राष्ट्रिय सभा चुनावमा पार्टीको निर्णयबारे

विवेकशील साझा पार्टीले राष्ट्रिय सभाको चुनावमा प्रदेश ३ को खुलातर्फ नेपाली कांग्रेसका उम्मेदवार वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई समर्थन गर्ने निर्णयप्रति अभिव्यक्त चासो र चिन्ताका बारे स्पष्ट पार्न यो वक्तव्य जारी गरिएको छ।

राष्ट्रिय सभाको चुनावका सम्बन्धमा हाम्रा सामू मूलतः चारवटा विकल्पहरू थिएl

१) चुनावमा भागै नलिने

२) हार्ने निश्चित भएपनि आफ्नै उम्मेदवार उठाउने

३) वाम गठवन्धनले समर्थन गरेको उमेदवारलाई समर्थन गर्ने

४) नेपाली कांग्रसले समर्थन गरेको उमेदवारलाई समर्थन गर्ने

पहिलो विकल्प, चुनावमा भाग नै नलिनु भनेको हामी जस्तो लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न आएको पार्टीलाई सुहाउने कुरा थिएन। साथै, आगामी दिनमा प्रदेश सभामा पनि हाम्रा चित्त बुझेका/नबुझेका हरेक विषयमा मतदानको प्रक्रियामा सामेल भएर वृहत राष्ट्रहितको पक्षपोषण गर्नु नै हाम्रो कर्तव्य हुने महशुस गरेका छौं।

दोस्रो विकल्प, हामीले आफ्नै उम्मेदवार उठाउन नागरिक समाजका केही प्रवुद्ध व्यक्तित्वहरुसँग गरेको छलफल सार्थक हुन सकेन। हामीले चाहेजस्तो व्यक्तित्वहरूले हामीप्रति सदभाव राख्दाराख्दै पनि साथ भने दिन सक्नुभएन।

तेस्रो विकल्प, वाम गठवन्धन आफुले समर्थन गरेको उम्मेदवारको बारेमा हामीसँग मनोनयन दर्ताको अन्तिम घडीमा मात्र सम्पर्कमा आयो र त्यतिञ्जेलसम्ममा नेपाली कांग्रेससँग हामी र नयाँ शक्ति पार्टीसहित भएर शुरु भएको कुराकानी निकै अघि बढिसकेको थियो। यद्यपि नेपाली कांग्रेसलाई हामीले उनीहरूले प्रारम्भिक रूपमा छलफलमा ल्याएका तर हाम्रो बुझाईमा राष्ट्रिय सभाका लागि अनुपयुक्त देखिने सम्भावित उमदेवारहरुप्रति हाम्रो समर्थन रहन नसक्ने प्रष्ट पारेका थियौंl

चौथो विकल्प, नेपाली कांग्रेससँग उपयुक्त उम्मेदवारको विकल्पमा छलफल हुँदा हामीले अघि सारेका कतिपय स्वतन्त्र, प्रवुद्ध व्यक्तिहरू कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने संभावना देखिएन। नेपाली कांग्रेससँगै आवद्ध व्यक्तिहरूको चर्चा हुँदा राधेश्याम अधिकारी लगायतका केही नाम छलफलमा आयो र हामीले तुलनात्मकताको कसीमा हेर्दा उहाँहरूमध्ये कोहीलाई समर्थन हुनसक्ने बतायौं।

वास्तवमा हाल राष्ट्रिय सभामा अघि सारिएका उम्मेदवारहरूमध्ये समग्रतामा हेर्दा छवि, अनुभव र प्रवुद्धताका हिसाबले तुलनात्मक रुपमा राधेश्याम अधिकारी सक्षम छन् र भोलि राष्ट्रियसभामा विभिन्न जटिल विषयहरूलाई सूक्ष्म ढंगबाट केलाएर विवेकपूर्ण निर्णय लिनसक्ने क्षमता उनमा छ भन्ने हाम्रो विश्वास हो। यो देशका लागि अत्यन्त घातक ‘शिक्षा विधेयक’ ल्याइदा संसदमा पार्टीको निर्णयभन्दा विपरित गएर मतदान गर्ने तीनजना सांसदहरुमध्ये अधिकारी एक हुन्l केही समय अगाडि चर्चित लोकमानसिंह कार्की र शुशिला कार्कीमाथिको छुट्टाछुट्टै महाभियोग प्रकरणमा अधिकारीले खेलेको जनपक्षीय भूमिका र उनले संसदमा दिएका अभिव्यक्तिहरुको पनि यहाँ स्मरण गरिनु वान्छनीय हुन्छl

