साझा विवेकशील पार्टी (छोटकरीमा, साझा पार्टी)
अन्तरिम विधान — २०७६

साझा पार्टीको सांगठनिक विशेषताहरु

साझा पार्टी एक्काइसौं शताब्दी अनुकुल नवीन सिद्धान्त, सोच, संगठन तथा सुसंस्कृत राजनीति गर्ने पार्टी हो। साझा पार्टीको संगठनात्मक सिद्धान्तको जग भनेको आन्तरिक लोकतन्त्रको अभ्यास र प्रत्याभूति हो। त्यसकारण पार्टीले खासगरी महाधिवेशनद्वारा पार्टी संस्थागत भएपछि आन्तरिक लोकतन्त्रको अभ्यासलाई सहभागितामुलक बनाउने संरचनामाथि विशेष जोड दिएको छ। यसको लागि पार्टी निर्माणको प्रक्रियामा जोडिने आधारभूत तत्वहरुलाई कसरी परिभाषित गर्ने र व्यवहारमा कार्यान्वयन गर्ने भन्ने कुरामा पार्टीले औपचारिक लोकतान्त्रिक अभ्यासलाई प्रत्यक्ष लोकतान्त्रिक अभ्यासद्धारा प्रतिस्थापन गर्ने सिद्धान्तलाई अंगिकार गरेको छ। यही मुल मर्मका साथ संगठनका संचालन विधिका विशेषताहरु अन्तरनिहित रहेका छन्।

१. साझा पार्टीको सांगठनिक संरचना सहभागितामुलक, कल्याणकारी लोकतन्त्र, समन्वयात्मक बजार अर्थतन्त्र तथा समावेशी सिद्धान्तको आधारमा निमार्ण गरिनेछ।

२. साझा पार्टीका सदस्यहरु सार्वभौम हुनेछन्। उनीहरु समावेशी, सहभागितामुलक तथा प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्नेछन्। रचनात्मकता, सिर्जनशीलता र उद्यमशीलता पार्टी सदस्यहरुको मुल चरित्र हुनेछ।

३. सबै तहगत कार्यकारी सदस्यहरु निर्वाचन नियमावली अनुसार स्थानीय, प्रादेशिक तथा केन्द्रिय तहको प्रत्यक्ष निर्वाचनद्वारा निर्वाचित हुनेछन्। केन्द्रीय तहमा विदेशमा रहेका पार्टी सदस्यहरुले समेत प्रत्यक्ष मतदान गर्न पाउनेछन्।

४. प्रादेशिक तथा केन्द्रिय समितिमा रहेका कार्यकारी पदाधिकारीहरु प्रतिनिधिमुलक निर्वाचन प्रणालीद्धारा निर्वाचित हुनेछन्। र, प्रत्येक तहगत समितिका पदाधिकारीहरु बढीमा दुइपटक र सदस्यहरू तीनपटकसम्म मात्र उही पदमा उम्मेदवार बन्न पाउनेछन्।

५. साझा पार्टीका सदस्यहरुलाई निर्वाचन नियामावलीले तोके अनुसार अस्वीकार गर्ने अधिकार तथा तहगत समितिका सदस्यहरुलाई फिर्ता बोलाउने अधिकार सुनिश्चित गरिनेछ।

६. साझा पार्टीले सबै जात–जाति, क्षेत्र, लिङ्ग, वर्गको समावेशी, समानुपातिक र सहभागितामुलक प्रतिनिधित्वको सुनिश्चित गर्नेछ। साथै स्थानीय, प्रादेशिक तथा संघीय समितिहरुमा युवाहरुको ४० प्रतिशत सहभागितालाई सुनिश्चित गरिनेछ।

७. पार्टीका सबै तहगत निर्वाचनहरु गोप्य मतदानको आधारमा गरिनेछ। तर, पार्टीका वैचारिक तथा नीतिगत विषयहरुमा हुने मतदानहरु खुल्ला हुनेछन्। विचारको मतदानको आधारमा पार्टीमा कुनै पनि प्रकारको भेदभाव गरिने छैन। अल्पमतको विचारलाई पनि उत्तिकै सम्मान सहित अभिलेख गरिनेछ।

८. पार्टीका हरेक गतिविधि तथा सांगठनिक संरचनाहरुमा पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टतालाई विशेष प्राथमिकता दिइनेछ र त्यसको लागि निश्चित मापदण्डहरु तय गरिनेछ।

९. पार्टीभित्र विचारहरु राख्ने, फरक मत दर्ता गर्ने तथा पार्टीको निर्णयानुसार बहस चलाउने अधिकार हुनेछ तर वैचारिक अभिव्यक्तिको स्वतन्त्रतालाई वहुमतको निर्णयानुसार काम–कारवाहीमा भने एकरुपता अपनाउनु पर्नेछ।

१०. पार्टी संरचनामा शक्तिको पृथकिकरण, नियन्त्रण र सन्तुलनको ब्यवस्था अपनाइनेछ। तहगत समितिहरुले कार्यकारी भूमिका खेल्नेछन् भने महाधिवेशनले विधायिकी अधिकार प्रयोग गर्नेछ। न्याय तथा सुशासन आयोग, निर्वाचन आयोग, नीति आयोग तथा लेखापरिक्षण आयोगले स्वतन्त्र आयोगको रुपमा कार्य गर्नेछन्।

११. राज्यका विभिन्न तहगत निर्वाचनहरुमा उम्मेदवार छनोट गर्दा पार्टीको आन्तरिक तहमा प्रारम्भिक निर्वाचनको व्यवस्था गरिनेछ।

१२. कुनै पनि सदस्यको उमेर ६५ बर्ष पुगिसकेको छ भने उसलाई कार्यकारी पदहरुबाट निवृत्त हुने व्यवस्था गरिनेछ। तर उसको क्षमता र विज्ञताको आधारमा सरकारका अंगहरु अथवा पार्टीका गैर-कार्यकारी अंगहरूमा सेवाका लागि भने उमेरको हदबन्दी लगाइने छैन।

१३. शिक्षक, विद्यार्थी, कर्मचारी, प्राध्यापक, मजदुर लगायत कुनै पनि पेशागत आंगिक संगठनहरु निर्माण गरिनेछैन। तर युवा, महिला र जेष्ठ नागरिकहरुका विशिष्ट समस्याहरुलाई रचनात्मक ढंगबाट समाधानको लागि उनीहरुलाई स्वतन्त्र ढंगले संगठित हुन दिइनेछ।

१४. पार्टीका सम्पूर्ण आर्थिक गतिविधिहरु बैंकमार्फत संचालित हुनेछन्। कुनै पनि व्यक्ति वा संस्थाबाट लिइने आर्थिक सहयोगको पारदर्शी अभिलेख राखिने छ। अज्ञात रहन चाहने दाताको पार्टीले आन्तरिक अभिलेख राख्नेछ र आवश्यक परेको खण्डमा अधिकारप्राप्त सरकारी निकायलाई सो उपलब्ध गराउने छ। कुनै निश्चित सीमाभन्दा माथि सहयोग गर्ने व्यक्ति वा संस्थालाई ‘स्वार्थको बझान’ पत्रमा हस्ताक्षर गर्न प्रोत्साहित गरिनेछ।

१५. लैंगिक विभेद, जातीय विभेद, छुवाछुत, भाषिक विभेद, यौनिक अल्पसंख्यकमाथिको विभेद, फरक क्षमता भएका व्यक्तिहरुमाथिको विभेदजस्ता सामाजिक विभेदहरुप्रति शून्य सहनशीलता अपनाइनेछ। त्यस्तै हिंसा, बालश्रम, रोग, रंग, वर्णप्रतिको विभेद आदि कार्यलाई दण्डनीय कार्य मानिनेछ।

प्रस्तावना
मुलुकमा पटक पटक राजनीतिक मान्यता, शासन व्यवस्था तथा सरकार परिवर्तन भए; तर विकास र संवृद्धिको लागि विरलै प्राप्त हुने स्रोतहरू मुलुकभित्रै प्रशस्त उपलब्ध हुँदाहुँदै पनि नेपालले दशकौंदेखि लोकतन्त्रको संस्थागत विकास, आर्थिक संमृद्धि र राजनैतिक स्थिरता प्राप्त गर्न नसकेकोले,

समाजका हरेक पक्षमा अवाञ्छित दलिय राजनीतिकरण, भ्रष्टाचार र राज्यदोहनको कुचक्रबाट देशलाई मुक्त गर्नका लागि सेवामुखी सुसंस्कृत राजनीतिक अभ्यास स्थापना गर्न,

राजनीतिक पद्धतिको निर्माण, राजनीतिक/आर्थिक/सांगठनिक एवं प्रशासनिक पारदर्शिता, क्षमताको आधारमा योग्य र इमान्दार व्यक्ति उपयुक्त ठाउँमा पुग्ने वातावरणको सिर्जना र संवैधानिक लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा आधारित राजनीतिद्वारा मुलुकको आर्थिक/सामाजिक रूपान्तरण गर्न,

नेपाली राजनीतिमा आवश्यक पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टता जस्ता मूल्य र मान्यतामा आधारित भएर अधिकतम नागरिक सहभागिताको राजनीतिक संस्कारद्वारा नेपाली नागरिकका अपेक्षालाई यथाशीघ्र सम्बोधन गर्न,

विद्यमान अपारदर्शी, अनुत्तरदायी, भ्रष्ट र व्यक्ति केन्द्रीत राजनीतिक संस्कारमार्फत संविधान प्रेरित आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तनको अपेक्षा गरेर बस्ने हो भने दशकौंसम्म पनि हाम्रो स्वतन्त्रता, स्वाधिनता र आर्थिक संवृद्धिको चाहना पुरा हुन नसक्ने परिस्थितिलाई दृष्टिगत गर्दै, विश्वव्यापी वहुलवादी खुला समाजमा आधारित, कल्याणकारी लोकतन्त्र तथा समन्वायत्मक बजार अर्थतन्त्रबाट निर्देशित हुँदै समतामूलक संवृद्धि हासिल गरी,

एकै पुस्तामा नेपालको रुपान्तरण गर्ने लक्ष्यका साथ साझा पार्टीको स्थापना गरेका छौँ।

भाग– १
प्राथमिक

१. नाम, आदर्श र प्रारम्भ
१.१ यस विधानको पुरा नाम ‘साझा विवेकशील पार्टीको अन्तरिम विधान – २०७६’ र छोटकरीमा साझा पार्टीको अन्तरिम विधान – २०७६ रहनेछ । अंग्रेजीमा यसलाई (Interim constitution of Sajha Bibeksheel Party – 2019, in short, Interim Constitution of Sajha Party – 2019) भनिनेछ।
१.२ यो विधान तुरुन्त प्रारम्भ हुनेछ र साझा पार्टीको सम्पूर्ण काम यही विधान अनुसार हुनेछ।
१.३ यो विधानको पालना गर्नु सम्पूर्ण सदस्यको कर्तव्य हुनेछ।

२. परिभाषा
‘विषय’ वा ‘प्रसंग’ले अर्को अर्थ नलागेमा यस विधानको सामान्य परिभाषा देहाय बमोजिम हुनेछ–
२.१ ‘पार्टी’ भन्नाले ‘साझा पार्टी’ भन्ने बुझिनेछ।
२.२ ‘विधान’ भन्नाले ‘साझा पार्टी’को विधान बुझिनेछ।
२.३ ‘नियमावली’ भन्नाले ‘साझा पार्टीको नियमावली’ बुझिनेछ।
२.४ ‘सदस्य’ भन्नाले साझा पार्टीको सदस्यलाई बुझाउनेछ।
२.५ ‘संयोजक’ तथा ‘उप–संयोजक’ भन्नाले साझा पार्टीका केन्द्रीय लगायत विभिन्न तहगत समितिका संयोजक तथा उप–संयोजकहरुलाई बुझाउनेछ।
२.६ ‘समिति’ भन्नाले साझा पार्टीका तहगत समितिहरुलाई बुझाउनेछ।
२.७ ‘कार्यालय’ भन्नाले साझा पार्टीका विभिन्न तहगत कार्यालयलाई बुझाउनेछ।
२.८ ‘निकाय’ भन्नाले साझा पार्टीका विभिन्न तहगत समिति, विभाग वा पार्टी सम्बद्ध संस्थाहरुलाई बुझाउनेछ।
२.९ ‘आंगिक संगठन’ भन्नाले साझा पार्टी सम्बद्ध विभिन्न आंगिक संगठनहरुलाई बुझाउनेछ।
२.१० ‘संसदीय दल’ भन्नाले साझा पार्टीको संघीय प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रादेशिक सभाको संसदीय दललाई बुझाउनेछ।
२.११ ‘स्थानीय तहको समिति वा सभा’ भन्नाले नेपाल सरकारले निर्दिष्ट गरेको स्थानीय तह मानिएको गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका वा महानगरपालिकामा खोलिएको पार्टीको इकाईको समिति वा सभा बुझ्नुपर्नेछ।
२१.२ तहगत ‘सचिवालय प्रमुख’ भन्नाले ‘कार्यालय व्यवस्थापन’ प्रमुख बुझ्नुपर्नेछ।

३. उद्देश्यहरु
साझा पार्टीका देहाय बमोजिम उद्देश्यहरु हुनेछन्–
३.१ सार्वभौमसत्ता, राष्ट्रिय हित र एकतालाई सर्वोपरी राख्दै कल्याणकारी, समावेशी तथा सहभागितामूलक लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुर्याउने।
३.२ सुशासनयुक्त, जवाफदेही र भ्रष्टाचारमुक्त राज्य प्रणालीको निर्माण गर्ने।
३.३ अर्थतन्त्रलाई उद्वेलित पार्ने।
३.४ पूर्वाधार निर्माण र सम्बन्धित सेवा बिस्तारको लागि उपयुक्त नीति निर्माणमा जोड दिने।
३.५ गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको व्यवस्थालाई राज्यको प्रमुख दायित्वमा राखेर कल्याणकारी राज्यको निर्माण गर्ने।
३.६ प्रभावकारी भू–उपयोगको योजना तर्जुमा, कार्यान्वयन तथा वातावरण र सम्पदा संरक्षण गर्ने।
३.७ न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्ने।

४. कार्यालय
साझा पार्टीको कार्यालय अनुसुची– १ बमोजिमको स्थानमा रहनेछ।

५. झण्डा
साझा पार्टीको झण्डा यसै विधानको अनुसुची– २ बमोजिम हुनेछ।

६. चुनाव चिन्ह
साझा पार्टीको चुनाव चिन्ह यसै विधानको अनुसुची– ३ बमोजिम हुनेछ।

७. छाप
साझा पार्टीको छाप यसै विधानको अनुसुची– ४ बमोजिम हुनेछ।

भाग– २
सदस्यता
२.१ पार्टी विधानको अधिनस्थ रही सबै पार्टी सदस्यहरुलाई समान हैसियत तथा सार्वभौमिकता सहित एकै प्रकारको सदस्यता प्रदान गरिनेछ।
२.२ सदस्यहरुले साझा पार्टीको राजनीतिक कार्यक्रम, विधान तथा पार्टी अनुशासनको पालना गर्नुपर्नेछ। १८ वर्ष पुगेको जुनसुकै नेपाली नागरिकले वार्षिक सदस्यता शुल्क रु. १ सय बुझाएर पार्टीको कुनै पनि निकाय वा पार्टीको आधिकारिक अनलाइन फारम भरेर पार्टीको नियम बमोजिम रु. १ सय शुल्क बुझाएर सिधैं पार्टी सदस्यता लिन सक्नेछन्।
२.३ प्राप्त भएको सदस्यता संख्याको अद्यावधिक विवरण प्रत्येक ६/६ महिनामा सम्बन्धित समिति तथा पार्टी केन्द्रले सार्वजनिक गर्नेछ।
२.४ कुनै व्यक्ति आफ्नो स्थायी बसोबास भएको ठाउँमा वा अस्थायी बसोबास भएको ठाउँमा सदस्य बन्न सक्नेछन्। तर कुनै पनि समयमा एक भन्दा बढी ठाउँको सदस्य हुन सक्दैनन्। साथै, कुनै सदस्यले आफ्नो बासस्थान परिवर्तन गरेपश्चात सम्बन्धित समितिमा जानकारी गराउनु पर्नेछ।

