साझा पार्टी संक्षेपमा

साझा पार्टी संक्षिप्त चिनारी

पार्टीको नामः साझा पार्टी (www.sajhaparty.org)
पार्टीको झण्डा: नीलो पृष्ठभूमिमा सेतो रङ्गको तराजु चिन्ह सहितको आयताकार झण्डा
चुनाव चिन्हः तराजु
पार्टीको दर्शन/विचार/वाद: कल्याणकारी लोकतन्त्र (Welfare Democracy)
पार्टीको लक्ष्यः सुसंस्कृत राजनीतिक, समतामूलक संवृद्धि

पार्टीको मार्गदर्शक सिद्धान्त:
१। सहभागितामूलक लोकतन्त्र
२। समन्वयात्मक बजार अर्थतन्त्र
३। कल्याणकारी राज्य
४। सामाजिक न्याय

पार्टीको मूल्य र मान्यता:
पद्धति (System), पारदर्शिता (Transparency), इमानदारी (Integrity), उत्कृष्टता (Meritocracy) अर्थात STIM.

यो पार्टीको आवश्यकता किन पर्यो?
विश्वमा हामीभन्दा अत्यन्त गरीव र साधनस्रोतले विपन्न मुलुकहरुले द्रुतगतिमा प्रगति गर्दा साधन र स्रोतले सम्पन्न हामी विश्वकै अति गरीव मुलुकका रुपमा रहिरहेका छौं। सरकार सधैं अस्थीर भइरह्यो। सरकार चलाउनेहरु असक्षम र भ्रष्ट भइरहे। दशकौंसम्म राजनीति गरेका दल र तिनका सवैजसो नेताले स्थिर, सुसंस्कृत र विकासमुखी राजनीतिको भरपर्दो संकेत देखाउन सकेनन्। व्यक्ति बन्ने तर देश नबन्ने राजनीति विद्यमान रह्यो। अहिलेको राजनीतिको विकल्पका रुपमा साझा पार्टी परिणाममुखी, कल्याणकारी लोकतन्त्र स्थापित गरि एकै पुस्तामा नेपाललाई रुपान्तरण गर्ने दृढ अठोटका साथ विसं २०७४ मा विधिवत स्थापना भएको हो।

यो पार्टी अरुभन्दा कसरी फरक छ?
यो पार्टी नेपालको धर्तीमा जन्मेर, हुर्केर नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखी नेपालीको मनको बोली बोल्ने पार्टी हो। नेपालको गौरवमय इतिहास, जैविक विविधतायुक्त भूगोल, सनातनदेखि चलि आएको धर्म, रीतिथिति, हजारौं वर्ष पुरानो सँस्कृति, बहुजाती, बहुभाषिक समाज र दक्षिण एशियाको विशिष्ट भूराजनीतिलाई राम्ररी बुझेको यो पार्टीले परम्परागत वादप्रतिको जडसूत्रीय लगावभन्दा समकालीन नेपाली समाजका आवश्यकता र नयाँ पुस्ताको आकांक्षा प्रतिविम्वित हुने मार्गदर्शक सिद्धान्त अवलम्वन गरेको छ। विधिको शासनलाई मूलमन्त्र मानेको यो पार्टी अहिंसात्मक राजनीति, भ्रष्टाचारमुक्त र समावेशी शासन व्यवस्था, समतामूलक र न्यायपूर्ण समाज स्थापना गर्न प्रतिवद्ध छ।
यो पार्टीका सदस्यहरु लोकतान्त्रिक सर्वोच्चतामा मन, वचन र कर्मले विश्वास गर्दछन् र राजनीति भनेको सेवा हो, पेशा होइन भन्नेमा अटल छन्। यो पार्टीले इमानदार, उत्कृष्ट, क्षमतावान र देशलाई मायाँ गर्ने व्यक्तिहरुलाई राजनीतिमा सहभागी हुन र नेतृत्व गर्न प्रेरित गर्दछ। स्वदेश र विदेशमा रहेका सक्षम, अनुभवी र उर्जाशील व्यक्तिहरुलाई उनीहरुको चाख र क्षमताअनुसार पार्टी या राज्यको जिम्मेवारीका लगि अवसर दिनेछ। चुनिएका प्रतिनिधिहरुलाई फिर्ता बोलाउन पाउने (राइट टु रिकल) तथा कोही उम्मेदवार उपयुक्त छैनन् (राइट टु रिजेक्ट) जस्ता मतदाताका अधिकारहरु सुनिश्चित गर्नेछ। पार्टीका हरेक सदस्यले आफ्नै विद्यमान सम्पत्तिबाट या कुनै न कुनै व्यवसाय, इलम, वा उद्योगधन्दा गरि जीविका चलाउने छन्। पार्टीको पैसा वा राज्यकोषको दोहन गरी कार्यकताको भरणपोषण गर्ने अहिलेको प्रवृत्ति अन्त्य गरिनेछ।