तथापि, ‘भ्रष्टाचारको कसूरमा सजायँ भुक्तान गरिसकेको व्यक्तिले पनि भविष्यमा चुनाव लड्न पाउनुपर्छ’ भन्ने राधेश्याम अधिकारीको अभिव्यक्ति प्रति हामी पूर्ण रुपमा असहमत छौ । वहांको त्यो धारणा एक कानुनविद्को हिसाबले विधिशास्त्रीय सिद्धान्तमा टेकिएर गरिएको तर्क हुनसक्ला तर हामी सो तर्कको ठिक विपरित भ्रष्टाचारी प्रमाणित भएका व्यक्तिलाई कडा सजायँका साथै राजनीतिबाट विमुख गरिनुपर्छ भन्ने मान्यता राख्दछौ । यद्यपि उनले चलाएको सैद्धान्तिक बहसका कारण उनको व्यक्तित्वका अन्य पाटाहरू र राष्ट्रियसभामा उनले खेल्न सक्ने संभाव्य सकारात्मक भुमिकालाई अवमूल्यन गर्नु हुँदैन भन्ने हाम्रो धारणा हो।

नेपाली कांग्रेससंगको यो सहमति कुनै दीर्घकालीन सहकार्य नभई आसन्न राष्ट्रिय सभाको निर्वाचनका लागि मात्र रहेको कुरा स्मरण गराउन चाहन्छौं l सत्ता भित्र र बहिर रहँदा नेपाली कांग्रेसले पक्षपोषण गरेका खराब प्रवृत्तिको हामी सदैव विपक्षमा छौं, र पछि पनि विपक्षमा हुने छौं। तसर्थ, तटस्थ रहेर क्षणिक रूपमा हामी पृथक् देखिन त सक्थ्यौं, तर यससंगै हाम्रो निर्णयले राष्ट्रिय सभामा एकजना प्रवुद्ध व्यक्ति जाने र संसदीय प्रणालीमा महत्वपूर्ण मानिने ‘विपक्षी बेन्च’ लाई बलियो बनाउने एउटा सम्भावनालाई प्रकारान्तरले खेर फाल्ने काम हुने देखिएकोले आफ्नो उम्मेदवार नभए पनि प्रत्याशीहरु मध्येको उपयुक्त विकल्पको रुपमा राधेश्याम अधिकारीलाई रोजेका हौंl

 

सूर्यराज आचार्य

प्रवक्ता, विवेकशील साझा पार्टी

१२ माघ २०७४

 

राष्ट्रियसभा निर्वाचन सम्बन्धमा

आसन्न राष्ट्रियसभा निर्वाचनबाट राष्टियसभामा राष्ट्रले गर्व गर्न सक्ने प्रबुद्ध व्यक्तित्वहरुको प्रतिनिधित्व हुनुपर्छ भन्ने धारणा विवेकशील साझा पार्टीले यस अघि नै वक्तव्यमार्फत सार्वजनिक गरिसकेको छl

प्रदेश ३ बाट राष्ट्रियसभामा कम्तिमा एक स्थान जित्न २३९२ मतभार आवश्यक पर्दछ । तर विवेकशील साझा पार्टीको जम्मा मतभार १४४ रहेको छ l  यो मतभारको सदुपयोगबाट उक्त सभामा प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व रहोस भन्ने मान्यताका आधारमा हाम्रो पार्टीले विभिन्न दलहरुसंग संवादको पहल गरेको थियोl

यसै सन्दर्भमा नेपाली कांग्रेस,  विवेकशील साझा पार्टी र नयाँ शक्ति पार्टी समेत सम्मिलित छलफलबाट उमेदवार चयनको उल्लेखित शर्तलाई अवलम्बन गर्दै नेपाली कांग्रेसले ३ नं. प्रदेशको खुला तर्फबाट बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई उमेदवार बनाएको छl

राष्ट्रियसभा जस्तो गरिमामय संस्थालाई पार्टीका नेता र कार्यकर्ताको भागवण्डा गर्ने थलो बनाइएको परिप्रेक्षमा तुलनात्मक रुपमा राधेश्याम अधिकारी जस्तो व्यक्तित्वलाई नेपाली कांग्रेसको उमेदवार बनाउने निर्णयलाई सकारात्मक रूपमा लिंदै विवेकशील साझा पार्टीले राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसका उमेदवारलाई समर्थन गर्ने र सोही अनुसार मतदान गर्ने निर्णय गरेको छ l