सदस्यताको लागि योग्यता
२.५ पार्टीको विधान, सिद्धान्त र नीतिहरुलाई समर्थन र सहयोग गर्न तयार हुने १८ वर्षभन्दा माथिको नेपाली नागरिकले तोकिएको आवेदन फारम र सदश्यता शुल्क बुझाएर पार्टीको कुनै पनि तहबाट वा सिधैँ अनलाइनबाट सदस्यता प्राप्त गर्न सक्नेछ। सदस्यता प्राप्त गर्नको लागि निम्न शर्तहरु पालना गर्नुपर्नेछ–
२.५.१ नेपालको निर्वाचन आयोगमा दर्ता भएको अन्य कुनै राजनीतिक दलको सदस्य नभएको।
२.५.२ दलको मूल्य मान्यता विपरित रहेको कुनै पनि संस्थाको सदस्य नभएको।
२.५.३ नैतिक पतन हुने फौजदारी मुद्दामा अदालतबाट दोषी ठहर नभएको।
२.५.४ भ्रष्टाचार सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर नभएको।
२.६ विशिष्ट व्यक्ति तथा अन्य पार्टीहरुबाट प्रवेश गर्ने केन्द्रीय नेताको हकमा भने केन्द्र वा प्रदेश तहको समितिको सिफारिसको आधारमा मात्र सदस्यता प्रदान गरिनेछ। अन्यको हकमा भने पार्टीका सम्बन्धित समितिहरुको निर्णय अनुसार गरिनेछ।

सदस्यताको विवाद, निरुपण तथा खारेजी
२.७ सदस्यता सम्बन्धी कुनै पनि विवरण, विवाद वा तत्कालिन समस्याहरुको सुनुवाइ र निर्णयहरु पार्टी केन्द्र तथा प्रत्येक वडा समितिमा रहेको ‘पार्टी सदस्यता सुनुवाई समिति’ मार्फत गरिनेछ। त्यहाँ पनि चित्त नबुझेमा पार्टीको ‘न्याय तथा सुशासन आयोग’मा पुनरावेदन गर्न सकिनेछ।
२.८ पार्टीको स्थानीय, प्रदेश वा राष्ट्रिय तहको न्याय तथा सुशासन आयोग/समितिले सदस्यता खारेजी वा निलम्बन गर्न सक्ने अधिकार राख्दछ।
२.९ देहायको अवस्थामा सदस्यता समाप्त हुन सक्नेछ–
२.९.१ मृत्यु भएमा।
२.९.२ स्वेच्छाले दल परित्याग गरेमा।
२.९.३ न्याय तथा सुशासन आयोग/समितिको कारवाहीबाट निष्काशित भएमा।
२.९.४ तोकिए बमोजिमको सदस्यता नवीकरण नगरेमा।
२.९.५ दफा २.५ मा रहेको प्रावधान पालना नभएमा।
२.१० जुनकारणले सम्बन्धित व्यक्तिको सदस्यता खारेज भएको हो, छानविनपछि निर्दोष पाइएमा वा कारवाहीको अवधि पूरा गरेमा उसले पुन सदस्यता प्राप्त गर्न सक्नेछ।
२.११ अन्यत्र जेसुकै लेखिएको भए तापनि नैतिक पतन हुने फौजदारी मुद्दामा वा भ्रष्टाचार सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएमा पुन सदस्यता दिइने छैन।

सदस्यहरुको काम, कर्तव्य र अधिकार
२.१२ पार्टीको कार्यक्रम, विधान तथा नीतिप्रति प्रतिबद्ध रही पार्टीका राजनीतिक, सामाजिक तथा सांगठनिक कार्यक्रमहरुको पहल गर्ने र सक्रिय हुने।
२.१३ पार्टीको विभिन्न तहगत समितिका अधिवेशन वा अन्य निर्वाचनमा मतदान गर्ने र उम्मेदवारी दिने।
२.१४ पार्टीको निर्णय, निर्देशन र कार्यक्रमको अध्ययन गरेर प्रचार–प्रसार र कार्यान्वयन गर्ने तथा सम्बन्धित समितिहरुमा सल्लाह सुझाव दिने।
२.१५ पार्टी प्रदत्त आन्तरिक लोकतन्त्रको अधिकारलाई प्रयोग गर्दै पार्टीले गरेको कुनै पनि प्रकारको सजायको लागि प्रतिवाद, सुनुवाई र पुनरावेदनको अधिकारको अवलम्बन गर्ने।
२.१६ पार्टी सदस्यताको नवीकरण र नियमित रुपमा पार्टीको कार्यक्रमहरुप्रति सक्रियता, जिज्ञासा, अवलोकन, सल्लाह, सुझाव र रचनात्मक अलोचना गर्ने।

भाग– ३
तहगत संरचना
साझा पार्टीको सांगठनिक संरचना स्थानीय, प्रादेशिक र संघीय तह सहित ३ तहको हुनेछ।

स्थानीय तह
३.१ न्युनतम सात वा त्यसभन्दा बढी पार्टी सदस्यहरू भएको टोलमा स्वतस्फूर्त र समानान्तर हैसियतमा ‘टोल समिति’ निर्माण गर्न सकिनेछ। एक जना संयोजक सहित आपसी समझदारी वा मतदानबाट टोलका सदस्यहरुले टोल समितिको निर्माण गर्न सक्नेछन्।
३.२ कुनै पनि महानगर, उपमहानगर, नगर तथा गाउँपालिकाका वडाहरुमा रहेका पार्टी सदस्यहरुको साधारण भेलाले निर्वाचन वा समझदारीबाट एक जना संयोजक सहित बढीमा २५ जनासम्मको वडा समिति निर्माण गर्न सक्नेछ।
३.३ यसरी निर्माण भएको वडा तहले आफ्नै तहको श्रोत साधन प्रयोग गरेर कार्यालय स्थापना गर्न सक्नेछ।
३.४ पार्टीका सदस्यहरु न्यून रहेको वडाको हकमा कुनै पनि पार्टीको योग्य सदस्यलाई सम्बन्धित वडाको जिल्ला संयोजकले सम्पर्क व्यक्तिको रुपमा संयोजकको जिम्मा दिन सक्नेछ।
३.५ कुनै पनि महा–उप–नगर–गाउँपालिकामा ४० प्रतिशत वडाहरुमा वडा समिति निर्माण भइसकेपछि प्रत्येक वडाका संयोजकहरु पदेन सदस्यहरु रहने गरी एक जना संयोजक सहित बढीमा ३५ सदस्यीय महा–उप–नगर–गाउँपालिका समितिहरु निर्माण गर्न सकिनेछ।
३.६ न्यूनतम ४० प्रतिशत वडा समितिहरू निर्माण नभइसकेका महा–उप–नगर–गाउँपालिकाहरुको हकमा यदि उक्त गाउँपालिकामा पचास, नगरपालिकामा १ सय र उप–महानगरपालिकामा १ सय पचास जना पार्टी सदस्यहरु छन् भने उक्त महा–उप–नगर–गाउँपालिकामा दफा ३.५ बमोजिमको समितिहरु निर्माण गर्न सकिनेछ।
३.७ यसरी निर्माण भएका प्रत्येक समितिहरुलाई निर्वाचन आयोगको दल सम्बन्धी व्यवस्था अनुशार समावेशी बनाउनु पर्नेछ।
३.८ प्रदेश, जिल्ला, स्थानीय आदि कुनै पनि तहमा संयोजक नभएको स्थानमा केन्द्रीय सङ्गठन विभागको समन्वय र सहयोगमा कुनै पनि तहमा सङ्गठन निर्माणको प्रयोजनको लागि ‘सङ्गठन बिस्तार समिति’ र त्यही समितिकै एक जना सदस्यलाई संयोजन गर्ने ‘सम्पर्क व्यक्ति’ तोक्न सकिनेछ। तहगत समिति निर्माणसँगै सम्पर्क व्यक्तिको प्रयोजन स्वतः निस्क्रिय हुनेछ।
३.९ प्रत्येक महा–उप–नगर–गाउँपालिकाको कार्यलाई व्यवस्थित र गतिशिल बनाउनको लागि महा–उप-नगरपालिकाले बढीमा ११ तथा नगर–गाउँपालिकाहरुले बढीमा ९ सदस्यीय सचिवालय गठन गर्न सक्नेछन्।

महा–उप–नगर–गाउँपालिका समितिको काम, कर्तव्य र अधिकार
३.१० नियमित रुपमा पार्टीका तहगत समितिको बैठक गर्ने, कार्ययोजना बनाउने र कार्यान्वयन गर्ने।
३.११ सम्बन्धित स्थानीय तहको आवश्यकता र उपल्लो समितिको निर्णय समेतलाई दृष्टिगत गरी स्थानीय तहका निर्णयहरु गर्नुको साथै त्यसको कार्यान्वयन गर्ने र गराउने।
३.१२ प्रत्येक तहगत स्थानीय समिति अन्तर्गतका सदस्यहरुको काम र संख्याको रेकर्ड अध्यावधिक गर्ने र आवश्यक सल्लाह, सहयोग, निर्देशन दिने।
३.१३ स्थानीय तहको समितिको अगुवाइमा भएका प्रत्येक काम कारवाहीहरुलाई पार्टीको सम्बन्धित समितिबाट अनुमोदन गराउने र आवश्यक परेमा उपल्लो समितिमा पठाउने र मूल्यांकन गर्ने।
३.१४ प्रदेशको स्थानीय सरकारको काम कारवाहीप्रति चनाखो बनेर स्थानीय विकासमा सहभागी हुने, सरकारको गलत काममा आलोचना गर्ने र स्थानीय तहबाट हस्तक्षेप गर्ने।
३.१५ स्थानीय तहका सबै तहगत समितिहरुमा सचिवालय गठन गरी सदस्यहरुको कार्यविभाजन गर्ने।

जिल्ला समिति
३.१६ स्थानीय तहको पार्टी संगठन, संघीय संसद तथा प्रादेशिक संसदीय निर्वाचन क्षेत्रको कामलाई व्यवस्थित र संयोजन गर्नको लागि एक जना संयोजक सहित जिल्ला समिति गठन गरिनेछ।
३.१७ जिल्ला संयोजकको चयन सम्बन्धित जिल्लामा कार्यरत पार्टीका सक्रिय अभियन्ताहरुको छलफल र परामर्शमा संगठन विभाग र प्रदेश संयोजकको समन्वयद्धारा गरिनेछ।
३.१८ यसरी चयन भएको जिल्ला संयोजक पदेन रुपमा प्रादेशिक समितिको सदस्य हुनेछ।
३.१९ सम्बन्धित जिल्ला भित्रका संघीय संसदीय निर्वाचन क्षेत्रका संयोजक, आंगिक संगठनका जिल्ला संयोजकहरु तथा महा–उपमहा–नगर–गाउँपालिका संयोजकहरु पदेन रुपमा जिल्ला समितिका सदस्यहरु रहनेछन्।
३.२० प्रत्येक जिल्ला समितिले जिल्लाको कार्यलाई व्यवस्थित र गतिशिल बनाउनको लागि समावेशिताको जगमा बढीमा ११ जना सदस्यसम्मको सचिवालय गठन गर्न सक्नेछन्।
३.२१ जिल्ला समिति कार्यकारी सांगठनिक निकाय नभएर संयोजनकारी निकाय मात्र रहनेछ।

जिल्ला समितिको काम, कर्तव्य र अधिकार
३.२२ सम्बन्धित जिल्ला भित्रका सबै स्थानीय तहमा प्रदेश संयोजक तथा संगठनात्मक संरचनाको नेतृत्व निर्माण तथा परिचालनको कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने गराउनेछ।
३.२३ सम्बन्धित जिल्लाभित्र पर्ने संघीय तथा प्रादेशिक संसदीय निर्वाचन क्षेत्रहरुमा पार्टीको कामलाई व्यवस्थित बनाउनको लागि स्थानीय समितिहरुको समन्वयमा आवश्यक नेतृत्व, नीति तथा कार्यक्रमहरु निर्माण गर्नेछ।
३.२४ प्रदेश संयोजक, उपसंयोजक तथा प्रादेशिक समितिको निर्णयलाई अनुमोदन, संशोधन, पुनरावलोकन गर्न सक्नेछ।
३.२५ जिल्ला समितिका सदस्यहरुको कार्य विभाजन, प्रादेशिक सांगठनिक प्रावधानको अधिनमा रही विभागहरुको गठन तथा पुनर्गठन र जिल्लामा कार्यक्रमको तर्जुमा र कार्यान्वयन गर्नेछ।
३.२६ प्रादेशिक संगठन विभागसँग समन्वय गरेर जिल्ला तथा स्थानीय तहको सांगठनिक कार्यहरुको समन्वय गर्नेछ।
३.२७ प्रादेशिक संसदीय मामिला विभाग र स्थानीय तहसँग समन्वय गरी कानुन अनुशार सरकारी निकायहरुमा प्रतिनिधित्व गर्ने, कामको लेखाजोखा गर्ने र आवश्यक कार्यक्रमहरु तय गर्न सक्नेछ।
३.२८ जिल्ला तहका महत्वपूर्ण विषयहरूमा जिल्ला समितिका सदस्यहरूको बुझाइलाई परिष्कृत बनाउन छलफल, बहस र अन्तर्क्रियाहरु गर्न सक्नेछ।
३.२९ सम्बन्धित जिल्लाभित्र पर्ने पार्टीका तहगत निकायहरुलाई आवश्यक निर्देशन दिने, सुपरिवेक्षण गर्ने तथा तथ्यांक राख्नेछ।
३.३० प्रादेशिक संसदीय मामिला विभागको समन्वय र निर्देशन बमोजिम प्रादेशिक र स्थानीय सरकार सम्बन्धी संसद संचालनको नीति तर्जुमा गर्न तथा कार्यान्वयन गर्न सहयोगी भूमिका खेल्नेछ।