यो पार्टीले के गर्दैन?
यो पार्टीका कुनै पनि सदस्य वा ईकाइले बन्द, हडताल, चक्काजाम, हिंसात्मक तथा विध्वंसात्मक आन्दोलन गर्दैन। यो पार्टीका सदस्यले कुनै पनि दलका नेता वा कार्यकर्ताको चरित्र हत्या वा उनीहरूलाई व्यक्तिगत गालीगलोज गर्दैन। यो पार्टीले कर्मचारी, डाक्टर, इन्जिनियर, वकिल, शिक्षक, प्राध्यापक, पत्रकार जस्ता पेशाकर्मीहरुको दलीय राजनितिक भातृ संगठन खोल्दैन। यसले राजनीतिलाई कुनै पनि बहानामा राज्यदोहनको माध्यम बनाउँदैन। सामाजिक जनजीवनलाई अनावश्यकरुपमा पार्टीकरण गर्दैन। जवर्जस्ती चन्दा असूली गर्ने र सर्वसाधारण नागरिकलाई धाक, धम्की, लोभ, डर देखाएर पार्टीका गतिविधि संचालन गर्दैन। सुरक्षा निकायमाथि कुनै पनि प्रकारको आक्रमण वा ती निकायको मनोवल गिराउने काम गर्दैन।

