विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरण वार्ताबारे

विवेकशील नेपाली दल र साझा पार्टीका राजनीतिक संवाद समितिले दुई दलबिचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का रूपमा यहि २०७७ असोज २९ गते साझा पार्टिका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएको थियो।

आजै साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका अध्यक्षले आआफ्नो पार्टीको संघिय/केन्द्रीय समितिमा उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।

सुसंस्कृत राजनीति, सुशासन, भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता, समतामूलक संवृद्धि र नेपाल रूपान्तरणको एउटै लक्ष्य बोकेका तथा आम नेपालीले वर्तमानको विकृत राजनीतिको विकल्पका रूपमा हेरेका यी दुई पार्टी एक भएको देख्न चाहेको सर्वविदित नै छ।
विगतमा भएका आफ्ना कमजोरीलाई स्विकार्दै तथा जनभावनाको कदर गर्दै २०७७ असार ३१ गतेदेखि दुवै पार्टीले एकीकरण वार्ता शुरू गरेका थिए।

उक्त प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय/सङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आ-आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउनेछ।

वार्ता प्रक्रियामा साथ र सहयोग दिनुहुने पार्टी नेत्रित्वका साथै वार्ताको माहौल बनाउन सकारात्मक भुमिका खेल्नुहुने दुवै पार्टीका सदस्य पङ्तीलाई हामी धन्यवाद ज्ञापन गर्दछौं। दुवै पार्टीका समर्थक, शुभचिन्तक तथा बैकल्पिक राजनीति प्रति भरोसा राख्ने तमाम नेपाली नागरिकप्रति आभार प्रकट गर्दछौं।

निर्देश सिलवाल संवाद समिति संयोजक, विवेकशील नेपाली दल

समीक्षा बास्कोटा
संवाद समिति संयोजक,
साझा पार्टी
मिति: ०४ कार्तिक २०७७

 

4