साझा विवेकशील संक्षेपमा

हाम्रो नाम: साझा विवेकशील पार्टी (संक्षेप/बोलिचालीमा: साझा पार्टी)

हाम्रो झण्डाको रङ्ग, चुनाव चिह्न र लोगो: नीलो पृष्ठभूमिमा सेतोमा अङ्कित तराजु (सन्तुलन र न्यायको प्रतीक)

हाम्रो दर्शन/हाम्रो वाद: कल्याणकारी लोकतन्त्र (Welfare Democracy)*

हाम्रो लक्ष्य: सुसंस्कृत राजनीति, समतामूलक संवृद्धि (Cultured Politics, Equitable Prosperity)

हाम्रो मार्गदर्शक सिद्धान्त: सहभागितामूलक लोकतन्त्र (Participatory Democracy)*, कल्याणकारी राज्य (Welfare State)*, समन्वयात्मक बजार अर्थतन्त्र (Coordinated Market Economy)*, सामाजिक न्याय (Social Justice)

हाम्रो मूल्यमान्यता: पद्धति (System), पारदर्शिता (Transparency), इमानदारी (Integrity), उत्कृष्टता (Meritocracy) अर्थात STIM

हामी किन अस्तित्वमा आयौँ?
विश्वमा हामीभन्दा अति नै प्रतिकूल अवस्थामा भएका देशले द्रुत गतिमा प्रगति गर्दा र नेपाल चाहिँ स्रोत-साधनले सम्पन्न देश हुँदाहुँदै पनि हामी अत्यन्तै विपन्न रहिरह्यौँ। सरकार सधैं अस्थिर र भ्रष्ट रह्यो। दशकौँसम्म राजनीति गरेका दल र तिनका सबै भनेजसो नेताले स्थिर, सुसंस्कृत र विकासमुखी राजनीतिको भरपर्दो कुनै संकेत देखाएनन्। हामी सुसंस्कृत राजनीतिको बलियो जगसहित उत्पादनमुखी समाज र दिगो विकासका लागि उपलब्ध सबै अवसरको पूर्ण सदुपयोग गरी एकै पुस्तामा नेपाललाई रूपान्तरण गर्ने दृढ विश्वास बोकेर अस्तित्वमा आएको हौँ।

साझा पार्टी नै किन? हामी कसरी फरक छौँ?
साझा पार्टी नेपालमा जन्मेर, नेपालमै हुर्केर, नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखी नेपालीको बोली बोल्ने पार्टी हो। हामीले परम्परागत ‘वाद’प्रतिको जडसूत्रीय लगावभन्दा समकालीन समाजका आकांक्षा प्रतिबिम्बित हुने राजनीतिक दर्शन, मार्गदर्शक सिद्धान्त र मूल्यमान्यता अवलम्बन गरेका छौँ। विधिको शासन हाम्रो मन्त्र हो। अहिंसात्मक राजनीति, भ्रष्टाचारमुक्त, समावेशी र समतामूलक समाज हाम्रो प्रतिबद्धता हो। हामी लोकतान्त्रिक संविधानको सर्वोच्चतामा मन, वचन र कर्मले विश्वास गर्छौँ। हामी राजनीति पेशा होइन, सेवा हो भन्नेमा दृढ विश्वास राख्दछौँ। पार्टी र सत्ताको नेतृत्वमा उत्कृष्ट र क्षमतावानहरूको सहभागितालाई हामी उच्च प्राथमिकताका साथ प्रवर्धन गर्छौँ।

हामी “आचरणगत रूप”मा फरक छौँ। हाम्रा नेताहरू बलियो नैतिक जगमा उभिएका स्वाभिमानी र क्षमतावान् व्यक्तित्वहरू हुनुहुन्छ। नेपाली राजनीति बिग्रिनाको मूल कारण पार्टी नेतृत्वमा आधारभूत मूल्यमान्यताहरूमा क्रमिक ह्रास आउनाले हो। त्यसैले हाम्रो नेतृत्व र सम्पूर्ण पार्टी पङ्क्तिलाई सुसंस्कृत राजनीतिक अभ्यासमा अडिग राख्न “पद्धति (System), पारदर्शिता (Transparency), इमानदारी (Integrity) र उत्कृष्टता (Meritocracy)” अर्थात् STIM का चार मूल्यमान्यतालाई हाम्रो खम्बा मानेका छौँ। हामी सधैँ ती चार खम्बाको जगमा उभिनेछौँ।