प्रादेशिक तह
३.३१ साझा पार्टीको विचार, नीति, मूल्य मान्यता तथा व्यक्तिको पृष्ठभूमि, उपलब्धि, सामाजिक र राजनीतिक परिचय तथा नेतृत्व क्षमतालाई मानक बनाएर प्रदेश संयोजक, उपसंयोजक तथा कोषाध्यक्ष नियुक्त हुनेछन्।
३.३२ संयोजक तथा उपसंयोजक नियुक्ति र घोषणा गर्दा सम्बन्धित प्रदेशका सक्रिय अभियन्ताहरुको साधारण भेला गरेर सम्बन्धित नेतृत्वसँग अन्तर्क्रिया गराइनेछ।
३.३३ संयोजक तथा उपसंयोजक नियुक्त गर्दा दफा ३.३१ को योग्यतानुसार पार्टीको केन्द्रिय सचिवालयले प्रस्ताव गरेको प्रस्तावलाई केन्द्रिय समितिमा निर्णयार्थ वा अनुमोदनको लागि प्रस्तुत गरिनेछ।
३.३४ प्रत्येक प्रदेशमा एक जना संयोजक र एक जना उपसंयोजक हुन सक्नेछन्। संयोजक वा उपसंयोजक नियुक्त गर्दा सकेसम्म एक जना महिला, दलित, जनजाति वा अल्पसंख्यक समुदायबाट चयन गर्नुपर्नेछ।
३.३५ प्रदेशमा रहेका बहुमत जिल्लाहरूमा जिल्ला संयोजकहरूको नियुक्ति भएपछि मात्र जिल्ला संयोजकहरू पदेन सदस्य रहने गरी र एक जना प्रदेश कार्यालय प्रमुख सहित प्रादेशिक समिति निर्माण गरिनेछ। उक्त समिति विभिन्न संवैधानिक तथा कानुनी व्यवस्थानुसार गठन गरिनेछ।

प्रदेश समितिको काम, कर्तव्य र अधिकार
३.३६ विधान तथा नियमावलीद्धारा व्याख्या गरिएको केन्द्रीय समिति (संघीय समिति) सँगको अनिवार्य वैधानिक सम्बन्धवाहेक प्रादेशिक समितिले प्रदेशस्तरमा संघीय समिति तथा पार्टीका अन्य नीतिगत कुराहरुसँग नबाझिने गरी प्रदेशमा विधायकी वा तोकिएको अन्य कार्यकारी अधिकार प्रयोग गर्नेछ।
३.३७ प्रदेश अधिवेशन नहुँदासम्मको संक्रमणकाल अवधिभरि प्रदेश संयोजक, सहसंयोजक तथा प्रादेशिक समितिको निर्णयलाई अनुमोदन, संशोधन, पुनरावलोकन, स्वीकृत या अस्वीकृत गर्न सक्नेछ।
३.३८ प्रदेशको सांगठनिक ढाँचा संघीय समितिले तय गरे बमोजिम प्रत्येक जिल्लाबाट चयन गरिएका संयोजकहरु तथा प्रदेश कार्यालयमा रहने कार्यालय प्रमुख प्रदेश समितिका पदेन सदस्य हुनेछन्। प्रदेश संयोजक तथा सह-संयोजक सहित पदेन सदस्यहरुलाई प्रादेशिक सचिवालय भनिनेछ। प्रदेश अधिवेशन नहुँदासम्म बढीमा ३५ जनासम्म सदस्य संख्या रहने गरी प्रदेश समिति सदस्यहरुको पदपुर्ति सचिवालयले गर्नेछ।
३.३९ संयोजक, सहसंयोजक तथा प्रदेश सचिवालयको सिफारिशमा प्रदेश समितिका सदस्यहरुको कार्य विभाजन, विभागहरुको गठन तथा पुनर्गठन तथा कार्यविधिहरुको निर्धारण र अनुमोदन गर्नेछ।
३.४० केन्द्रिय संघीय संगठन विभागसँग समन्वय गरेर अन्य प्रादेशिक, जिल्ला तथा स्थानीय तहको सांगठनिक कार्यहरुको समन्वय गर्नेछ।
३.४१ केन्द्रिय समितिको निर्देशन र विधानमा आधारित रहेर प्रदेश तहमा आवश्यक पर्ने पार्टीका तात्कालीन नीति तथा कार्यक्रमहरु तयार गरेर कार्यान्वयन गर्न सक्नेछ। प्रादेशिक संसदमा उपस्थिति रहेको प्रदेशमा संघीय संसदीय मामिला विभागसँग समन्वय गरी कानुन अनुसार सरकारी निकायहरुमा प्रतिनिधित्व गर्ने र अन्य कार्यक्रमहरु तय गर्न सक्नेछ।
३.४२ विभिन्न राष्ट्रिय एवं प्रादेशिक तहका महत्वपूर्ण विषयहरूमा प्रदेश समितिका सदस्यहरूको बुझाइलाई परिष्कृत बनाउन छलफल, बहस र अन्तरक्रियाहरू गर्न सक्नेछ।
३.४३ केन्द्रीय समिति तथा विभागहरुको समन्वयमा प्रदेश अधिवेशनको लागि विभिन्न विभाग, कार्यदल तथा संयन्त्रहरु निर्माण गरी प्रदेश अधिवेशनका आवश्यक दस्तावेजहरुको संपादन, वितरण तथा कार्यान्वयन गर्नेछ।
३.४४ सम्बन्धित प्रदेशभित्र पर्ने पार्टीका सम्पूर्ण तहगत निकायहरुलाई आवश्यक निर्देशन दिने, सुपरिवेक्षण गर्ने तथा त्यसको प्रादेशिक तथ्यांक राख्नेछ।
३.४५ प्रदेश समितिभन्दा तहगत तल्ला निकायलाई समुचित कारण सहित विघटन, कारवाही वा वदर गर्न सक्नेछ।
३.४६ अनुशासनको उल्लंघन गर्ने प्रदेश समितिका सदस्य तथा प्रादेशिक विभागका सदस्यहरुलाई अनुशासन आयोगको सिफारिसमा अनुशासनको कारवाही गर्न वा राजीनामा दिन लगाउन सक्नेछ।
३.४७ संघीय संसदीय मामिला विभागको समन्वय र निर्देशन बमोजिम प्रादेशिक र स्थानीय सरकार सम्बन्धी संसद संचालनको नीति तर्जुमा गर्न तथा कार्यान्वयन गर्न सहयोगी भूमिका निर्वाह गर्नेछ।
३.४८ विधानत: स्वायत्त आयोगहरुको संघीय ढाँचा अनुसार प्रादेशिक तहमा महत्वपूर्ण स्वायत्त आयोगहरुको गठन गर्ने र प्रदेशबाट तोकिएको आयूक्तको लागि कोटा बमोजिमको प्रतिनिधि छनोट गरेर पठाउनेछ।
३.४९ प्रत्येक ४/४ बर्षमा प्रदेश अधिवेशन गर्नको लागी आवश्यक सम्पूर्ण राजनैतिक तथा प्रशासनिक कार्यहरु गर्नेछ।
३.५० पार्टीको मुल विधानले तोकिदिएको क्षेत्राधिकारभित्र रहेर प्रदेशको नियमावली तथा अन्य कार्यविधिहरु बनाउन सक्नेछ।

प्रदेश संयोजक/उपसंयोजकको काम, कर्तव्य र अधिकार
३.५१ प्रादेशिक समिति तथा प्रादेशिक समितिले आयोजना गरेका हरेक बैठक तथा कार्यक्रमको अध्यक्षता संयोजकले गर्नेछन् र संयोजक अनुपस्थित रहेको खण्डमा उपसंयोजकले गर्नेछन्।
३.५२ प्रादेशिक समितिको बैठक बोलाउने, एजेण्डाहरु तय गर्ने तथा बैठकका प्रस्तावहरुमाथि आवश्यक भएमा प्रादेशिक रुपमा राजनीतिक तथा सांगठानिक प्रतिवेदनहरु तयार गर्ने वा गर्न लगाउनेछन्।
३.५३ प्रादेशिक अधिवेशनभन्दा अगाडि केन्द्रिय संगठन विभागको समन्वयमा जिल्ला संयोजकहरुको चयन गर्नेछन्। प्रादेशिक तथा स्थानीय तहको पार्टी संरचना तथा विभागहरुलाई राजनीतिक र नीतिगत प्रशिक्षण, निर्देशन तथा उत्प्रेरणा दिनेछन्।
३.५४ प्रदेश पार्टी नेतृत्वको रुपमा राजनीतिक, सांगठनिक तथा कार्यक्रमिक नेतृत्व गर्ने र प्रदेश पार्टीको आवश्यकतानुसार संघ, प्रदेश तथा स्थानीय तहका कार्यक्रमहरुमा सहभागिता जनाउनेछन्।
३.५५ पार्टी केन्द्रका निर्देशनहरु, विधान, नियमावली तथा आचार संहिताको पालना गर्ने गराउनेछन्। प्रदेशभित्र रहेका हरेक तहगत पार्टी निकायका कामको गतिविधि र समन्वयको जानकारी लिने, आवश्यक निर्देशन दिने र पार्टीको संघीय तहमा रिपोर्ट गर्नेछन्।
३.५६ प्रादेशिक तहको बैठकमा प्रस्तुत भएका नीतिगत तथा सांगठनिक बिषयहरुमा वहस/छलफल गराउने, आवश्यक निर्णय लिने र निर्णयको कार्यान्वयन गर्ने गराउनेछन्। निर्वाचन गरेर टुंगाउनुपर्ने बिषयहरुमा निर्णायक मत दिनेछन्।
३.५७ कुनै प्रादेशिक वा जिल्ला सदस्यले राजीनामा दिएको खण्डमा बिषयको गम्भिरतालाई हेरेर संगठन विभागसँग समन्वय गर्नुपर्ने देखिएमा आवश्यक राय लिनेछन् अन्यथा प्रदेश संयोजक तथा जिल्ला संयोजकले राजीनामा स्विकृत गर्ने/नगर्ने निर्णय गर्नेछन्।
३.५८ प्रत्येक ४/४ बर्षमा प्रादेशिक महाधिवेशन गर्नको लागी आवश्यक सम्पूर्ण राजनैतिक तथा प्रशासनिक कार्यहरु गर्नेछन्।
३.५९ जिल्ला समितिको परामर्शमा स्थानीय तहको महानगर/उपमहानगर/नगर/गाउँपालिकाको संयोजकहरु चयन गर्नेछन्। प्रादेशिक तहमा विधानले तोकेका अन्य कामहरु गर्नेछन्।

केन्द्रीय (संघीय) तह
३.६० पार्टी निर्माण, संचालन तथा यसको कार्यलाई व्यवस्थित गर्नको लागि साझा पार्टीको केन्द्रीय समिति रहनेछ। अन्तरिम केन्द्रिय समितिको निर्माण वैकल्पिक पार्टीको आवश्यकता, समझदारी तथा सांगठनिक विशेषता अनुसारको समावेशी र समानुपातिक हुनेछ। प्रथम पटक बनेको केन्द्रीय समितिको निर्णय तथा अन्तरिम विधान अनुरुप अन्य सदस्यहरु थपिनेछन्। केन्द्रिय समितिले एक जना संयोजक चयन गर्नेछ। केन्द्रीय समितिको कामलाई व्यवस्थित र सुचारु बनाउनको लागि केन्द्रीय समितिले विभिन्न विभागहरुको गठन गर्नेछ।
३.६१ केन्द्रीय सदस्यको लागि थप सिफारिस केन्द्रिय सचिवालय वा केन्द्रीय समितिले निर्धारण गरेको मापदण्ड बमोजिम गरिनेछ।
३.६२ पार्टीको महाधिवेशनसम्मको लागि पार्टीको कामलाई चुस्त, छरितो र व्यवस्थित गर्नको लागि बढीमा ११ सदस्य रहने गरी पार्टीको सचिवालय गठन गर्नेछ।
३.६३ महाधिवेशन नहुँदासम्मको लागि केन्द्रीय समिति नै पार्टीको सबैभन्दा उपल्लो विधायकी तथा कार्यकारी निकाय हुनेछ।

केन्द्रीय समितिको काम, कर्तव्य र अधिकार
३.६४ केन्द्रिय समितिले मूलत नीतिगत सवालमा विधायकी वा तोकिएको अन्य कार्यकारी अधिकार प्रयोग गर्नेछ।
३.६५ केन्द्रीय सचिवालय वा संयोजकको निर्णयलाई अनुमोदन, संशोधन, पुनरावलोकन, स्वीकृत या अस्वीकृत गर्न सक्नेछ।
३.६६ पार्टीका सम्पूर्ण सांगठनिक संरचनाहरुको तर्जुमा केन्द्रीय समितिले निर्णय गरे बमोजिम हुनेछ।
३.६७ केन्द्रीय सचिवालय वा संयोजकको सिफारिशमा केन्द्रीय समितिका सदस्यहरुको कार्य विभाजन, विभागहरुको गठन तथा पुनर्गठन तथा कार्यविधिहरुको निर्धारण र अनुमोदन गर्नेछ।
३.६८ प्रादेशिक संयोजन समितिको काम, कर्तव्य र अधिकारको निर्धारण गर्ने तथा संगठन विभागको सिफारिस अनुसार अन्य प्रादेशिक सांगठनिक कार्यहरुको समन्वय गर्नेछ।
३.६९ पार्टीको सिद्धान्त, मूल्य र मान्यतामा रहेर पार्टीका तात्कालीन नीति तथा कार्यक्रमहरु तयार पारी कार्यान्वयन गर्नेछ।
३.७० विभिन्न राष्ट्रिय महत्वका विषयहरूमा सबै केन्द्रीय समितिका सदस्यहरूको बुझाइलाई परिष्कृत बनाउन व्यापक छलफल र बहसहरू गर्नेछ जसमा आवश्यक परेको खण्डमा बाहिरका विज्ञहरूको पनि सहयोग लिइनेछ।
३.७१ राष्ट्रिय महाधिवेशनको लागी विभिन्न विभाग, कार्यदल तथा संयन्त्रहरुद्धारा निर्मित राजनीतिक दस्तावेजहरुको सम्पादन, वितरण तथा कार्यान्वयन गर्नेछ।
३.७२ केन्द्रीय समिति, पार्टी सचिवालय तथा अन्य सम्बन्धित विभागहरुको निर्णयको आधारमा अन्तरपार्टी निर्देशिका तयार पारी वितरण गर्नेछ।
३.७३ पार्टीका सम्पूर्ण निकायहरुलाई आवश्यक निर्देशन दिने, सुपरिवेक्षण गर्ने तथा त्यसको तथ्यांक राख्नेछ।
३.७४ केन्द्रीय समिति भन्दा तहगत तल्लो निकायलाई विघटन, कारवाही वा वदर गर्न सक्नेछ।
३.७५ अनुशासनको उल्लंघन गर्ने केन्द्रीय समिति तथा केन्द्रिय विभागका सदस्यहरुलाई अनुशासन आयोगको सिफारिसमा या तत्काल आवश्यक भए केन्द्रीय समितिको बहुमतका आधारमा अनुशासनको कार्यवाही गर्न वा राजीनामा दिन लगाउन सक्नेछ।
३.७६ संघीय, प्रादेशिक र स्थानीय सरकार र संसद संचालनको नीति तर्जुमा गर्न तथा कार्यान्वयन गर्न सहयोगी भूमिका निर्वाह गर्नेछ।
३.७७ पार्टीका महत्वपूर्ण स्वायत्त आयोगहरुको गठन कार्यविधि तर्जुमा गर्नेछ।
३.७८ प्रत्येक ४/४ वर्षमा राष्ट्रिय महाधिवेशन गर्नको लागी आवश्यक सम्पूर्ण राजनैतिक तथा प्रशासनिक कार्यहरु गर्नेछ।
३.७९ कुनै कारणवश केन्द्रीय समितिले एकैपल्ट निर्णय गर्न नसकेका बिषयहरुलाई आवश्यक प्रष्टता र थप निर्णयको लागी सम्बन्धित समिति, विभाग वा संयोजन समितिमा पठाउन सक्नेछ।
३.८० विधानमा तोकिएका प्रबन्धपत्र, नियमावली तथा अन्य कार्यविधिहरु बनाउनेछ।
३.८१ आगामी राष्ट्रिय महाधिवेशनको आवश्यक तयारीको क्रममा कुनै पनि वेला अन्तरिम केन्द्रीय समिति भंग हुनेछ र अन्तरिम केन्द्रीय समिति राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुनेछ।
३.८२ केन्द्रिय समितिको दुइ तिहाइ वहुमतले पार्टीका कुनै पनि राजनीतिक दस्तावेज तथा विधानका प्रावधानहरुमा संशोधन वा परिवर्तन गर्न सक्नेछ।
३.८३ अनुशासनको उल्लङ्घन गर्ने संयोजक तथा केन्द्रीय सचिवालयका सदस्यहरुलाई समेत न्याय तथा सुशासन आयोगको सिफारिसमा तद् अनुशार उचित अनुशासनको कारवाही गर्न सक्नेछ। पार्टीको आधारभूत नीतिको विरुद्धमा गएर पार्टी विधानको गम्भिर उल्लंघन गर्ने कुनै पनि तहको समितिलाई सम्बन्धित सदस्यहरुको मनोभाव बुझेर भंग तथा विघटन गर्ने अधिकार हुनेछ। तर त्यसको उचित कारण केन्द्रीय समितिले मातहत समितिहरुलाई लिखित रुपमा पठाउनु पर्नेछ।