विवेकशील साझा पार्टी समेतको मतभारबाट विजयी हुने उमेदवारले राष्ट्रियसभा जस्तो गरिमामय सदनमा परम्परागत रूपमा पार्टीहरुले देखाउँदै आएको पार्टीगत स्वार्थभन्दा माथि उठेर महत्वपूर्ण विषयमा राष्ट्रिय हीतलाई सर्वोपरी राखी विवेकको आवाज अभिव्यक्त गर्नेछन् भन्ने हाम्रो विश्वास रहेको छ l

 

सूर्यराज आचार्य

प्रवक्ता, विवेकशील साझा पार्टी

१० माघ २०७४

‘सीमा मिचिएको’बारे गम्भिर ध्यानाकर्षण

नेपाल र भारतले संयुक्तरूपमा गरिरहेको ‘हराएका र क्षतिग्रस्त पिलर’को निर्माण र मर्मतका क्रममा वीरगन्ज महानगरपालिका–१, छप्कैया क्षेत्रमा स्थानीयवासीको ३० बिघाभन्दा बढी जमिन मिचिएको भन्नेबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

नेपाल-भारत सीमा सर्वेक्षण टोलीको प्रयासमा भएको भनिएको पिलरहरुको निर्माण र मर्मतकार्यको सिलसिलामा सर्वेक्षण कार्यमा प्रयोग भएको प्रविधि, ऐतिहासिक तथ्य एवं नापनक्साका साथै हालसम्मको कार्यप्रगतिबारे समस्त देशवासीलाई जानकारी गराउन हामी नेपाल सरकारलाई आग्रह गर्दछौंl

सीमाना मिचिएका खबरहरू बारम्बार विगतमा पनि बाहिर नआएका होइनन् त्यसबारे नेपालका सीमाविद्हरूले गम्भिर चिन्ता व्यक्त गर्दै आएका पनि छन्। देशको सीमाना जस्तो संवेदनशील विषयलाई गम्भिरतापूर्वक लिएर कहिँ कतैबाट नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधीनतामा आँच आउने खालका कुनै पनि गतिविधि हुन नदिन नेपाल सरकार दृढ रहोस् भनि हामी अनुरोध गर्न चहान्छौं।

 

रमेश पौड्याल

प्रवक्ता, विवेकशील साझा पार्टी

१० माघ २०७४

 

डा. गोविन्द केसीको गिरफ्तारीबारे

चिकित्सा शिक्षा र चिकित्सा सेवासम्बन्धि आम जनताका सरोकारका नीतिगत मुद्दा र विकृतिमाथि आवाज उठाउँदै आउनुभएका ईमान र निष्ठाका प्रतिक डा. गोविन्द केसीको गिरफ्तारिको खबरले हामी स्तब्ध भएका छौं।

उच्च प्राथमिकताका साथ सम्बोधन गर्नु पर्ने स्वास्थ जस्तो संवेदनशिल र सार्वजनिक सरोकारको न्यायोचित मुद्दामा राज्य पक्षको आलटाल, अकर्मण्यता र विकृतिलाई प्रोत्साहन गर्ने प्रवृत्ति देखाएबाट यो दुर्भाग्यपूर्ण स्थिति सृजना भएको हो भन्ने विवेकशील साझा पार्टीको ठहर छ।

सम्मानित अदालतको गरिमाको जगेर्ना गर्ने सवै नागरिकको दायित्व हो र लोकतन्त्रको संस्थागत विकासका लागि निष्पक्ष र स्वतन्त्र न्यायपालिकाको अहम् भूमिका रहन्छ भन्ने कुरामा हामी प्रतिवद्ध छौं।

जहाँसम्म डा. केसीले सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायधिसमाथि आम चासोको बिषयमा गंभिर प्रकृतिको आरोप लगाउनु भएको भन्ने सवाल छ, त्यसलाई डा. केसीले स्वास्थ क्षेत्रमा व्याप्त विकृतिको विरोधमा दिँदैआएको अभिव्यक्तिको निरन्तरताको रुपमा बुझ्नु उपयुक्त हुने देखिन्छ।

