँ खर्च गरेका प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकार महाव्याधिका बेला नागरिकको उपचार खर्च राज्यले धान्न सक्दैन भन्नेजस्तो असंवेदनशील र गैह्रजिम्मेवारपूर्ण तर्क गरेर आफ्नो संवैधानिक दायित्वबाट कसरी भाग्न सक्छ?

सीमित दल र नेतालाई फेरी चुनाव जिताउने गरी सांसदलाई अरबौँ रकम बाँड्न सरकारसँग पैसा छ। महामारीकै बिचमा जनप्रतिनिधिलाई करोडौँ रकम दशैँ भत्ता बाँड्न सरकार सक्षम छ। सत्ता निकट आसेपासेलाई उपचार खर्चका नाममा रकम लुटाउन सरकार उदार छ। राज्यलाई अरबौँ अरबको क्षति पुग्ने गरी बिचौलियासँगको साँठगाँठ र भ्रष्टाचारमा सरकार उन्मत्त छ।

तर विपन्नहरू कामविहीन बनेका बेला, श्रमिकहरूले रोजगारी गुमाइरहेका बेला अन्य कयौँ देशमा सरकारले विशेष राहतको व्यवस्था गरिरहेको छ भने नेपालमा चाहिँ राजधानीमै दैनिक सयौँ मानिसहरूलाई परोपकारी व्यक्ति र संस्थाहरूले खाना खुवाइरहेका छन्। सरकार अब भन्दैछ: हामी आम नागरिकको उपचार गर्न सक्दैनौँ। राष्ट्रिय संकटका बेला यो राष्ट्रिय लज्जाको विषय हो।

हामी फेरी भन्छौँ: राष्ट्रपति र प्रधानमन्त्रीदेखि सांसदसम्मको तलब सुविधामा उल्लेख्य कटौती गर। सांसद विकास कोष बन्द गर। सार्वजनिक खर्च पुनरावलोकन आयोगको सुझाव मानेर केही मन्त्रालयसहित अनावश्यक सयौँ संरचना तत्काल खारेज गरी सार्वजनिक खर्च कटौती गर। भ्यु टावर निर्माणदेखि अनुत्पादक संरचनाहरूमा छुट्याईएका बजेट रोक्का गर। सबै बचेको रकम कोरोना नियन्त्रण र उपचारमा खर्च गर।

महाव्याधिका बेला जनतालाई, अप्रत्यक्ष रूपमा, पैसा भए बाँच नभए मर भन्नु क्रूरता हो।

शरदराज पाठक
प्रवक्ता,
साझा पार्टी
३ कार्तिक २०७७

 

दशैँ भत्ता फिर्ता गर्ने निर्णय

कोभिड १९ को महामारीका कारण देश संकटमा परिरहेको र ठूलाे संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेका बेला जनप्रतिनिधिहरूले दशैँ भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त हुँदैन।

मासिक तलब स्वत: खातामा आउने गर्दछ। बागमती प्रदेश सरकारले तलब सँगसँगै दशैँ भत्ता पनि सांसदहरूको खातामा दाखिल गरिसकेको छ।

मेरो खातामा आएको सो रकम मैले फिर्ता गर्ने जानकारी गराउन चाहन्छु। दशैँ खर्च बापतको सो रकम कोभिड १९ को स्वास्थ्य कोषमा दाखिला गर्न समेत हार्दिक अनुरोध गर्दछु।

साथसाथै, सबै सांसदहरूलाई दशैँ भत्ता फिर्ता गर्न र प्रदेश सरकारलाई सबै अनावश्यक खर्च कटौती गरी कोभिड १९ नियन्त्रण र उपचारमा लगाउन पनि आग्रह गर्दछु।

शोभा शाक्य
बागमती प्रदेश
सभा सदस्य,
साझा पार्टी
मिति: ०२ कार्तिक २०७७

 

Pathak appointed as spokesperson for Sajha Party

Pathak appointed as spokesperson for Sajha Party

KATHMANDU, Oct 10: The Sajha Party has appointed Sharadraj Pathak as the new spokesperson for the party.