केन्द्रिय सचिवालयको काम, कर्तव्य र अधिकार
३.८४ केन्द्रीय समितिको सहमति वा अनुमोदनमा पार्टी र राजनैतिक गतिविधिको लागि आवश्यक पर्ने कार्यकारी, प्रशासनिक तथा राजनैतिक अधिकार सचिवालयले प्रयोग गर्नेछ।
३.८५ केन्द्रीय समितिप्रति उत्तरदायी हुने गरी केन्द्रीय सदस्य, प्रदेश संयोजक तथा पार्टीका आयोगहरुको गठन, पुनर्गठन, विघटन गर्न सक्नेछ।
३.८६ केन्द्रिय समितिप्रति उत्तरदायी हुने गरी आवश्यक कार्यदल, समूह तथा अन्य अस्थायी संरचनाहरु निर्माण गर्न सक्नेछ।
३.८७ केन्द्रीय समितिका दुइ वटा बैठकहरुको बीचमा आवश्यक पर्ने नीतिगत, सांगठनिक र प्रशासनिक निर्णयहरु गर्नेछ र तिनलाई केन्द्रीय समितिको बैठकमा अनुमोदनको लागि प्रस्तुत गर्नेछ।
३.८८ राजनीतिक तथा अन्य रणनीतिक महत्वका विषयहरूमा तत्काल निर्णय लिनु आवश्यक देखिएमा त्यसप्रकारको निर्णय गर्न सक्नेछ। र, त्यसको लगत्तै केन्द्रीय समितिको विशेष बैठक बोलाएर त्यसबारे विस्तृत जानकारी दिई आफ्नो निर्णय अनुमोदनका लागि प्रस्तुत गर्नेछ।
३.८९ पार्टीका कुनै पनि तहको सदस्यमाथि कुनै पनि निकायले गरेका कारवाहीहरुको पुनरावेदनमाथि सुनुवाई गर्नेछ र आवश्यक निर्णय लिन सक्नेछ।
३.९० आगामी महाधिवेशनको लागि केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरपछि संयोजकको नेतृत्वमा महाधिवेशन आयोजक समितिले आवश्यकतानुसार सचिवालय, विभिन्न समिति र उपसमितिहरुको गठन गर्न सक्नेछ।

केन्द्रीय संयोजकको काम, कर्तव्य र अधिकार
३.९० केन्द्रीय सचिवालय, केन्द्रीय समिति तथा केन्द्रीय समितिले आयोजना गरेका हरेक बैठक तथा कार्यक्रमको अध्यक्षता गर्नेछन्।
३.९१ केन्द्रीय समितिको बैठक बोलाउने, एजेण्डाहरु तय गर्ने तथा बैठकका प्रस्तावहरुमाथि आवश्यक प्रतिवेदनहरु तयार गर्ने वा गर्न लगाउनेछन्।
३.९२ केन्द्रीय समिति, आयोगहरु तथा अन्य विभागहरुलाई राजनीतिक र नीतिगत प्रशिक्षण, निर्देशन तथा उत्प्रेरणा दिनेछन्।
३.९३ पार्टी प्रमुखको रुपमा राजनीतिक, सांगठनिक तथा कार्यक्रमिक नेतृत्व गर्ने र पार्टीको आवश्यकतानुसार देश तथा विदेशका कार्यक्रममा सहभागिता जनाउनेछन्।
३.९४ पार्टीका सबै निकायहरुको कामको गतिविधि र समन्वयको जानकारी लिनेछन्। सबै पार्टी संयन्त्रहरुलाई आवश्यक निर्देशन दिनेछन्।
३.९५ केन्द्रीय समितिमा प्रस्तुत गरिने नीतिगत विषयहरुमा बहस र छलफल गराउनेछन् र निर्णय गर्नेछन्। निर्णय भइसकेका विषयहरुको कार्यान्वयनको समेत सुनिश्चितता दिनेछन्।
३.९६ निर्वाचन गरेर कुनै विषय टुंग्याउनु पर्दा दुवै पक्ष बीच मत बराबर भएको खण्डमा निर्णायक मत दिनेछन्।
३.९७ कुनै पनि केन्द्रीय सदस्यले दिएको राजीनामा स्विकृत गर्ने नगर्ने निर्णय गर्नेछन्। राजीनामा केन्द्रीय समितिलाई नभई संयोजकलाई दिनु पर्नेछ।
३.९८ पार्टीको जीवनमा असामान्य परिस्थिति आइपरेको अवस्थामा संयोजकलाई पार्टीको हितमा कुनै पनि आवश्यक निर्णय गर्ने विशेषाधिकार हुनेछ। तर विशेषाधिकार प्रयोजनको निर्णय उक्त निर्णयपछि बस्ने केन्द्रीय समितिप्रति उत्तरदायी रहने गरी हुनेछ।

भाग– ४
राष्ट्रिय महाअधिवेशन

राष्ट्रिय महाधिवेशनको संचालन र कार्यविधि
४.१ केन्द्रीय समिति, प्रादेशिक समितिको सचिवालय सदस्यहरु, केन्द्रीय आयोगका प्रमुख आयुक्तहरु तथा आंगिक संगठनका केन्द्रीय संयोजकहरु राष्ट्रिय महाधिवेशन आयोजक समितिका पदेन सदस्य हुनेछन्। संयोजकको सिफारिसमा महाधिवेशन आयोजक समितिको संख्याको १५ प्रतिशत सदस्यहरु आयोजक समितिको वहुमतबाट मनोनित हुनेछन्।
४.२ प्रत्येक ४/४ वर्षमा पार्टीको राष्ट्रिय महाअधिवेशन हुनेछ। तर अत्यन्त प्रतिकूल अवस्थामा जस्तै संकटकाल, प्राकृतिक महाविपत्ति वा राष्ट्रिय राजनीतिक संकट वा केन्द्रीय समितिको दुइतिहाई बहुमतले औचित्यपुर्ण ठानेका कारणहरुका बेलामा मात्र बढीमा एक वर्षको लागि महाधिवेशनको अवधि बढाउन सकिनेछ।
४.३ महाअधिवेशनभन्दा एक महिना अगाडि नै मुलुकभरिबाट अध्यावधिक पार्टी सदस्य संख्याको अनुपातमा तोकिएको निर्धारित संख्या बमोजिमका प्रत्यक्ष निर्वाचित हुने केन्द्रीय सदस्यहरुलाई निर्वाचित गरी सक्नुपर्नेछ।
४.४ राष्ट्रिय महाअधिवेशनको लागि मुलुकभरिबाट अध्यावधिक सदस्य संख्याको अनुपातमा महाधिवेशन प्रतिनिधि, निर्वाचन प्रक्रिया तथा प्रतिनिधिहरुको छनोट विधि आदिको लागि महाधिवेशन आयोजक समितिले छुट्टै ‘राष्ट्रिय महाधिवेशन संचालन कार्यविधि’ बनाएर लागु गर्नेछ।
४.५ राष्ट्रिय महाअधिवेशनका प्रतिनिधि छनोट विधि, प्रत्यक्ष तथा अन्य निर्वाचन प्रक्रिया, पदाधिकारी निर्वाचन तथा अन्य सबै निर्वाचन प्रणालीको विस्तृत ‘महाधिवेशन निर्वाचन नियमावली’ पार्टीको निर्वाचन आयोगले महाधिवेशनभन्दा पाँच महिना अगावै सम्बन्धित निकायहरुमा पठाइसक्नेछ।
४.६ पार्टीको नीति, कार्यक्रम, विधान, राजनीतिक प्रतिवेदन, घोषणापत्र आदि महत्वपूर्ण नीतिगत निर्णयहरु राष्ट्रिय महाअधिवेशनले गर्नेछ।
४.७ राष्ट्रिय महाधिवेशनको सबै तहगत निर्वाचनको सदस्य संख्या अध्यावधिक गर्ने काम निर्वाचन आयोगको हुनेछ।

राष्ट्रिय महाअधिवेशनको काम, कर्तव्य र अधिकार
४.८ राष्ट्रिय महाधिवेशनको लागि आवश्यक संचालक समितिको चयन गर्ने र अन्य आवश्यक सबै खालका संयन्त्रहरु निर्माण गर्नेछ।
४.९ राष्ट्रिय महाधिवेशन केन्द्रीय आयोजक समितिको तर्फबाट प्रस्तुत राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदनहरु पारित गर्नेछ।
४.१० केन्द्रीय समिति तथा अन्य केन्द्रीय पदाधिकारी सदस्यहरुको निर्वाचन गर्नेछ।
४.११ विभिन्न आयोग, परामर्श समिति तथा आंगिक संगठनहरुको बारेमा आवश्यक व्यवस्थाहरु गर्नेछ।

पदावधि
४.१२ नियमित समयान्तरमा पद हस्तान्तरण सुनिश्चित गर्नको लागि समिति सदस्य तथा समिति पदाधिकारीमा पदावधि सम्बन्धी हदबन्दी लगाइनेछ।
४.१३ एक जनाले बढीमा दुइ कार्यकालसम्म मात्र पार्टी अध्यक्ष निर्वाचित हुन पाउनेछ।
४.१४ कुनै पनि कार्यकारी समितिको पदाधिकारी पदमा एउटै व्यक्ति एउटै पदमा बढीमा दुई कार्यकाल मात्र उम्मेदवार बन्न पाउनेछ।
४.१५ कुनै पनि समिति सदस्यमा तीन कार्यकालभन्दा बढी कुनै सदस्य निर्वाचित हुने छैन।

भाग– ५
केन्द्रीय आयोग तथा विभाग गठन, संचालन र कार्यविधि

न्याय तथा सुशासन आयोग
५.१ पार्टीका आधारभूत मूल्य मान्यताहरुको रक्षा, आन्तरिक अनुशासन सुशासनको स्थापना, संस्थागत पारदर्शिता, न्याय सम्पादन आदि कार्यको लागि गर्ने अधिकार सम्पन्न स्वायत्त आयोगको रुपमा ‘न्याय तथा सुशासन आयोग’ गठन गरिनेछ।
५.२ ‘न्याय तथा सुशासन आयोग’ केन्द्रीय र प्रादेशिक तहमा क्रियाशील हुनेछ। केन्द्रीय तहमा प्रमुख आयुक्त, सात जना आयुक्त र एक जना सदस्य सचिवसहित नौ जना सदस्यहरु हुनेछन् भने प्रादेशिक तहमा मुख्य आयुक्त, सदस्य सचिव सहित सात जना सदस्यहरु हुनेछन्। केन्द्रिय तहको आयुक्त पदेन रुपमा प्रादेशिक ‘न्याय तथा सुशासन आयोग’ को मुख्य आयुक्त हुनेछ।
५.३ दुवै तहको ‘न्याय तथा सुशासन आयोग’को प्रमुख आयुक्त नियुक्त गर्दा सम्बन्धित समितिहरुले सकेसम्म पार्टीको माथिल्लो तहमा रहेको वा स्वतन्त्र र उच्च नैतिकवान व्यक्तित्वलाई नियुक्त गर्नेछन्।
५.४ प्रत्येक आयुक्तहरुको पदावधि ५ वर्षको हुनेछ र बढीमा २ पटकसम्म पुन: नियुक्ति हुन सक्नेछ।
५.५ ‘न्याय तथा सुशासन आयोग’ले गरेका आयोगका निर्णयहरु बाध्यकारी हुनेछन् तर चित्त नबुझेको खण्डमा केन्द्रीय समितिमा पुनरावेदनको हक सदस्यहरुमा निहित रहनेछ।
५.६ प्रमुख आयुक्त र आयुक्तहरुको मृत्यु भएमा, स्वेच्छाले राजीनामा दिएमा, राष्ट्रिय महाधिवेशन वा केन्द्रीय समितिले महाभियोग लगाई दुईतिहाइ बहुमतले दोषी ठहराएमा र पदीय दायित्व विपरित कार्य गरेको पाइएमा आयोगका आयुक्तहरु पदमुक्त हुनेछन्।

न्याय तथा सुशासन आयोगको काम, कर्तव्य र अधिकार
५.७ सक्रियताका साथ पार्टीको मूल्य मान्यताको संवर्धन तथा पार्टीको आचार संहिता पालनाको सुनिश्चितता गर्नेछ।
५.८ पार्टी सदस्यहरुलाई पार्टीको सुसंस्कार तथा तद् अनुरुपका मूल्य र मान्यताबारे नियमित प्रशिक्षण दिनेछ।
५.९ संगठनात्मक संस्कृति अनुरुप हरेक सदस्यले ‘गर्नै–पर्ने’ र ‘गर्नै–नहुने’ व्यवहार लगायतका अपरिहार्य गतिविधिको लगत तयार पार्ने र निरन्तर अद्यावधिक गर्दै पार्टीभित्र आन्तरिक अनुशासन कायम गर्नेछ।
५.१० पार्टीभित्र वा बाहिरबाट उजुरी लिने, छानबिन गर्ने र उपयुक्त निर्णयमा पुग्ने तथा सो निर्णयको कार्यान्वयनको लागि आन्तरिक न्याय सम्पादन गर्नेछ।
५.११ यस आयोग र यसका मातहतका लागि चाहिने कार्यविधिहरु तयार गर्ने, केन्द्रीय समितिबाट पारित गर्ने र अध्यावधिक गर्नेछ।
५.१२ माथि उल्लेख भएको क्षेत्राधिकारभित्र रही ‘न्याय तथा सुशासन आयोग’ले आवश्यकता अनुसार नियमावलीहरु तर्जुमा गर्न सक्नेछ। जसलाई केन्द्रीय समितिले पारित गरेपछि लागु हुनेछ।