विगतका कतिपय घटनामा तत्काल कार्यान्वयन हुनु पर्ने सर्वोच्च अदालतको आदेश कार्यान्वयन नभएको परिप्रेक्षमा डा. केसी जस्ता देशले नै गर्व गर्ने एकजना निष्ठावान व्यक्तिलाई रातारात हठात गिरफ्तार गरिएबाट हामी आश्चर्यचकित भएका छौँ।

डा. केसीलाई अबिलम्ब रिहा गरियोस् र उहाँले लगाएको आरोपको यथार्थ र वस्तुपरक छानबिन सहित न्यायोचित निष्कर्ष निकाल्न हामी संबन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छौँ।

 

डा. सूर्यराज आचार्य

प्रवक्ता, विवेकशील साझा पार्टी

२५ पौष २०७४

सत्ता हष्तान्तरण र राष्ट्रिय सभा सदस्यबारे

कुनै पनि लोकतान्त्रिक मुलुकमा आम निर्वाचन सम्पन्न भएर एक ढंगको नतिजा बाहिर आईसकेपछी जनादेशको कदर गर्दै सोहीअनुसार पुरानो सरकार जाने र नयाँ सरकार गठन हुने प्रक्रिया लोकतन्त्रको आधारभूत अभ्यास हो।

कानूनी छिद्र खोजेर वा कानूनकै अपब्याख्या गरेर यो अभ्यासमा विलम्ब गर्न खोज्नुलाई कतै जायज मान्न सकिन्न। यस सन्दर्भमा राष्ट्रिय सभाको गठनसम्बन्धि अध्यादेशमा राष्ट्रपतिलाई नै विवादित पार्ने गरि विभिन्न दलको तर्फबाट आफ्नो अडान प्रस्तुत गर्ने काम भएको र त्यसले पनि यो प्रक्रिया विलम्ब हुन पुगेको विदितै छ।

नेपालको संविधानले राष्ट्रपतिलाई छुट्टै शक्तिकेन्द्रको रूपमा परिकल्पना नगरेको हुँदा यो संस्था विवादभन्दा माथि रहनु उपयुक्त हुन्छ। त्यसका लागि राष्ट्रपतिले संबिधानले प्रस्टै तोकेभन्दा बाहिरका निकायबाट सल्लाह लिई सोहि सल्लाहका आधारमा बैधानिक सरकारको निर्णयमा बाधा पुर्याएको देखिनु उचित होइन। भलै, ढिला गरेर भएपनि अध्यादेश जारी भएको छ र एक ढंगले राजनीतिक गत्यावरोधको अन्त्य भएको छ, जसको विवेकशील साझा पार्टी स्वागत गर्दछ।

निर्वाचनपछी जाँदै गरेको सरकारको प्राथमिक कर्तब्य मुलुकमा नयाँ सरकारको गठन हुनको लागि अनुकुल बातावरण सृजना गर्नु र सहज सत्ताहस्तान्तरणको सुनिश्चिता गर्नु हुनजान्छ। यस्तो बातावरण तयार गर्न प्रयास गर्नुको साटो मन्त्रिपरिषद्ले दुरगामी महत्वका निर्णयहरु गर्ने र कर्मचारी नियुक्ति तथा सरुवा गर्नेतर्फ ध्यान दिंदा कतै सत्ता लम्ब्याउने खेल त भइरहेको छैन भन्ने प्रश्न खडा भएको छ। यो प्रश्नको जवाफ वर्तमान प्रधानमन्त्रीले सहज सत्ता हस्तान्तरणको प्रक्रिया शीघ्र शुरु गरेर दिनुपर्दछ भन्ने हाम्रो ठहर छ।

संबिधान कार्यान्यवनको पछिल्लो कडीको रूपमा मुलुकमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। मुलुकले नयाँ संबिधान प्राप्त गरेपछी पहिलो पटक हुन लागेको राष्ट्रिय सभाको गठनले आफैंमा विशेष महत्व राख्दछ। राष्ट्रिय सभालाई आफ्ना दलका नेता/कार्यकर्ताहरुको ब्यबस्थापन गर्ने थलोको रूपमा मात्र नबुझेर राष्ट्रिय जीवनमा ख्याती कमाएका प्रवुद्ध नागरिकहरुको त्यहाँ उपस्थिति रहोस् भन्ने पक्षमा ध्यान दिन हामी सबै दलहरुलाई आग्रह गर्दछौं। यस्तो सभाले नै आवश्यक पर्दा राष्ट्रिय हितलाई सर्वोपरी राखी मुलुकलाई दिशानिर्देश गर्ने हैसियत राख्दछ भन्ने हाम्रो विश्वास छ।