हामी “संगठनात्मक रूप”मा फरक छौँ। हाम्रो पार्टीमा इमानदार नेतृत्व क्षमता देखाउने व्यक्तिलाई उच्च नेतृत्वमा पुग्न दसौँ वर्ष लाग्दैन। पार्टीमा संलग्न भएको केही वर्ष भित्रमै आफूलाई प्रमाणित गर्न सकेको खण्डमा त्यस्ता व्यक्तिले उच्च नेतृत्वमा प्रतिस्पर्धा गर्न पाउने छन्। देश रूपान्तरणमा युवाहरुको यथोचित प्रतिनिधित्वका लागि हामीले पार्टीको तल्लोदेखि केन्द्रीय तहसम्म ४० प्रतिशत स्थान आरक्षण गरेका छौँ। त्यसै गरी हामी चुनिएका प्रतिनिधिलाई (दुई-तिहाइ बहुमतले) फिर्ता बोलाउन पाउने (राइट टु रिकल) तथा कोही पनि उम्मेदवार उपयुक्त छैनन् (राइट टु रिजेक्ट) भन्न पाउने जस्ता अधिकारहरू सुनिश्चित गरेका छौँ। आन्तरिक लोकतन्त्रको अभ्यासमा हामी तलबाट माथि (बटम-अप) को अवधारणालाई उचित महत्त्व दिन्छौँ।

हामै “बैचारिक रूप”मा पनि फरक छौँ। हामीले हाम्रो दर्शनलाई कल्याणकारी लोकतन्त्र भनेका छौँ; जसमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, न्यून आय भएकाहरूका लागि आवास र सार्वजनिक यातायातजस्ता विषय मूलरूपमा राज्यको दायित्व हुन्छ। कल्याणकारी लोकतन्त्र नेपाली राजनीतिमा नयाँ दर्शन हो तर विश्व राजनीतिमा गएको १०० वर्षको अर्थ-राजनीतिक अभ्यासलाई हेर्ने हो भने कल्याणकारी लोकतन्त्र सुसंस्कृत, संवृद्ध, सुखी र खुसी देशको अभिन्न पाटो बन्दै आएको छ। हामीले अवलम्बन गरेका मूल्यमान्यता, लक्ष्य र विचार तथा हामीसँग भएको नेतृत्वले नेपाललाई एकै पुस्ताभित्र रूपान्तरण गर्न सक्छ भन्ने हाम्रो विश्वास हो।

हामी के गर्दैनौँ?
हामी बन्द-हडताल, विध्वंसात्मक तथा हिंसात्मक आन्दोलन जस्ता विकृत राजनीतिक गतिविधि गर्दैनौँ। कर्मचारी, डाक्टर, इन्जिनियर, वकिल, शिक्षक, प्राध्यापक, पत्रकार जस्ता पेशाकर्मी तथा विद्यार्थीहरूको भगिनी संगठन खोल्दैनौँ। राजनीतिलाई कुनै पनि आवरणमा राज्य स्रोतको दोहन गर्ने माध्यम बनाउँदैनौँ। सामाजिक जनजीवनलाई अनावश्यक रूपमा राजनीतिकरण गर्दैनौँ।

दर्शन र मार्गदर्शक सिद्धान्तमा प्रयुक्त केही शब्दावलीको संक्षिप्त व्याख्या

कल्याणकारी लोकतन्त्र
साझा पार्टीले आत्मसात गरेको मार्गदर्शक सिद्धान्त (सहभागितामुलक लोकतन्त्र, समन्वयात्मक बजार अर्थतन्त्र, कल्याणकारी राज्य र सामाजिक न्याय) लाई हामीले समष्टिगत रूपमा हाम्रो दर्शन अर्थात् ‘कल्याणकारी लोकतन्त्र’ भनेका छौँ। कल्याणकारी लोकतन्त्र लोकतन्त्रप्रतिको असन्तुष्टि या अविश्वासलाई लगभग निमिट्यान्न पारेर समतामूलक समाज स्थापना गर्ने संवृद्ध पुँजीवाद हो। कल्याणकारी लोकतन्त्र समाजवादको विकृत र बेअर्थी अभ्यास, साम्यवादमुखी भय, पुँजी आर्जनमा अंकुशको डर, तानाशाही प्रवृत्तिको प्रवर्धनजस्ता सबै प्रदूषणबाट मुक्त छ। कल्याणकारी लोकतन्त्र नव उदारवाद र समाजवादबीचको तेस्रो धार (द थर्ड वे) हो जसले नव उदारवादमा मानवीयताको लेप लगाउँछ तर समाजवादका जडताहरूलाई अस्विकार गर्दछ।