निर्वाचन आयोग
५.१३ पार्टीभित्र हुने आन्तरिक तहगत निर्वाचन सम्पन्न गर्न तथा राष्ट्रिय निर्वाचनमा उम्मेदवार छनौट प्रक्रिया सहजीकरणको लागि केन्द्रीय समितिले अधिकार सम्पन्न र स्वायत्त आयोगको रुपमा ‘निर्वाचन आयोग’ गठन गर्नेछ।
५.१४ ‘निर्वाचन आयोग’ केन्द्रीय र प्रादेशिक तहमा क्रियाशील हुनेछ। केन्द्रीय तहमा प्रमुख आयुक्त, सात जना आयुक्त र एक जना सदस्य सचिवसहित नौ जना सदस्यहरु हुनेछन् भने प्रादेशिक तहमा आयुक्त, सदस्य सचिवसहित सात जना सदस्यहरु हुनेछन्।
५.१५ स्थानीय तहको निर्वाचनको हकमा प्रादेशिक निर्वाचन आयोगले निर्वाचन अवधिको लागि स्थानीय तहका प्रतिनिधिहरुको समेतको सहभागितामा निर्वाचन समिति गठन गर्न सक्नेछ। यस्तो निर्वाचन समिति बढीमा ११ सदस्यीय हुनेछ।
५.१६ स्थानीय तहको निर्वाचन समितिले निर्वाचन अवधिको लागि आवश्यक अस्थायी जनशक्ति नियुक्त गरेर काम गर्न सक्नेछ। यसको गठन प्रक्रिया निर्वाचन नियमावली अनुसार हुनेछ।
५.१७ दुवै तहको प्रमुख निर्वाचन आयुक्त नियुक्त गर्दा सम्बन्धित समितिहरुले सकेसम्म पार्टीको माथिल्लो तहमा रहेका वा स्वतन्त्र, उच्च नैतिकवान, निष्पक्ष निर्णय लिन सक्ने तथा राष्ट्रिय निर्वाचनको क्षेत्रमा ख्याति प्राप्त विज्ञलाई नियुक्त गर्नुपर्नेछ।
५.१८ प्रत्येक आयुक्तहरुको पदावधि ५ वर्षको हुनेछ र बढीमा २ पटकसम्म पुन: नियुक्ति हुन सक्नेछ।
५.१९ प्रमुख आयुक्त र आयुक्तहरुको मृत्यु भएमा, स्वेच्छाले राजीनामा दिएमा, राष्ट्रिय महाधिवेशन वा केन्द्रिय समितिले महाभियोग लगाई दुईतिहाइ बहुमतले दोषी ठहराएमा र पदीय दायित्व विपरित कार्य गरेको पाइएमा आयोगका आयुक्तहरु पदमुक्त हुनेछन्।

निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार
५.२० ‘निर्वाचन आयोग’ले महाधिवेशनभन्दा अगाडि पार्टीको संगठनात्मक सिद्धान्तसँग नबाझिने गरी ‘निर्वाचन नियामवली’ बनाएर पार्टीका महाधिवेशन, तहगत अधिवेशन अन्य निर्वाचनहरु निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नेछ।
५.२१ निर्वाचन सम्बन्धी नीति, नियम तथा आचार संहिता बनाई पालनाको सुनिश्चितता गर्नेछ। यस आयोग र यसका मातहतका लागि चाहिने कार्यविधिहरु तयार गर्ने, केन्द्रीय समितिबाट पारित गर्ने र त्यसको अध्यावधिक गर्नेछ।
५.२२ स्थानीय तहको निर्वाचन समिति निर्वाचन सम्पन्न भएर उम्मेदवारहरुको अन्तिम घोषणापछिको ३५ दिनभित्र स्वतः समिति भंग हुनेछ। र, अन्य निर्वाचनको लागि पुनः धारा ५.१५ बमोजम गठन हुनेछ।
५.२३ कुनै पनि तहको निर्वाचनमा प्रमुख आयुक्त, आयुक्तहरु तथा निर्वाचन समितिमा रहेको व्यक्ति सोही अवधिको निर्वाचनमा उमेदवार बन्न पाउने छैन।
५.२४ केन्द्रीय निर्वाचन आयोगले आवश्यकतानुसार केन्द्रीय कार्यालय खोल्न तथा आवश्यक कर्मचारीको व्यवस्था गर्न सक्नेछ।

विभागहरु
५.२५ संयोजक, सचिवालय तथा केन्द्रीय समितिको कार्य सम्पादन सहजीकरणको लागि आवश्यक विभागहरु गठन गरिएका छन्। यसरी गठन भएका विभागहरुले आपसी समन्वयमा कार्य गर्दा एक अर्काको कार्यमा व्यवधान नआओस् र कार्य सम्पादन व्यवस्थित होस् भन्ने उद्देश्यका साथ विभागहरुको संक्षिप्त कार्यविधि तथा कार्यक्षेत्र निर्धारण गरिएको छ। सबै विभागहरुले यो कार्यविधि तथा कार्यक्षेत्रको अधिनमा रहेर काम, कर्तव्य र अधिकारको प्रयोग गर्नेछन्। विशेष अवस्थामा वाहेक सबै तहगत विभागहरुले आफ्नो विभागको आर्थिक व्यवस्थापन आफ्नै तहगत निकायबाट गर्नेछन्।

५.२६ हाललाई सबै विभागहरु न्यूनतम ७ सदस्यदेखि अधिकतम १७ सदस्यसम्म हुनेछन्।

५.२७ कुनै पनि विभागले आवश्यकता अनुसार केन्द्रीय समितिभन्दा बाहिरका व्यक्तिहरूको सल्लाह, सुझाव र सहयोग लिन तथा स्वयंसेवीहरू परिचालन गर्न सक्नेछ। तर केन्द्रीय समितिभन्दा बाहिरका व्यक्तिहरूलाई विभागीय सदस्य बनाउने हकमा भने उसको पृष्ठभूमि, प्रतिष्ठा, क्षमता तथा विज्ञताको आधारमा केन्द्रीय सचिवालयको स्वीकृति लिनु पर्नेछ। यसरी केन्द्रीय समितिभन्दा बाहिरबाट विभागीय सदस्यहरू लिँदा पार्टीको आन्तरिक गोपनीयतालाई विशेष ध्यान दिनुका साथै पार्टीका आन्तरिक निर्णयहरूमा बाहिरी प्रभाव पर्न नदिन विभागीय प्रमुख र सदस्यहरू सचेत रहनु पर्नेछ। विभागहरू फेरबदल गर्ने, थप्ने या विघटन गर्ने अधिकार संयोजक वा केन्द्रीय सचिवालयमा रहनेछ।

५.२८ संगठन विभाग
५.२८.१ पार्टीको तीनवटै तहमा रहेका कार्यकारी तथा संयोजनकारी सांगठनिक समितिहरुको कार्यलाई व्यवस्थित गर्नको लागी केन्द्रीय समितिको मातहतमा एक संगठन विभाग रहनेछ। विभागले पार्टी विधानको कार्यविधि अनुसार आवश्यक सांगठनिक गतिविधिहरु गर्नेछ।
५.२८.२ संगठन विभाग अन्तर्गत प्रादेशिक तथा स्थानीय तहमा सांगठनिक गतिविधिहरुको नियमित बैठक संचालनको लागि तहगत संगठन विभागको गठन गर्न सक्नेछ।
५.२८.३ संगठन विभागको गठन प्रक्रियामा सात प्रदेश तथा अन्य आंगिक संगठनको नेतृत्व पदेन रुपमा समितिमा रहनेछन्। र, बाँकी आवश्यक सदस्यहरुको समेत निश्चित सांगठनिक जिम्मेवारी निर्धारण गर्नेछ।
५.२८.४ प्रत्येक तहगत संगठन विभागहरु सम्बन्धित कार्यकारी समितिप्रति उत्तरदायी रहनेछन्।
५.२८.५ संगठन विभागको नियमित रिपोर्टिङ पार्टीको तहगत सचिवालय तथा कार्यकारी समितिहरुमा गरिनेछ।
५.२३.६ संगठन विभागले आवश्यकता अनुसार अन्य विभागहरुसँग समन्वय गरेर संगठनको विकास, विस्तार तथा नीतिगत सुझाव र सल्लाह गर्न सक्नेछ।
५.२८.७ संगठन विभागमा एक जना प्रमुख, विधान बमोजिमका पदेन सदस्यहरु र आवश्यकतानुसार अन्य सदस्यहरु रहनेछन्।
५.२८.८ तहगत कार्यकारी समितिहरुको सांगठनिक गतिविधिको कार्यविधि अन्तर्गत रहेर आवश्यक परेमा सांगठनिक महत्वको वक्तव्य जारी गर्न सक्नेछ।
५.२८.९ आवश्यक परेको बेला संयोजक, केन्द्रीय सचिवालय, केन्द्रीय समिति वा तहगत समितिले संगठनको तहगत विभाग गठन, पूनर्गठन तथा भंग गर्न सक्नेछन्।

५.२९ अभियान विभाग
५.२९.१ पार्टीको केन्द्रीय समिति (संघीय समिति)को माहतमा एक अभियान विभाग रहनेछ। विभागले केन्द्रीय समितिले तोके बमोजिमका बिषयहरुमा केन्द्रित रही विभिन्न राजनीतिक, सामाजिक तथा अन्य समसामयिक अभियानहरुको संयोजन, परिचालन तथा नेतृत्व गर्नेछ। विभागभित्र विभिन्न अभियानको नेतृत्व विभिन्न व्यक्तिले गर्नेछन्।
५.२९.२ अभियान विभागको संरचना संघीय, प्रादेशिक तथा जिल्ला तहसम्म रहनेछ। स्थानीय तहमा आवश्यकतानुसार अभियान विभागको गठन प्रादेशिक विभागको रोहवरमा गरिनेछ।
५.२९.३ कुनै पनि अभियान अनिवार्य रुपमा शान्तिपूर्ण, रचनात्मक र नेपालको संविधान प्रदत्त अधिकारको अधिनस्थ रहनेछ।
५.२९.४ केन्द्रीय समिति वा केन्द्रीय कार्यालयले तोके वाहेकका थप अभियानहरु संचालन गर्नु परेमा पुन: केन्द्रीय समिति वा केन्द्रीय कार्यालयको अनुमति अनिवार्य रुपमा लिनुपर्नेछ।
५.२९.५ अभियान विभागले चाहेमा विभिन्न विषयगत अभियानहरुको लागि विषयगत समितिहरु बनाएर अभियानलाई व्यवस्थित गर्न सक्नेछ। यस्ता समितिहरु अस्थायी र अभियान विभागप्रति उत्तरदायी हुनेछन्।
५.२९.६ समितिले तयार पारेका अभियानका योजनाहरु अनिवार्य रुपमा संबन्धित तहगत कार्यकारी समितिहरुबाट अनुमोदन गर्नुपर्नेछ।
५.२९.७ अभियान विभागमा एक जना प्रमुख र बाँकी आवश्यकतानुसार सदस्यहरु रहनेछन्। र, आवश्यकतानुसार गठित भएका विषयगत समितिहरुको नेतृत्व एक एक जना विषयगत टोली नेताले गर्नेछन् भने बाँकी टोली सदस्यहरु हुनेछन्।
५.२९.८ आवश्यक परेको वेला संयोजक, केन्द्रीय सचिवालय, केन्द्रीय समिति वा तहगत समितिले संगठनको तहगत विभागको गठन, पुनर्गठन तथा भंग गर्न सक्नेछन्।

५.३० प्रशिक्षण विभाग
५.३०.१ पार्टीको केन्द्रीय समिति (संघीय समिति)को मातहतमा एक प्रशिक्षण विभाग रहनेछ। यस विभागले केन्द्रीय समितिले तोके बमोजिमका बिषयहरुमा केन्द्रित रही पार्टी प्रशिक्षणको व्यवस्था गर्नेछ।
५.३०.२ प्रशिक्षण विभागको संरचना संघीय, प्रादेशिक तथा स्थानीय तहसम्म रहनेछ।
५.२५.३ संघीय तहको प्रशिक्षण विभागमा रहेका प्रादेशिक सदस्यहरुले प्रादेशिक तहको प्रशिक्षण विभागको नेतृत्व गर्नेछन्। र, स्थानीय तहमा आवश्यकतानुसार प्रशिक्षण विभागको गठन प्रादेशिक विभागको रोहवरमा गरिनेछ।
५.३०.४ प्रशिक्षण विभागले पार्टीको राजनीतिक दस्तावेजको आधारमा पार्टीका नीतिहरु तयार गर्ने र केन्द्रीय समितिको अनुमोदनमा आवश्यकतानुसार देशैभरी कुनै पनि तहमा प्रशिक्षणको व्यवस्था गर्नेछ।
५.३०.५ विभागले आवश्यकता अनुसार बिषयगत समितिहरु निर्माण गरेर आफ्नो कार्यलाई थप व्यवस्थित गर्न सक्नेछ। यस्ता बिषयगत समितिहरु अस्थायी र विभागप्रति उत्तरदायी हुनेछन्।
५.३०.६ कतिपय नीतिगत स्पष्टताको लागि विभागले पार्टी बाहिरका बिषय विज्ञहरुलाई समेत विभागका बिषयगत समितिमा समावेश गरेर वा नगरेर प्रशिक्षणमा सहभागी बनाउन सक्नेछ।
५.३०.७ प्रशिक्षण विभागमा एक जना प्रमुख र बाँकी आवश्यकतानुसार सदस्यहरु रहनेछन्। र, आवश्यकतानुसार गठित भएका बिषयगत समितिहरुको नेतृत्व एक एक जना बिषय विज्ञले गर्नेछन् भने बाँकी समिति सदस्यहरु हुनेछन्।
५.३०.८ पार्टी नीतिको अधिनस्त रही प्रशिक्षण विभागले पार्टी प्रशिक्षणको लागि आवश्यक पर्ने पाठ्य सामग्रीको निर्धारण, प्रकाशन र वितरण गर्न सक्नेछ।
५.३०.९ पार्टीको आवश्यकतालाई ध्यानमा राखेर पार्टी केन्द्रीय कार्यालयमा नियमित रुपमा विविध विषयहरुमा छलफल प्रशिक्षण तथा अन्तरक्रियाहरुको आयोजना गर्न सक्नेछ।
५.३०.१०आवश्यक परेको वेला संयोजक, केन्द्रीय सचिवालय, केन्द्रीय समिति वा तहगत समितिले संगठनको तहगत विभागको गठन, पुनर्गठन तथा भंग गर्न सक्नेछन्।