राष्ट्रिय सभाको लागि उमेदवार छनौट गर्दैगर्दा दलहरुले यस विषयमा गंभिर भएर सोच्नु आवश्यक छ। राष्ट्रिय सभामा नै सरकारको सिफारिसमा राष्ट्रपतिले तिन जना सदस्य नियुक्त गर्ने प्रावधान रहेकोमा यस प्रावधान अन्तर्गत दलीय भागबण्डाका आधारमा नभई समाजमा आफ्नो स्वतन्त्र छवी बनाएका दलभन्दा बाहिरका व्यक्तिहरुमध्येबाट सदस्यहरु छनौट गर्न विवेकशील साझा पार्टी माग गर्दछ।

 

डा सूर्यराज आचार्य

प्रवक्ता, विवेकशील साझा पार्टी

मिति: १८ पौष २०७४

 

प्रदेश ३ मा पार्टीका ३ नेता मनोनित

यहि २०७४ पौष १२ गते बसेको विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठकले प्रदेशसभा निर्वाचन ऐन, २०७४ अन्तर्गत निर्वाचन आयोगले तोकेको मापदण्ड अनुरुप रही समानुपातिकतर्फ प्रदेश नं ३ मा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य रमेश पौड्यालको नेतृत्वमा तीन जना सदस्य पठाउने निर्णय गरेको छ l यसै निर्णय मुताविक रमेश पौड्याल, शोभा शाक्य र बिराज भक्त श्रेष्ठको नाम आजै निर्वाचन आयोगमा पठाईएको छl

विवेकशील साझा पार्टीले प्रदेश ३ को प्रदेशसभामा चौथो ठुलो पार्टीको रुपमा प्रतिनिधित्व गर्दैछ। यस प्रदेशमा पार्टीले समानुपातिक तर्फ एक लाख चौविस हजार चार सय बयालीस (१,२४,४४२) मत प्राप्त गरेको थियो। पार्टीलाई यस स्थानमा पुर्याउनुहुने समस्त मतदाताहरुमा हार्दिक धन्यवाद दिन चाहान्छौं l साथै, हाम्रा सदस्यहरुले प्रदेशसभामा खेल्ने भूमिकाबाट हामीलाई प्राप्त हरेक मतमाथि न्याय गर्ने विश्वास दिलाउँन चाहान्छौंl

छनौट भएका उमेदवारहरुको संक्षिप्त परिचय यस प्रकार छl

१)रमेश पौड्याल (सिन्धुपाल्चोक)
रमेश पौड्यालले विवेकशील साझा पार्टीलाई प्रदेश ३ को प्रदेशसभामा पार्टीको संसदीय दलको नेतृत्व गर्दै छन्। ३९ बर्षिय पौड्याल विगत चार बर्षदेखि नविन र सुसंस्कृत राजनीतिक अभियानमा क्रियाशील छन्। पौड्यालले त्रिभुवन बिश्वबिद्यालयबाट समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर एवं नेदरल्याण्डस् स्थित वागनिगन युनिभर्सिटीबाट विकास ब्यबस्थापन विषयमा स्नातकोत्तर गरेका छन्। पौड्याल पार्टीको केन्द्रीय संयोजन समिति सदस्य एवं प्रवक्ता हुन्।

२)शोभा शाक्य (ललितपुर)
गत स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको उपमेयर पदमा प्रतिस्पर्धा गरेकी शाक्यले सम्मानजनक मतसहित दोश्रो स्थान हासिल गरेकी थिईन्। विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार र सम्मानबाट सम्मानित शाक्यले विभिन्न सामाजिक संस्थाहरुको नेतृत्व गरेकी छन्। महिला उत्थान र शसक्तिकरणमा बिभिन्न भूमिका खेलेकी शाक्य बुद्ध शिक्षाबाट विशेष प्रभावित छिन्। शाक्य पार्टीकी केन्द्रीय सदस्य हुन्।

३)विराज भक्त श्रेष्ठ (काठमाडौं)
काठमाडौँको इन्द्रचोकमा जन्मिएका विराज भक्त श्रेष्ठ पार्टीका केन्द्रीय सदस्य हुन्। उनी सानै उमेरदेखि सामाजिक काममा सक्रिय थिए। विद्यालयस्तरमा रेडक्रसको अध्यक्ष बनेका श्रेष्ठ अहिले पनि सम्पदा संरक्षण लगायत विभिन्न सामाजिक सेवाका कामहरुमा आवद्ध छन्। व्यवस्थापन अध्ययन गरेका श्रेष्ठले विभिन्न संघ-संस्थामा व्याबस्थापकका रूपमा पनि नेतृत्व गरेका छन्।