कल्याणकारी राज्य
हामी शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, न्यून आय भएकाहरूका लागि आवास र सार्वजनिक यातायातमा राज्यको प्रत्यक्ष भूमिका हुनुपर्छ भन्नेमा विश्वास गर्दछौँ। हाम्रो विगतको राज्य व्यवस्थाको संरचना र सञ्चालन पद्धतिमा सबै नेपाली नागरिकले समान र न्यायपूर्ण अवसर नपाएको सन्दर्भमा कल्याणकारी राज्यले समाजिक न्यायका हकमा अहम् महत्त्व राख्दछ। राज्यका नीति र कार्यक्रममा सामाजिक न्यायका आधारभूत मान्यता प्रतिबिम्बित हुन सकेनन् भने समग्र राज्य संयन्त्र अभिजात वर्गको पृष्ठपोषकको रूपमा स्थापित हुन्छ र समाजमा आर्थिक-सामाजिक असमानता बढ्दै जन्छ। तसर्थ, अवसरको अन्तिम बिन्दुमा आलङ्कारिक समावेशीता खोज्नुभन्दा पनि आधारभूत अवसर नै समतामूलकरूपमा वितरण गरी पिछडिएका वर्ग, लिङ्ग र जातिको दिगो, द्रुत र सम्मानजनक उत्थानमा साझा पार्टी प्रतिबद्ध छ। अवसरको वितरणमा पिछडिएका जात र समुदायमा पनि तल्लो आर्थिक वर्ग र समूहलाई समवेशीताको पहिलो प्राथमिकतामा राखिने छ।

सहभागितामूलक लोकतन्त्र
जनताको भूमिका प्रतिनिधि निर्वाचन गर्नेमा मात्र सीमित नभएर पार्टी वा राज्य सञ्चालनमा अधिकतम सुनिश्चितिताका लागि हामीले सहभागितामूलक लोकतन्त्रलाई मार्गदर्शक सिद्धान्तका रुपमा अङ्गीकार गरेका हौँ। सहभागितामूलक लोकतन्त्रको मूल मान्यता नै नागरिक सार्वभौम र सर्वशक्तिमान हुन् र तिनको संख्यात्मक, गुणात्मक र समावेशी सहभागिताले मात्र राज्यले नागरिक हितको साझा लक्ष्य हासिल गर्छ भन्ने हो। उम्मेदवार चयनमा अवलम्बन गरिने प्राथमिक निर्वाचन (प्राइमरी), फिर्ता बोलाउन पाउने (राइट टु रिकल) र कोही पनि उम्मेदवार उपयुक्त छैनन् भन्ने अधिकार (राइट टु रिजेक्ट) जस्ता व्यवस्थाले लोकतन्त्रलाई वास्तवमैँ वलियो र सहभागितामूलक बनाउँछ। विविधतायुक्त नेपालको परिप्रेक्षमा लोकतन्त्रको सहभागितामूलक मोडेल सबैभन्दा उपयुक्त मोडेल हो भन्ने हाम्रो बुझाइ हो। साझा पार्टीले महाधिवेशनपश्चात् पार्टीका सबै अङ्ग-प्रत्यङ्गहरू निर्माण भइसकेपछि सहभागितामूलक लोकतन्त्रको सक्दो अभ्यास गर्नेछ। तर हाल पार्टी निर्माणको चरणमा भएकोले यसका सीमितताहरूलाई पार्टीले मनन गरेको छ।

समन्वयात्मक बजार अर्थतन्त्र
समन्वयात्मक बजार अर्थतन्त्रले खुला बजार प्रणालीको सिर्जनशीलता र समाजका चासोबीच समन्वय कायम गरी अर्थतन्त्रलाई प्रभावकारी बनाउने कार्यलाई आत्मसात गरेको हुन्छ। यो सिद्धान्तले उद्यमशिलता र उत्पादनशीलताका लागि खुला बजार प्रणालीलाई प्रवर्द्धन गर्नुका साथै वैज्ञानिक नियमन पद्धतिमार्फत खुला बजार प्रणालीका कमी-कमजोरीलाई निराकरण गर्दछ। आर्थिक गतिविधि तथा त्यसका नतिजालाई छिटो, छरितो, प्रभावकारी, उत्पादनमुखी र व्यापक बनाउनका लागि राज्यको समन्वयकारी भूमिकामा विशेष जोड दिँदा अर्थतन्त्र बढी चलायमान हुन्छ र त्यसले ‘सिण्डिकेट’, ‘कार्टेलिङ्ग’ तथा अन्य दोहनकारी चरित्रलाई अन्त्य गर्न सघाउ पुर्याउँछ। समन्वयात्मक बजार अर्थतन्त्र साझा पार्टीले परिकल्पना गरेको ‘समतामूलक संवृद्धि’का लागि सहयोगी हुन्छ भन्ने हाम्रो विश्वास हो। सामान्यतया जर्मनी, जापान, नर्वे, स्विडेन, फिनल्याण्ड, नेदरल्याण्डस्, अस्ट्रिया तथा स्विट्जरलण्ड जस्ता देशहरूलाई समन्वयात्मक बजार अर्थतन्त्रको उदाहरणका रूपमा लिने गरिन्छ।