५.३१ नीति तथा कार्यक्रम विभाग
५.३१.१ पार्टीको केन्द्रीय समिति (संघीय समिति)को मातहतमा एक नीति तथा कार्यक्रम विभाग रहनेछ। यस विभागले केन्द्रीय समितिले तोके बमोजिमका बिषयहरुमा केन्द्रित रही पार्टीका नीति तथा कार्यक्रमहरुको तर्जुमा गर्नेछ।
५.३१.२ नीति तथा कार्यक्रम विभागको संरचना संघीय, प्रादेशिक तथा स्थानीय तहसम्म रहनेछ।
५.३१.३ संघीय तहको नीति तथा कार्यक्रम विभागमा रहेका प्रादेशिक सदस्यहरुले प्रादेशिक तहको नीति तथा कार्यक्रम विभागको नेतृत्व गर्नेछन्। स्थानीय तहमा आवश्यकतानुसार नीति तथा कार्यक्रम विभागको गठन प्रादेशिक विभागको रोहवरमा गरिनेछ।
५.३१.४ नीति तथा कार्यक्रम विभागले पार्टीको राजनीतिक दस्तावेजको आधारमा पार्टीका नीतिहरु तयार गर्ने र केन्द्रीय समितिको अनुमोदनमा आवश्यकतानुसार अधिराज्यभरी कुनै पनि तहमा कार्यक्रमको व्यवस्था गर्न संबन्धित समितिलाई आग्रह गर्नेछ।
५.३१.५ विभागले आवश्यकता अनुसार बिषयगत समितिहरु निर्माण गरेर आफ्नो कार्यलाई थप व्यवस्थित गर्न सक्नेछ। यस्ता बिषयगत समितिहरु अस्थायी र विभागप्रति उत्तरदायी हुनेछन्।
५.३१.६ कतिपय नीतिगत स्पष्टताको लागी विभागले पार्टी बाहिरका बिषय विज्ञहरुलाई समेत विभागका बिषयगत समितिमा समावेश गरेर वा नगरेर नीति तथा कार्यक्रममा सहभागी बनाउन सक्नेछ।
५.३१.७ नीति तथा कार्यक्रम विभागमा एक जना प्रमुख र बाँकी आवश्यकतानुसार सदस्यहरु रहनेछन्। र, आवश्यकतानुसार गठित भएका बिषयगत समितिहरुको नेतृत्व एक एक जना बिषय विज्ञले गर्नेछन् भने बाँकी समिति सदस्यहरु हुनेछन्।
५.३१.८ पार्टीको आवश्यकतालाई ध्यानमा राखेर पार्टी केन्द्रीय कार्यालयमा नियमित रुपमा नीतिगत विषयहरुमा छलफल प्रशिक्षण तथा अन्तरक्रियाहरुको आयोजना गर्न सक्नेछ।
५.३१.९ आवश्यक परेको वेला संयोजक, केन्द्रीय सचिवालय, केन्द्रीय समिति वा तहगत समितिले संगठनको तहगत विभागको गठन, पुनर्गठन तथा भंग गर्न सक्नेछन्।

५.३२ संसदीय मामिला विभाग
५.३२.१ पार्टीको केन्द्रीय समिति (संघीय समिति)ले पार्टीको मूल्यमान्यता र अवधारणा अनुरुप संसदीय नीति तथा संसदीय गतिविधिमा चाहिने आवश्यक कार्य गर्नको लागी पार्टीको एक संसदीय मामिला विभाग रहनेछ।
५.३२.२ संसदीय मामिला विभागले तत्कालको लागी संघीय, प्रादेशिक तथा स्थानीय निकायको संसदीय दलहरुसँग समन्वय गरी तात्कालीन संसदीय कार्यहरु सम्पन्न गर्नेछ।
५.३२.३ राज्यको तीनवटै तहमा निर्वाचन प्रयोजनको लागी निर्वाचनमा पार्टीको विजयको लागी आवश्यक अध्ययन, तयारी र रणनीति तर्जुमा गर्नेछ।
५.३२.४ पार्टीको संसदीय दलको विधान र नियमावलीको तर्जुमा गरी कार्यान्वयनको लागी केन्द्रीय समितिमा प्रस्तुत गर्नेछ।
५.३२.५ पार्टी सत्तामा जाने राजनीतिक परिस्थितिमा स्वार्थ बाझिने जोखिम न्यूनिकरणको लागी कुनै पनि तहको संसदीय दलको नेताले पार्टीको संसदीय मामिला विभागको नेतृत्व गर्न पाउने छैनन्।
५.३२.६ संसदीय मामिला विभागमा एक जना प्रमुख र बाँकी आवश्यकता अनुसार सदस्यहरु रहनेछन्।
५.३२.७ पार्टीको संसदीय कार्यविधिको अधिनमा रहेर संसदीय दलको समेत परामर्श लिइ संसदीय मामिलामा आवश्यक वक्तव्य जारी गर्न सक्नेछ।
५.३२.८ संसदीय मामिलाको लागि चाहिने पार्टी स्पष्टताको लागी आवश्यक प्रशिक्षणको लागि सम्बन्धित विभागहरुसँग सम्पर्क र समन्वय गरी आवश्यक व्यवस्था गर्न सक्नेछ।
५.३२.९ आवश्यक परेको वेला संयोजक, केन्द्रीय सचिवालय, केन्द्रीय समिति वा तहगत समितिले संगठनको तहगत विभागको गठन, पुनर्गठन तथा भंग गर्न सक्नेछन्।

५.३३ सुचना, संचार तथा प्रविधि विभाग
५.३३.१ पार्टीको केन्द्रीय समिति (संघीय समिति)ले पार्टीको सुचना, संचार तथा प्रविधिलाई चुस्त, दुरुस्त र व्यवस्थित राख्नको लागि एक सुचना, संचार तथा प्रविधि विभाग गठन गरिनेछ।
५.३३.२ पार्टीको तीनवटै तह संघीय, प्रादेशिक र स्थानीय तहमा सुचना, संचार तथा प्रविधि विभागको गठन गरिनेछ।
५.३३.३ पार्टीको संचार नीति र प्रयोग, सुचनाको संकलन र पार्टीको समाजिक संजालहरुको संचालन यसै विभाग अन्तर्गत हुनेछ। पार्टीका सबै वक्तव्यहरू यसै विभागमार्फत संप्रेषित हुनेछन्।
५.३३.४ विभिन्न संचार माध्यमहरु (जस्तै रेडियो, टिभि, पत्रपत्रिकार, अनलाइन)मा सम्पर्क गरी पार्टीका नीति तथा कार्यक्रमहरुलाई व्यापक प्रचार–प्रसार गर्ने, प्रकाशित लेख रचनाहरुलाई वेवसाइट र सामाजिक संजालहरुको व्यापक प्रयोग गर्ने तथा पार्टीको ब्राण्डिङमा काम गर्नेछ।
५.३३.५ सुचना र प्रविधिसँग सम्बन्धित पार्टी सदस्य वा समर्थकहरुलाई यस विभागमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न गर्न सकिनेछ। तर कुनै पनि हालतमा संचार जगतमा संलग्न पार्टी सदस्य वा समर्थकहरुको कुनै संगठन बनाउन पाइने छैन।
५.३३.६ सुचना, संचार तथा प्रविधि विभागमा एक जना प्रमुख र बाँकी आवश्यकता अनुसार सदस्यहरु रहनेछन्।
५.३३.७ पार्टीको सुचना, संचार र प्रविधिको कार्यविधि अन्तरगत नियमित रुपमा आवश्यक सुचना पार्टीका प्रवक्ता, केन्द्रीय कार्यालय, केन्द्रीय समिति तथा संयोजकहरुलाई अध्यावधिक गर्नेछ।
५.३३.८ सुचनाको हक सम्बन्धी अधिकारको अधिनस्त रही कुनै पनि सरोकारवाला निकायले पार्टीको सुचना उपलब्ध गराउने माग गरेमा केन्द्रीय कार्यालयसँग समन्वय गरी आवश्यक सुचना उपलब्ध गराउनेछ।
५.३३.९ पार्टीको सुचना, संचार तथा प्रविधिको बारेमा पार्टी पंक्तिभित्र वा बाहिर आवश्यक बहस, छलफल तथा अन्तरक्रिया गर्नु परेमा नीति तथा प्रशिक्षण विभाग वा केन्द्रीय कार्यालयसँग समन्वय गर्नेछ।
५.३३.१० आवश्यक परेको वेला संयोजक, केन्द्रीय सचिवालय, केन्द्रीय समिति वा तहगत समितिले संगठनको तहगत विभागको गठन, पुनर्गठन तथा भंग गर्न सक्नेछन्।

५.३४ विदेश मामिला विभाग
५.३४.१ पार्टीको केन्द्रूय समिति (संघीय समिति)ले पार्टीको अन्तरराष्ट्रिय संबन्ध, कुटनीतिक नियोगहरुसँगको संपर्क तथा विदेश मामिला संबन्धी कार्य सम्पादनको लागी एक विदेश मामिला विभागको गठन गरिनेछ।
५.३४.२ विदेश मामिला विभागको गठन पार्टीको संघीय तहमा मात्र गरिनेछ।
५.३४.३ विदेश मामिला विभागमा एक जना प्रमुख र आवश्यकता अनुसार अन्य सदस्यहरु रहनेछन्।
५.३४.४ विदेश मामिला विभागमा रहने अन्य सदस्यहरुको हकमा विदेश मामिला विज्ञ पार्टी सदस्य, समर्थक वा सार्वजनिक रूपमा विदेश मामिला विज्ञको रूपमा प्रतिष्ठित व्यक्ति सदस्यको लागि योग्य हुनेछन्।
५.३४.५ विदेश मामिलासँग संबन्धित बिषयमा केन्द्रित रहेर र संयोजकहरूसँग समन्वय गरेर आवश्यक परेको विदेश मामिला नीतिमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न सक्नेछ।
५.३४.६ विदेश मामिला विभागले बिषयवस्तुको गम्भिरतालाई हेरेर आवश्यकता अनुसार पार्टी नेतृत्व तथा केन्द्रीय समितिलाई रिपोर्टिङ गर्नेछ।
५.३४.७ विदेश मामिला संबन्धी कुनै बिषयमा पार्टी पंक्तिलाई प्रशिक्षित गर्नुपर्ने आवश्यक ठानेमा प्रशिक्षण विभागसँग समन्वय गरेर प्रशिक्षणको व्यवस्था मिलाउन सक्नेछ।
५.३४.८ आवश्यक परेको वेला संयोजक, केन्द्रीय सचिवालय, केन्द्रीय समिति वा तहगत समितिले संगठनको तहगत विभागको गठन, पुनर्गठन तथा भंग गर्न सक्नेछन्।

५.३५ कोष संकलन विभाग
५.३५.१ पार्टीको केन्द्रीय समिति (संघीय समिति)ले पार्टीको नियमित आम्दानी बाहेक पार्टीलाई आवश्यक पर्ने रकम संकलन गर्नको लागि पार्टीको एक कोष संकलन विभाग गठन गरिनेछ।
५.३५.२ कोष संकलन विभागको गठन केन्द्रीय तहमा मात्र गरिनेछ। प्रादेशिक तथा स्थानीय तहमा भने विधानमा उल्लेख भए बमोजिम तहगत आर्थिक विभागले रकम संकलनको काम गर्नेछन्।
५.३५.३ कोष संकलनको क्षेत्राधिकार पार्टीको आर्थिक कार्यविधिले निर्धारण गरे बमोजिम हुनेछ। पार्टीको आर्थिक कार्यविधिभन्दा बाहिर अन्य समस्या आएमा केन्द्रीय समितिले निर्धारण गरे बमोजिम ‘बाधा अड्काउ फुकाउ’ बमोजिम गरिनेछ।
५.३५.४ कोष संकलन विभागले कोष संकलनार्थ विभिन्न रचनात्मक कार्यक्रम तर्जुमा गर्न, कार्यान्वयन गर्न तथा सुझाव दिन सक्नेछ।
५.३५.५ कोष संकलनको लागि विभागले विभिन्न आर्थिक क्षेत्र निर्धारण गरेर क्षेत्रगत कोष संकलन समितिहरु बनाउन सक्नेछ। र, उक्त समितिहरु विभागप्रति उत्तरदायी हुनेछन्।
५.३५.६ कोष संकलन विभागमा एक जना प्रमुख र बाँकी आवश्यकता अनुसार सदस्यहरु रहनेछन्।
५.३५.७ आवश्यक परेको वेला संयोजक, केन्द्रीय सचिवालय, केन्द्रीय समिति वा तहगत समितिले संगठनको तहगत विभागको गठन, पुनर्गठन तथा भंग गर्न सक्नेछन्।

५.३६ कानुनी मामिला विभाग
५.३६.१ पार्टीको केन्द्रीय समिति (संघीय समिति)ले पार्टीको कानुनी व्यवस्था, विधानको व्याख्या/विश्लेषण तथा राज्य र पार्टीको प्रक्रियागत कानुनी समन्वयार्थ एक कानुनी मामिला विभागको गठन गरिनेछ।
५.३६.२ कानुनी मामिला विभागको एउटा मुख्य काम पार्टीको नीतिगत तहमा संघीयताको कार्यन्वयन र चुनौतीको नीतिगत अध्ययन र अनुसन्धान हुनेछ। र, त्यसको रिपोर्टिङ केन्द्रिय समितिमा हुनेछ।
५.३६.३ कानुनी विभागको गठन संघीय तथा प्रादेशिक तहमा मात्र हुनेछ।
५.३६.४ कानुन विभागमा एक जना प्रमुख र बाँकी आवश्यकता अनुसार सदस्यहरु रहनेछन्।
५.३६.५ कानुन विभागले निर्वाचन आयोगसँग समन्वय गरेर पार्टीको आन्तरिक निर्वाचन प्रक्रियामा विविध सहयोग गर्नेछ।
५.३६.६ कानुन तथा न्यायसँग संबन्धित आन्तरिक पार्टी प्रशिक्षणको लागी नीति तथा प्रशिक्षण विभागसँग समन्वय गरेर प्रशिक्षणको व्यवस्था गर्नेछ।
५.३६.७ कानुन विभागले कुनै पनि कानुन व्यवसायीहरुको संगठन निर्माण गर्न पाउने छैन। तर कानुन व्यवसायीहरुलाई पार्टीमा सहयोग गर्ने वातावरण निर्माण गर्न र विविध तहको संगठनात्मक संरचनामा आबद्ध हुनको लागी प्रेरित गर्न वा सहजीकरणको माध्यम बन्न सक्नेछ।
५.३६.८ आवश्यक परेको वेला संयोजक, केन्द्रीय सचिवालय, केन्द्रीय समिति वा तहगत समितिले संगठनको तहगत विभागको गठन, पुनर्गठन तथा भंग गर्न सक्नेछन्।