According to a press statement issued by the party, Pathak, who has been serving the party as its assistant spokesperson for the past six months, was appointed the party’s spokesperson on Saturday.

He had also filed his candidacy in the last federal elections from Chitwan-3. Similarly, Pathak, who has a master’s degree in Rural Development, has already been part of various national media where he played prominent leadership roles.

Source: myRepublica

शरदराज पाठक साझा पार्टीको प्रवक्ता नियुक्त

शरदराज पाठक साझा पार्टीको प्रवक्ता नियुक्त

काठमाडौँ — साझा पार्टीले ६ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य शरदराज पाठकलाई प्रवक्ता नियुक्त गरेको छ। उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट पार्टीका उम्मेदवार थिए।

ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सक्रिय हुनअघि विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए ।

उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकको संस्थापक सम्पादक भएर काम गरेका थिए भने त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्णको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए ।

सूर्यराज आचार्यले पार्टी परित्याग गरेपछि साझा पार्टीमा प्रवक्ता पद रिक्त रहेको थियो । पार्टी पुनर्संरचनाका लागि आफूहरुले राखेको प्रस्ताव अस्वीकृत भएपछि साझाका केन्द्रीय सदस्यद्वय सूर्यराज आचार्य र मुमाराम खनालले गत असार २८ गते पार्टी परित्याग गरेका थिए ।

कान्तिपुर

शरदराज पाठक साझा पार्टीको प्रवक्ता नियुक्त

शरदराज पाठक साझा पार्टीको प्रवक्ता नियुक्त

साझा पार्टीले छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य शरदराज पाठकलाई प्रवक्ता नियुक्त गरेको छ।

उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उमेदवार थिए।

ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सकृय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए।

उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकको संस्थापक सम्पादक भएर काम गरेका थिए भने त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए।

केन्द्रीय सचिवालय
साझा पार्टी
बखुण्डोल, ललितपुर
मिति: २४ असोज २०७७

 

साझा पार्टीको केन्द्रीय समिति पुनर्गठन

साझा पार्टीले सातै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर आफ्नो केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाउँदै पुनर्गठन गरेको छ, जसमा मूलत: युवाहरू रहेका छन्। गत फागुनमा लुम्बिनीमा भएको राष्ट्रिय भेलाले पार्टीको केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेको थियो।

आफ्नो राजनीतिक तथा संगठनात्मक गतिविधिलाई अझ व्यापक र विस्तारित गर्दै पार्टी निर्माणको अभियानलाई सुदृढ गर्न केन्द्रीय समिति पुनर्गठन गरिएको हो। यो पुनर्गठनसँगै साझा पार्टी आफ्ना राजनीतिक मुद्दा र विचार बोकेर देशभरी नै विश्वासिलो विकल्पका रूपमा जनता माझ जानेछ।

नयाँ जोडिएका ३७ जना सदस्यमा १० जना महिला रहेका छन्। यद्यपि, समय दिएर अग्र पंक्तिको राजनीतिक नेतृत्व लिन चाहने महिला लगायत विभिन्न समावेशी समूहका सदस्यको अझै पनि पार्टीले अभाव महसुस गरिरहेको छ। साझा पार्टी महिला तथा समावेशी नेतृत्वलाई व्यापकरूपमा प्रवर्द्धन गर्न चाहन्छ। अत: यसै विज्ञप्ति मार्फत हामी महिला लगायत सबै समावेशी समूहका सदस्यलाई वैकल्पिक र सुसंस्कृत राजनीतिको हाम्रो अभियानमा संलग्न हुन हार्दिक आह्वान गर्दछौँ।