 

सूर्यराज आचार्य

प्रवक्ता, विवेकशील साझा पार्टी

१३ पौष २०७४

संघीय एवं प्रादेशिक निर्वाचन सम्पन्न भएबारे

मुलुकको नयाँ संवैधानिक व्यवस्था अनुसार राज्यका दुइवटा महत्वपूर्ण संरचनाहरु क्रमश: प्रतिनिधिसभा र प्रदेशसभा संसदको निर्वाचन संपन्न भइ नतिजा समेत सार्वजनिक भएको छ। सर्वप्रथम यस निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र मर्यादित ढंगबाट संपन्न गर्न अहं भूमिका खेल्ने निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, सरकार, मतदाता, राजनीतिक दलहरु आदि सबै जिम्मेवार निकायहरुलाई हार्दिक आभार सहित धन्यवाद दिन चाहान्छौं। र, यसै निर्वाचन मार्फत मुलुकको राजनीतिक संक्रमणकाल समाप्त भएर मुलुक नयाँ राजनीतिक दिशातर्फ अग्रसर हुने विश्वास पनि हामीले लिएका छौं।

सर्वविदितै छ, विवेकशील साझा पार्टीले पनि यसपटक राष्ट्रिय पार्टी बन्ने लक्ष्य सहित निर्वाचनमा भाग लिएको थियो। तर लक्ष्यको सन्निकट पुगे पनि प्राविधिक रुपमा हामीले निर्धारित लक्ष्य हासिल गर्न सकेनौं। तैपनि भर्खरै आरम्भ गरिएको छोटो राजनीतिक यात्रा, स्थानीय तहसम्म चलायमान सांगठनिक संरचनाको अभाव तथा परम्परागत चुनावी रणनीतिको वर्चश्वको बीचबाट समेत विवेकशील साझाले प्राप्त गरेको विश्वासको मत मूल्यवान र दुरगामी प्रकृतिको मत हो भन्ने कुरामा हामी विश्वस्त छौं। र, प्राविधिक रुपमा हामी राष्ट्रिय पार्टी बन्न चुके पनि आम नागरिकको अपार माया, विश्वास तथा समर्थनले आम नागरिकले हामीलाई राष्ट्रिय पार्टीको दर्जामा राखिसकेको महशुस हामीलाई भएको छ र हामीलाई मत दिने सम्पूर्ण मतदाताहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं। निर्वाचनमा तपाँइहरुले दिएको मतले हामीलाई अझ जिम्मेवार बन्न र आफ्नो लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्न अभिप्रेरित गरिरहनेछ।

नागरिकको अपार स्नेह, विश्वास र सद्भावलाई सदैव मनमा राखेर हामीले सामाजिक रुपान्तरणको अभियानलाई निरन्तर अघि बढाउने छौं। यस क्रममा मुलुक र मुलुक बाहिर रहनुभएका सबै तह र तप्काका नागरिक समुदायसँग हाम्रो नियमित छलफल, अन्तर्क्रिया र भेटघाट हुने नै छ। सामाजिक-राजनीतिक जागरणको यस महाअभियानमा साथ र संलग्न हुनुभएका पार्टीका शुभेच्छुक, सदस्य र नेतृत्वकर्ता साथीहरु, ‘सुसंस्कृत राजनीतिको लागि सफा धन’ भन्ने हाम्रो अर्थ संकलन नीतिलाई आत्मसात गर्दै हामीलाई आर्थिक सहयोग गर्नुहुने महानुभावहरु तथा यस निर्वाचन अभियानमा प्रत्यक्ष / अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण सहयोगी व्यक्तित्वहरु प्रति हामी आभारी छौं। अन्त्यमा, अब गठन हुने सरकारले विकास र संवृद्धिको नागरिक आंकाक्षालाई संबोधन गर्न सकोस् भन्ने सदीक्षासहित शुभकामना व्यक्त गर्न चाहान्छौं।

नेपाल र नेपालीको जय होस् l धन्यवाद।

 

रमेश पौड्याल

प्रवक्ता, विवेकशील साझा पार्टी

०३ पौष २०७४