५.३७ उद्यमशीलता तथा रोजगार विभाग
५.३७.१ पार्टीको केन्द्रीय समिति (संघीय समिति)ले उद्यमशीलता र रोजगारीलाई पार्टीले एउटा अभियानको रुपमा अंगिकार गरेकोले पार्टीभित्र र बाहिर उद्यमशीलताको माध्यमबाट रोजगारीलाई प्रबर्धन गर्न एक उद्यमशीलता तथा रोजगार विभागको गठन गरिनेछ।
५.३७.२ साझा पार्टीप्रति आकर्षित जनसमुदायलाई विभिन्न उद्यमशील तालिम मार्फत रोजगारीका अवसरहरु सिर्जना गर्न विभागले मद्दत गर्नेछ।
५.३७.३ राजनीतिलाई उद्यमशीलतासँग जोडेर जनमानसमा फैलिन मद्दत गर्ने प्रकारका रचनात्मक नीतिहरु तर्जुमा गर्ने, प्रशिक्षित गर्ने र कार्यान्वयन गर्ने काम यो विभागले गर्नेछ।
५.३७.४ उद्यमशीलता तथा रोजगार विभाग पार्टीको तीनवटै तहमा हुनेछ। तहगत विभागको गठन प्रक्रिया पार्टीको कार्यकारी समितिमार्फत हुनेछ।
५.३७.५ उद्यमशीलता तथा रोजगार विभागले पार्टीका सबै तहमा नीति तथा प्रशिक्षण विभागको समन्वयमा प्रशिक्षण कार्यक्रमको आयोजना गर्न सक्नेछ।
५.३७.६ विभागले आफुले दिएको तालिम, प्रशिक्षण तथा परिणामको अध्ययन, अनुसन्धान र तथ्यांक अद्यावधिक गर्नेछ।
५.३७.७ उद्यमशीलता तथा रोजगारी विभागमा एक जना प्रमुख र बाँकी आवश्यकता अनुसार सदस्यहरु हुनेछन्।
५.३७.८ आवश्यक परेको वेला संयोजक, केन्द्रीय सचिवालय, केन्द्रीय समिति वा तहगत समितिले संगठनको तहगत विभागको गठन, पुनर्गठन तथा भंग गर्न सक्नेछन्।

५.३८ तथ्यांक तथा अनुसन्धान विभाग
५.३८.१ पार्टीको केन्द्रीय समिति (संघीय समिति)ले पार्टीको विचार, राजनीति, संगठन, आर्थिक, सांस्कृतिक आदि नीति निर्माणको लागी चाहिने तथ्यांक तथा अन्य आवश्यक अनुसन्धानात्मक सामग्री उत्पादन गर्नको लागी एक तथ्यांक तथा अनुसंधान विभाग गठन गरिनेछ।
५.३८.२ तथ्यांक तथा अनुसंधान विभागको गठन हाललाई संघीय तहमा मात्र रहनेछ। तर आवश्यक परेमा विभागको सिफारिस अनुसार अन्य तहमा पनि तथ्यांक तथा अनुसंधान विभाग गठन गर्न सकिनेछ।
५.३८.३ तथ्यांक तथा अनुसंधान विभागमा एक जना प्रमुख र बाँकी आवश्यकता अनुसार सदस्यहरु रहनेछन्।
५.३८.४ तथ्यांक तथा अनुसंधान विभागले आवश्यकता अनुसार विभिन्न बिषयगत अनुसंधानको लागि अलग अलग समिति बनाएर तथ्यांक तथा अनुसंधानलाई थप व्यवस्थित गर्न सक्नेछ। यस्ता समितिहरु अस्थायी र तथ्यांक तथा अनुसंधान विभागप्रति उत्तरदायी रहनेछन्।
५.३८.५ पार्टीलाई आवश्यक परेको कुनै पनि तथ्यांक तथा खोजमुलक अनुसंधानात्मक सामग्री तयार गर्नको लागि केन्द्रीय कार्यालय वा केन्द्रीय समितिले बिशेष निर्देशन गर्न सक्नेछ। अत्यावश्यकीय स्थितिमा विभागले आवश्यक पर्ने बजेटको लागी केन्द्रीय कार्यालयसँग माग गर्न सक्नेछ।
५.३८.६ विभागले तयार पारेका सबै तथ्यांक तथा अनुसंधानहरु पार्टीका आधिकारिक तथा अनिवार्य धारणाहरु मानिने छैनन्। पार्टीको आधिकारिक निकायको विशेष आग्रहमा तयार पारिएका सामग्री बाहेक अन्य सामग्रीहरु संदर्भ सामग्री मानिने छन्।
५.३८.७ तथ्यांक तथा अनुसंधान विभागले आवश्यक ठानेमा आफ्नो खास अनुसंधानको परिधिभित्र रहेर पार्टी बाहिरका विज्ञहरुलाई समेत अस्थायी रुपमा अनुसंधान कार्यमा सामेल गर्न सक्नेछ। तर कुनै पनि सार्वजनिक महत्वको अनुसंधानात्मक बिषयमा कुनै उच्च व्यक्तित्व, अन्य पार्टीको सदस्य वा विवादास्पद व्यक्तिको हकमा अनुसंधानमा सामेल गर्नु अगाडि अनिवार्य रुपमा केन्द्रिय कार्यालयको स्वीकृति लिनु पर्नेछ।
५.३८.८ आवश्यक परेको वेला संयोजक, केन्द्रीय सचिवालय, केन्द्रीय समिति वा तहगत समितिले संगठनको तहगत विभागको गठन, पुनर्गठन तथा भंग गर्न सक्नेछन्।

५.३९ सामाजिक न्याय तथा समावेशिता विभाग
५.३९.१ पार्टीको केन्द्रीय समिति (संघीय समिति)ले नेपालको संविधानको मर्म तथा पार्टीको मूल्य–मान्यता बमोजिम उच्च प्राथमिकतामा रहेको सामाजिक न्याय तथा समावेशिताको कार्यान्वयनको लागि एक सामाजिक न्याय तथा समावेशिता विभाग गठन गरिनेछ।
५.३९.२ सामाजिक न्याय तथा समावेशिता विभाग पार्टीका तीनवटै तहहरुमा गठन गर्न सकिनेछ।
५.३९.३ सामाजिक न्याय तथा समावेशिता विभागमा एक जना प्रमुख र बाँकी आवश्यकता अनुसार सदस्यहरु रहनेछन्।
५.३९.४ नेपालको संविधानले परिकल्पना गरेको समावेशी ढाँचालाई पार्टीभित्र, सरकारी निकाय तथा अन्य सरोकारवाला निकायहरुमा प्रभावकारी कार्यान्वयनको पक्षमा जनमत सिर्जना गर्ने खालका कार्यक्रमहरुको आयोजना गर्न सक्नेछ।
५.३९.५ सामाजिक न्याय तथा अन्य समावेशी निकायहरुसँग अन्तर संवाद र सरोकार राख्दै समान धारणाहरु राख्ने निकायहरुसँग संयुक्त कार्यक्रमहरुको पहल गर्नेछ।
५.३९.६ संघीय, प्रादेशिक तथा स्थानीय निकायहरुमा सामाजिक न्याय र समावेशीताको अवस्थाबारे विभिन्न बिषयगत विशेषज्ञहरुसँग सुझाव, सल्लाह र अन्तरक्रियाहरु गर्न सक्नेछ। बिशेष अवस्थामा सामाजिक न्याय तथा समावेशीताको मुद्धामा कुनै अभियान चलाउन आवश्यक देखिएमा केन्द्रीय कार्यालयको सहमतिमा अभियान विभागको समन्वयमा अभियान चलाउनेछ।
५.३९.७ सहभागितामूलक लोकतन्त्रमा सामाजिक न्याय र समावेशीताको अन्तरसंबन्धलाई स्थापित गर्न आवश्यक पर्ने प्रकाशन, अनुसंधान र प्रशिक्षणको आवश्यकता परेमा संबन्धित विभागहरुको समन्यवमा कार्यक्रमहरु आयोजना गर्नेछ।
५.३९.८ आवश्यक परेको वेला संयोजक, केन्द्रीय सचिवालय, केन्द्रीय समिति वा तहगत समितिले संगठनको तहगत विभागको गठन, पुनर्गठन तथा भंग गर्न सक्नेछन्।

५.४० केन्द्रीय कार्यालय व्यवस्थापन विभाग
५.४०.१ पार्टीको केन्द्रीय समिति (संघीय समिति)ले साझा पार्टीको केन्द्रीय कार्यालयको प्रभावकारी व्यवस्थापन गर्नको लागी एक केन्द्रीय कार्यालय व्यवस्थापन विभाग गठन गरिनेछ।
५.४०.२ केन्द्रीय कार्यालय व्यवस्थापन विभाग संघीय तहमा मात्र गठन गरिनेछ। अन्य संबन्धित कार्यकारी तहहरुले स्वतन्त्ररुपमा आफ्नै तहगत कार्यालय व्यवस्थापन विभाग गठन गर्न सक्नेछन। तर केन्द्रीय कार्यालय व्यवस्थापन विभागले बेलाबेलामा प्रादेशिक या अन्य कार्यालयहरू आर्थिकरूपमा उचित ढङ्गबाट व्यवस्थापन भएको नभएको अनुगमन गर्न र उनीहरूलाई प्रशिक्षित गर्न सक्नेछ। र, त्यसबारे संयोजक र केन्द्रीय सचिवालयलाई जानकारी दिन सक्नेछ।
५.४०.३ केन्द्रीय कार्यालय व्यवस्थापन विभागमा एक जना कार्यालय व्यवस्थापक प्रमुख र अन्य सदस्यहरु रहनेछन्। तर विभागले आवश्यकता अनुसार विभिन्न बिषयगत समितिहरु बनाएर कामको बाँडफाँड गर्न सक्नेछ।
५.४०.४ केन्द्रीय कार्यालय व्यवस्थापन विभागले विभिन्न प्रादेशिक कार्यालयहरुसँग प्राविधिक र प्रशासनिक समन्वय राख्नेछ। पार्टीका विभिन्न पार्टी सामग्रीहरु तथा लजिष्टिकहरुको वितरण गर्नेछ। केन्द्रीय समिति तथा कार्यालयले तोकेको वाहेक विभागले कुनै स्वतन्त्र राजनीतिक संबन्ध स्थापित गर्न पाउने छैन।
५.४०.५ केन्द्रीय समितिले तोकेको कार्यविधि अन्तर्गत केन्द्रीय कार्यालय व्यवस्थापन विभागले कोष संचालन, कर्मचारी नियुक्ति र तलब सुविधा दिन सक्नेछ।
५.४०.६ विभागले पार्टी कार्यालय संचालनको लागि प्रयुक्त जनशक्ति रकम तथा जिन्सी सामग्रीको अभिलेखन प्रणालीको व्यवस्थापन र अद्यावधिक गर्नेछ। र, पार्टीको केन्द्रीय निकायले चाहेको समयमा उपलब्ध गराउनेछ।
५.४०.७ कार्यालय व्यवस्थापनको लागी तालिम तथा अन्य प्रशिक्षण आवश्यक परेमा अन्य संबन्धित विभागहरुसँग समन्यव गरेर कार्य सम्पादन गर्नेछ।
५.४०.८ केन्द्रीय कार्यालयको लागि आवश्यक तथा भैपरि आउने विभिन्न नियमित कार्यहरु गर्नेछ।
५.४०.९ आवश्यक परेको वेला संयोजक, केन्द्रीय सचिवालय, केन्द्रीय समिति वा तहगत समितिले संगठनको तहगत विभागको गठन, पुनर्गठन तथा भंग गर्न सक्नेछन्।

(पुनश्चः केन्द्रीय समितिको आवश्यकतानुसार जुनसुकै वेला सरकारका मन्त्रालय बराबर रहने गरी छायाँ सरकार विभागहरु गठन गर्न सकिनेछ)

भाग– ६
परामर्श परिषद, आंगिक संगठन र सद्भाव समुह

परामर्श परिषद
६.१ पार्टीले संस्थागत रुपमा महत्वपूर्ण आधिकारिक नीतिगत निर्णयहरु लिनु अगाडि आफ्ना निर्णयहरु सही, दीर्घकालीन र परिपक्व होउन् भन्नका खातिर वृहत छलफल र स्पष्टताको लागी बढीमा ५१ सदस्यीय एउटा परामर्श परिषदको गठन गरिनेछ।
६.२ विभिन्न क्षेत्रका बिषय विज्ञहरु, सामाजिक क्षेत्रका प्रतिष्ठित प्रबुद्ध नागरिक तथा विभिन्न क्षेत्रका ख्याति प्राप्त व्यक्तित्वहरु परामर्श परिषदका सदस्यहरु हुनेछन्। परामर्श परिषद केन्द्रीय र प्रादेशिक तहमा मात्र हुनेछ।
६.३ परामर्श परिषदले दिएका सुझावहरु वाध्यकारीभन्दा नैतिक बन्धनकारी मात्र हुनेछन्।
६.४ परामर्श परिषदको तहगत हैसियत मानार्थरूपमा सम्वन्धित समितिहरू समान हुनेछ। पार्टीको यो निकाय अनौपचारिक विधायकीको भूमिकामा रहनेछ।
६.५ परामर्श परिषदले तोकिएको क्षेत्राधिकारभित्र रहेर ‘परामर्श परिषद निर्देशिका’ अनुसार काम, कार्यवाही र अधिकारको प्रयोग गर्नेछ।

आंगिक संगठन
६.६ साझा पार्टीले कुनै पनि पेशागत संगठनको निर्माण गर्ने छैन। विभिन्न पेशागत संगठनहरुको निर्माणले जन्माउने सामूहिक दवावले सुशासनलाई चुनौती दिन्छ र राजनीतिलाई दुषित बनाउँछ भन्ने कुरामा पार्टी स्पष्ट छ।
६.७ देशका विभिन्न वर्ग, क्षेत्र, समुदाय तथा जात, धर्म आदिजस्ता तह र तप्कालाई पनि साझा पार्टीले अलग संगठनमार्फत संगठित गर्नेछैन।
६.८ मुलुकको जनसंख्याको ठूलो हिस्सा ओगटेको युवा, महिला र जेष्ठ नागरिकहरुको शक्तिलाई भने पार्टीले साझा युवा, महिला र जेष्ठ नागरिक संगठनको रुपमा संगठित हुनको लागि उत्प्रेरित गर्नेछ।
६.९ दफा ६.८ मा उल्लेखित आंगिक संगठनहरुले राजनीतिलाई नजिकबाट बुझ्ने, चासो राख्ने र राजनीतिमा रचनात्मक र सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमहरु गर्नेछन्।
६.९ समाजमा रहेका युवा, महिला र ज्येष्ठ नागरिकहरुलाई आ-आफ्नै विशिष्ट समस्याहरु छन्। त्यसको निराकरणको लागि पार्टीसँग मिलेर नीतिगत सुधार र परिवर्तनको लागि क्रियाशील हुनेछन्।
६.१० युवा, महिला र जेष्ठ नागरिक संगठनका आफ्नै अलग अलग विधानहरु हुनेछन्। र, सोही विधान अनुसार यी संगठनहरु संचालन हुनेछन्।
६.११ युवा, महिला र ज्येष्ठ नागरिकका संगठनहरु र पार्टीको सम्बन्ध परिपुरक, सुमधुर र स्वतन्त्र हुनेछ।
६.१२ माथि उल्लेखित आंगिक संगठनहरुले दुइ दुइ बर्षमा हुने राष्ट्रिय सम्मेलन गरेर नेतृत्व हस्तान्तरण गर्नेछन्।
६.१३ देशका विभिन्न जिल्लाहरुबाट काठमाण्डौ उपत्यकामा आएर स्थायी वा अस्थायी बसोबास गरेका पार्टी सदस्य र समर्थकहरुलाई संगठित गर्नको लागि एउटा सम्पर्क संयन्त्रको निर्माण गरिनेछ।
६.१४ सम्पर्क संयन्त्रको कार्यविधि केन्द्रीय समितिले तोके बमोजिम हुनेछ।