केन्द्रीय समितिको पुनर्गठन सँगसँगै हामीले आफूलाई वैकल्पिक राजनीतिको गुरूत्वशक्ति बनाउने उद्देश्यका साथ समान विचार र उद्देश्य भएका राजनीतिक पार्टी, समूह र अभियानहरुसँग समेत पार्टी एकीकरण र ध्रुवीकरणको प्रक्रिया सुरु गरेका छौँ। देशमा परिणाममुखी लोकतन्त्र, सुशासन, विकास र संवृद्धि सुनिश्चित गर्ने हो भने अब फरक धारबाट अगाडि बढेका पछिल्ला राजनीतिक प्रयत्नहरुलाई एकिकृत गर्नुपर्छ भन्ने पार्टीको ठहर छ। नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरुको एकता आजको आवश्यकता हो।

राजनीतिलाई नयाँ दिशा दिने समय घर्किँदै गइरहेको छ। अब ढिलो गर्नु हुदैन र राजनीतिक विकल्प निर्माण गर्न सम्पूर्ण प्रयत्नहरू एकीकृत गर्नुपर्छ भन्ने हाम्रो विश्वास हो। त्यसका लागि देश-विदेशमा रहेका विभिन्न अभियान तथा नागरिक समूहहरू, पुराना दलका इमानदार, कर्मठ र देशभक्त नेता, सदस्य तथा शुभेच्छुकहरू सबैलाई एक जुट हुन हामी हार्दिक आह्वान गर्दछौँ।

साझा पार्टीको केन्द्रीय समितिमा जोडिएका नयाँ सदस्यहरूको नामावली:
महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदिप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी, दीपक पौडेल, हरि प्रसाद गौतम, अर्जुन प्रसाद खनाल, नवराज थापा, हरिकृष्ण अधिकारी, इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी, केशब बहादुर मल्ल, सुशील राज देबकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ, लक्ष्मी शाही, दुज्जी चौधरी, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्र थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दिपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरे।

रवीन्द्र मिश्र
संयोजक,
साझा पार्टी
मिति: २२ असोज २०७७

 

के डा केसीलाई मार्न खोजेको?

के डा केसीलाई मार्न खोजेको?

डा गोविन्द केसीले २२ दिनदेखि जारी राखेको अनशनका क्रममा उनको स्वास्थ्य खतरनाकरूपमा नाजुक बन्दै गएको अवस्था र त्यसप्रति सरकारको उदासिनताबारे साझा पार्टी गम्भीर चिन्ता प्रकट गर्दछ।

डा केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन्? छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपऱ्यो। होइन भने विश्वमै विरलै भेटिने डा केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पुरा गर्नुपऱ्यो।

डा केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरेयताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा छन्। तर यिनै दलले पटक पटक सरकारकाे नेतृत्व गर्दा पनि डा केसी उस्तै माग राखेर फेरी फेरी अनसनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय हो।

वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्र उनी छ पटक अनशन बसिसकेका छन्। यस पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको छ र वार्ता टोलीसम्म गठन गरेको छैन। “कुचोले बढार्नु पर्ने कसिङ्गर, हावाले उडाएर लैजाओस्” भनेझैँ रवैया प्रस्तुत गरिरहेको छ। के सरकारले डा केसीलाई मार्नै खोजेको हो?

पछिल्लाे पटक २०७५ साउन १० गते केसीसँग अहिलेकै सरकारले गरेको सम्झौता कार्यान्वयन गराउने सार्वजनिक प्रतिवद्धता जाहेर गरेका प्रधानमन्त्रीलाई डा केसी तिनै मागहरूसहित पुन: अनशन बस्दा किन लज्जाबोध भइरहेको छैन? किन उल्टै जिम्मेवार मन्त्री खटाएर सरकार उनलाई गलत देखाउने चेष्टा गर्दैछ?

डा केसीको जारी अनसनका सबै मागप्रति पूर्ण ऐक्यवद्धता प्रकट गर्दै साझा पार्टीले सरकारलाई दबाब दिन कैलालीदेखि झापासम्मका विभिन्न जिल्लामा २ सातायता दबाबमूलक प्रदर्शन गर्दै आएको छ। सरकारी वेवास्ताले डा केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्नेमा हामी समयमै सचेत गराउन चाहन्छौँ।

शरदराज पाठक
सहप्रवक्ता, साझा पार्टी
१९ असोज २०७७