विदेशमा सद्भाव समुह
६.१५ विदेशस्थित नेपालीहरु बसोबास गर्ने जुनसुकै देशको जुनसुकै नगर वा सहरमा कम्तीमा ५ जनासम्म नेपाली एकत्रित भएको खण्डमा बढीमा १५ सदस्यीय ‘साझा सद्भाव समूह’ गठन गर्न सक्नेछन्। सद्भाव समुहको सदस्यता शुल्क साझा सद्भाव निर्देशिकामा तोकिए बमोजिम हुनेछ।
६.१६ सद्भाव समुहमा संयोजक, उपसंयोजक र आवश्यकता अनुसार अन्य पद पनि सृजना गर्न सकिनेछ।
६.१७ नगर वा शहरमा बनेका ‘साझा सद्भाव समूह’का संयोजकहरु तथा सदस्यहरूको सुझावलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय संयोजकले प्रान्तीय, राष्ट्रिय तथा विश्वभरी क्षेत्रीयरुपमा ‘साझा सद्भाव समूह’ गठन गर्न सक्नेछन्।
६.१८ पार्टीको केन्द्रीय समितिले सद्भाव समुहहरूसँगको समन्वयमा साझा अन्तराष्ट्रिय सद्भाव समुह संयोजक चयन गर्नेछ, जसले सन्सारभरीका सद्भाव समुहहरूको नेतृत्व गर्नेछन्।
६.१९ सद्भाव समूहहरू सञ्चालन नियमावली, काम, कर्तव्य र अधिकार पार्टीको केन्द्रीय संगठन विभाग र संयोजकसँगको समन्वयमा साझा अन्तराष्ट्रिय सद्भाव समुह सञ्जालका संयोजकको नेतृत्वमा निर्माण हुनेछ। सो दस्तावेज पार्टीको केन्द्रीय समितिबाट अनुमोदन हुनुपर्नेछ।
६.२० विदेशमा निर्माण भएका सद्भाव समूहहरूलाई आंगिक सङ्गठन मानिने छैन।
६.२१ साझा पार्टीले विदेशमा बसेका नेपालीहरु संगठित अन्तराष्ट्रिय सद्भाव समुहको सञ्जाललाई ‘विशेष प्रदेश’ मान्नेछ। अन्तराष्ट्रिय सद्भाव समूह सञ्जालका संयोजक पार्टीको आमन्त्रित पदेन केन्द्रीय समिति सदस्य हुनेछन्।
६.२२ विदेशमा बसेका पार्टी सदस्यहरूलाई पार्टीको महाधिवेशन तथा प्रत्यक्ष निर्वाचनहरुमा मतदानको अधिकार सुनिश्चित गरिनेछ। सद्भाव समूहहरूले पार्टीको निर्वाचन आयोगले तोकेको संख्यामा पार्टी महाधिवेशनका लागि प्रतिनिधिहरु पठाउन सक्नेछन्।

सद्भाव समुहको काम, कर्तव्य र अधिकार
६.२३ विदेशमा बस्ने नेपालीहरूको मताधिकार कार्यान्वयनका लागि निरन्तर लागिरहने र त्यसका लागि सरकारका सम्बन्धित निकायलाई आवश्यक सहयोग प्रदान गर्ने।
६.२४ नेपालमा रहेका आफ्नो परिवार, नातागोता र साथीभाइलाई साझा पार्टीको सङ्गठन विस्तार, निर्वाचन तथा अन्य हरेक अवसरमा हरसंभव सहयोग गर्न प्रेरित गर्ने।
६.२५ विदेशमा हासिल सीप, ज्ञान र अनुभव लिएर सम्भव भएसम्म नेपाल फर्किने, फर्किएर सम्भव भएको खण्डमा २०७९ सालको आम निर्वाचनलाई लक्ष्य गरी साझा पार्टीमा राजनीतिक रूपमा नै सक्रिय हुने। आफू फर्किने अवस्था नभए, फर्किने अवस्था भएकाहरूलाई फर्किन प्रेरित गर्ने।
६.२६ आफू बसेको देशका बढीभन्दा बढी नगर र सहरहरूमा ‘साझा सद्भाव समूह’ गठन गर्न सघाउने। त्यसरी गठन भएका सद्भाव समूहहरूले साझा पार्टीको भावना र आदर्शसँग मिल्ने सुसंस्कृत राजनीति, नेपालको संस्कृति र नेपालमा लगानी लगायतका विषयहरूमा नेपालीहरूकै निवासमा स-सानै किन नहोस् अन्तर्क्रियाहरू सञ्चालन गर्ने र स्थानीय नेपालीहरूलाई सहयोग पुग्ने कार्यहरूमा संलग्न हुने।
६.२७ नेपाल र आफू बसेको देशको कानुन र आफ्नो पेसाको सीमाभित्र रहेर सक्दो बढी सङ्ख्यामा नेपालीहरूलाई साझा पार्टीको सदस्यता लिन र सकेको आर्थिक सहयोग गर्न उत्प्रेरित गर्ने।
६.२८ नेपालमा साझा पार्टीले परिकल्पना गरेको सुसंस्कृत राजनीति र आफ्नै जीवनकालमा यो देश रूपान्तरण गर्न लिएको प्रतिबद्धतालाई सहयोग पुग्ने प्रकृतिका आलेखहरू नेपालमा र सन्सारभरिबाट निस्कने अनलाइन र अन्य पत्रपत्रिकाहरूमा प्रकाशित गर्ने।
६.२९ विदेशका विभिन्न क्षेत्रमा कार्यरत विज्ञ नेपालीहरूद्वारा साझा पार्टीलाई आवश्यक पर्दा पार्टीका विभागहरूमा रहेर या नरहेर विज्ञ सुझाव-सल्लाह र सहयोग उपलब्ध गराउने।
६.३० पार्टीको मूल्य मान्यता र विधिको उल्लंघन नहुने गरी पार्टीको केन्द्रीय कार्यालयलाई जानकारी दिएर अन्य आवश्यक गतिविधिहरु गर्न सक्नेछन्।

भाग– ७
कोष

आर्थिक श्रोत
७.१ पार्टीको आयस्रोत पार्टीका सदस्य तथा गैर-सदस्य नेपाली नागरिकबाट स्वेच्छिक रुपमा प्राप्त नगद, जिन्सी, दान र पार्टीसँग सम्बन्धित प्रकाशन तथा वस्तुहरुको बिक्रीबाट जम्मा गरिनेछ।
७.२ अर्थ संकलनको सम्पूर्ण अधिकार तहगत संगठनको वित्त तथा कोष संकलन विभागसँग मात्र हुनेछ।
७.३ अर्थ संकलन रसिदहरु केन्द्रीय तथा प्रदेश तहमा मात्र छापिनेछ। अरू मार्फत अर्थ संकलन भएमा त्यसबारे तत्काल कोष संकलन विभागलाई जानकारी गराउनु पर्नेछ।
७.४ प्रत्येक रसिदलाई नम्बर प्रदान गरी समय समयमा निष्काशन गरिनेछ।
७.५ पार्टीको प्रत्येक तहमा हुने नगद, आयव्ययको व्यवस्थापन र पारदर्शिताका निमित्त बैंक खाता संचालन गरिनेछ। बैंक खाताको संचालन ‘बैंक खाता संचालन निर्देशिका’ अनुरुप गरिनेछ।
७.६ पार्टीको प्रत्येक महिनाको खर्च तथा आयको विवरण प्रत्येक तीन तीन महिनामा दलको आधिकारिरक वेवसाइटमा राखिनेछ।
७.७ प्रत्येक तीन तीन महिनामा मान्यता प्राप्त स्वतन्त्र लेखा परीक्षकबाट आर्थिक लेखा परिक्षण गरिनेछ।
७.८ पार्टीलाई प्राप्त हुने जिन्सी तथा दानको लेखा राखिनेछ र सोको पनि मूल्यांकन गरी जिन्सी लेखा परीक्षण हुनेछ।
७.९ पार्टीले प्राप्त गरेको अर्थ सम्बन्धित समितिले पार्टीको राजनीतिक उद्देश्य प्राप्तिको लागि प्रयोग गर्नेछ।
७.१० माथिका दफामा जेसुकै लेखिएको भएता पनि नेपालको कानुनले राजनीतिक दललाई अर्थ संकलन र व्यवस्थापनमा निर्दिष्ट गरेको कानुनको अधीनमा रही मात्र कार्य गरिनेछ।

बैंक खाताको संचालन संबन्धी व्यवस्था
७.११ पार्टीको आर्थिक कारोबारलाई पारदर्शी तथा व्यवस्थित बनाउनको लागि पार्टीका संघीय, प्रादेशिक तथा स्थानीय तहका आधिकारिक कार्यालयहरुले अनिवार्य रुपमा आर्थिक कारोबारको लागि बैंकमा खाता खोल्नु पर्नेछ।
७.१२ स्थानीय तहको हकमा भने आर्थिक कार्यविधिमा तोके अनुसारको व्यवस्था भएपछि मात्र प्रदेश समितिको सिफारिस र अनुमतिमा मात्र बैंकमा खाता खोल्न र संचालन गर्न सकिनेछ।
७.१३ पार्टीका कार्यकारी तहहरुमा मात्र कारोबारको लागि बैंक खाता संचालन गर्न सकिनेछ।
७.१४ पार्टीका संयोजनकारी समितिहरुको हकमा भने माथिल्लो र तल्लो कार्यकारी निकायमार्फत आर्थिक कारोबार हुनेछ।
७.१५ पार्टीको संघीय तहमा बैंक खाताको सञ्चालन तथा सम्पूर्ण आर्थिक कारोबारका लागि पार्टी संयोजकको निर्देशनमा पार्टीको संघीय कार्यालय प्रमुख तथा सिइओको हस्ताक्षरलाई आधिकारिक हस्ताक्षर मानिनेछ।
७.१६ पार्टीको प्रादेशिक तहमा प्रदेश संयोजक वा प्रदेश समितिले तोके बमोजिमको व्यक्ति र कार्यालय सचिव सहित दुईजनाको हस्ताक्षरलाई आधिकारिक मान्यता दिईनेछ।
७.१७ पार्टीको परामर्श परिषद, जिल्ला समिति, निर्वाचन क्षेत्र समिति र टोल समितिलाई कुनै पनि बैंक कारोवारको अनुमति दिइने छैन। उनीहरुको आर्थिक कारोबार संबन्धित माथिल्लो कार्यकारी तहमार्फत हुनेछ।
७.१८ कार्यकारी समितिहरुमध्ये संघीय तहले प्रत्येक तीन महिनामा, प्रादेशिक तहले प्रत्येक दुई महिनामा र स्थानीय तहले प्रत्येक महिनामा कारोबारको संपूर्ण विवरण माथिल्लो निकायमा पठाउने र त्यसको एक हप्ताभित्रमा आधिकारिक माध्यमबाट सार्वजनिक गर्नुपर्नेछ।
७.१९ प्रादेशिक अधिवेशनभन्दा पहिले अन्तरिम अवधिको लागि प्रदेश समितिको संपूर्ण आर्थिक गतिविधिको जिम्मा प्रदेश समितिका कोषाध्यक्षले लिनेछन्।
७.२० लेखा परिक्षण तथा अन्य आवश्यक कार्यवाही बैंक खाता संचालन अधिनियम– २०७५ बमोजिम हुनेछ।

भाग– ८
विविध
पार्टी एकीकरण, विभाजन वा विघटन
८.१ पार्टी केन्द्रिय समितिको दुई तिहाई बहुमतले पार्टी एकीकरण, विभाजन वा विघटनको प्रस्ताव पारित गर्न सक्नेछ।
८.२ पार्टी एकीकरण, विभाजन वा विघटन सम्बन्धी अन्य कुराहरु प्रचलित कानुन बमोजिम हुनेछ।

सम्पति तथा दायित्व व्यवस्थापन
८.३ साझा पार्टी अन्य राजनीतिक दलसंग एकीकरण भएमा यसको सम्पूर्ण सम्पत्ति स्व:त एकीकृत दलको स्वामित्वमा जानेछ।
८.४ साझा पार्टी विघटन भएमा सम्पूर्ण सम्पति नेपाल सरकारको स्वामित्वमा जानेछ।
८.५ माथि जेसुकै लेखिएको भए पनि यदि कसैले एउटा निश्चित अवधिको लागी साझा पार्टीसँग सम्झौता गरेर कुनै सम्पत्ति (नगद वा जिन्सी) प्रयोग गर्न दिएको भए उक्त सम्पत्ति फिर्ता गरेपछि मात्र बाँकी सम्पत्ति नेपाल सरकारको स्वामित्वमा जानेछ।

विधान संशोधन
८.६ यो विधान संशोधन गर्नुपरेमा केन्द्रीय समितिका सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमतले संशोधन गर्न सक्नेछ।
८.७ विधान संशोधनको लागि केन्द्रीय समितिको साधारण वहुमतबाट प्रस्तावित गर्न सकिनेछ।
८.८ सबै तहगत निकायहरुका बैठकहरुमा उपस्थित पचास प्रतिशत संख्यालाई गणपुरक संख्या मानिनेछ।
८.९ विधानको व्याख्या केन्द्रीय समितिले गर्नेछ।
८.१० पार्टीको केन्द्रीय समितिले यो विधानको अधिनमा रही आवश्यक नियमावली, निर्देशिका बनाउन वा परिपत्र जारी गर्न सक्नेछ।

वाधा अड्काउ फुकाउ
८.११ यो विधान लागु गर्दा कुनै वाधा अड्काउ परेमा त्यस्तो वाधा अड्काउ फुकाउने अधिकार पार्टीको महाधिवेशनप्रति उत्तरदायी हुने गरी केन्द्रीय समितिलाई हुनेछ।
८.१२ यस अन्तरिम विधानलाई महाधिवेशन अगावै सुधार गर्नुपरेमा केन्द्रीय समितिको दुई तिहाई सदस्यको निर्णयबाट संशोधन वा परिवर्तन गरी महाधिवेशनबाट अनुमोदन गरिनेछ।
८.१३ यस विधानका बाझिएका दफामा थप व्याख्याको आवश्यकता परेमा केन्द्रीय समितिको निर्णय बमोजिम केन्द्रीय संयोजकले गर्नेछन्।

खारेजी र बचाउ
८.१४ यो विधान प्रारम्भ भएपछि यसभन्दा पहिलेको पार्टीको विधान खारेज हुनेछ र उक्त विधान बमोजिम भए गरेका सम्पूर्ण कामहरु यसै विधान बमोजिम भए गरेको मानिनेछ।
८.१५ साझा पार्टीको पहिलो महाधिवेशनसम्मको लागि यो अन्तरिम विधानलाई छलफल सहित कार्यान्वयनको लागि खुला गरिएको छ।

अनुसूचीहरु
अनुसूची– १
साझा पार्टीको केन्द्रीय कार्यालय देहाय बमोजिमको स्थानमा हुनेछ–
ललितपुर महानगरपालिका वडा नं ३, बखुन्डोल, ललितपुर।
फोनः ०१–५५३६०६२

अनुसूची– २
साझा पार्टीको झण्डा देहाय बमोजिमको हुनेछ–

अनुसूची– ३
साझा पार्टीको चुनाव चिन्ह देहाय बमोजिम हुनेछ–

अनुसूची–४
साझा पार्टीको छाप देहाय बमोजिम हुनेछ–