यो पार्टीले नयाँ कुरा के गर्छ?
१। भ्रष्टाचार नियन्त्रणका लागि शुन्य सहनशीलताको नीति लागु गर्नेछ। २०४६ सालदेखि उच्च राजनीतिक र प्रशासनिक पदमा बहाल रहेका सबैको सम्पत्ति जाँचबुझ गरि अवैध सम्पत्ति सरकारीकरण गरी दोषीलाई कारवाही गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्नेछ।
२। न्यायलय लगायत राज्यका विभिन्न अंग तथा निकायमा भइरहेको राजनीतिक भागवण्डाको प्रचलन खारेज गर्नेछ। योग्यता, क्षमता र इमानदारीको कसिमा समावेशीतवरले पदाधिकारीको नियुक्ति गर्नेछ।
३। राष्ट्रसेवक निजामती कर्मचारीहरुले देशलाई संकट परेका बखत देखाएको अतुलनीय योगदान र कर्तव्यपरायणताको कदर गर्दै निजामती प्रशासनलाई राजनीतिक दलको छाँयाबाट मुक्त गर्नेछ। निजामती प्रशासन र अन्य सार्वजनिक निकायमा दलै पिच्छेका ट्रेड युनियन खारेज गर्नेछ।
४। मुलुकको सार्वभौकिता र स्वाधीनताको प्रतिकको रुपमा रहेको नेपाली सेनालाई अनावश्यक हस्तक्षेप गर्ने, सेनाको मनोबल गिराउने कार्यमा रोक लगाउँदै नेपाली सेनाले सदियौँदेखि गर्दै आएको वलिदान र सेवाको उचित कदर गर्नेछ। अवकाशप्राप्त सैनिकहरुको अनुभव दक्षता र कार्यकुशलतालाई राष्ट्र निर्माणका विभिन्न क्षेत्रमा उपयोग गर्नेछ।
५। नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागमा भइरहेको ठाडो राजनीतिक हस्तक्षेपबाट ती निकायलाई मुक्त गर्नेछ र योग्यता, अनुभव र कार्यक्षमताका आधारमा सरुवा, बढुवा वा नियुक्ति हुने पद्धति कायम गर्नेछ। सेवानिवृत्त प्रहरीको दक्षता र क्षमताका आधारमा राष्ट्रनिर्माणका विभिन्न कार्यमा संलग्न गराउनेछ।
६। दुई ठुला छिमेकी भारत र चीनसंग समनिकटताको सम्बन्ध राखी ‘संवेदनशील, सकारात्मक, शन्तुलित र स्वाभिमानपूर्ण’ विदेश नीति अवलम्बन गर्दै उनीहरुको तिब्र आर्थिक विकासबाट अधिकतम लाभ लिन प्रयास गर्नेछ। सोही नीति अन्य देशहरूका हकमा पनि अख्तियार गरिनेछ।
७। नेपाल भारतको खुला सीमालाई व्यवस्थित गर्नेछ। देशका विभिन्न भागमा भइरहेको नेपाली भूमिको अतिक्रमण हटाउन कदल चाल्नेछ।
८। सरकारका पदाधिकारी र नेपालका राजनीतिक दलका नेताहरुको विदेशी दूत, नियोग, नेता र कुटनीतिक कर्मचारीसँगको सम्पर्क कुटनीतिक कार्यविधि अनुसार हुनु पर्ने बाध्यकारी व्यवस्था गर्नेछ। साझा पार्टीले आफ्ना नेताहरूका लागि त्यस्तो कार्यविधि बनाएर लागू गरिसकेको छ।
९। देशका विभिन्न भागमा हाल भइरहेको जवरजस्ती या विभिन्न प्रलोभनमार्फत धर्म परिवर्तन गर्न बन्देज लगाउने छ र त्यस्तो कार्यमा संलग्न व्यक्ति वा संस्थालाई कानूनको कठघरामा उभ्याउनेछ। धर्म, संस्कृति र सम्पदा संरक्षण तथा प्रवर्धनमा विशेष ध्यान दिनेछ।
१०। मुलुकको नीति, ऐन, कानून निमार्णमा विदेशी सहयोग र प्रभावलाई निषेध गर्नेछ। विदेशी गैरसरकारी संस्थाहरुको गतिविधिमा कडा निगरानी राख्नेछ।
११। शिक्षा र स्वास्थ क्षेत्रलाई राज्यको प्रमुख दायित्वको रूपमा अंगिकार गरि ती क्षेत्रमा व्याप्त विकृति र व्यापारीकरणलाई हाटाउनेछ, र उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्नेछ।
१२। कलेज तथा विश्वविद्यालयमा राजनीतिक दलका विद्यार्थी संगठन खारेज गर्नेछ।
१३। धन र बलको आडमा चुनाव लड्ने घातक प्रवृत्तिले लोकतान्त्रिक संस्कारलाई कमजोर पार्दै भ्रष्टाचारलाई बढावा दिएको सन्दर्भमा निर्वाचन आचार संहितालाई परिमार्जन गर्दै कडाईका साथ लागु गर्नेछ। विदेशमा बस्ने नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्नेछ।
१४। विकासका नाममा लापरवाही तवरले रमणीय डाँडाकाँडा भत्काउने, पानीका मुहान सुकाउने, नदीनाला दूषित बनाउने, वनजंगल ध्वस्त पार्ने, सार्वजनिक जग्गा अतिक्रमण गर्ने अहिलेको प्रवृत्तिमा रोक लगाउनेछ। दीगो, शन्तुलित र वातावरणमैत्री विकासको स्वदेशी मोडल तयार गरी लागू गर्नेछ।
१५। नेपाली युवाहरुको श्रम निर्यात गर्ने र विदेशी वस्तु र सेवाको आयात गर्ने अहिलेको अवस्थालाई उल्ट्याउने उद्यश्यले अर्थतन्त्रलाई उद्वेलित र चलायमान पार्दै रोजगारी सृजना गर्ने आर्थिक विकासको नयाँ युग प्रारम्भ गर्नेछ।
१६। ‘एक नेपाली, एक पर्यटक’को महत्वाकांक्षी दिर्घकालीन योजना प्रवर्धन गर्दै वार्षिकरुपमा ३ करोड विदेशी पर्यटक भित्र्याउन सक्ने गरी पर्यटन पूर्वाधार र सेवा सुविधाको व्यवस्था गर्न कदम चाल्नेछ।
१७। खाद्यान्न उत्पादनमा देशलाई आत्मनिर्मर बनाउन र आधुनिक कृषि प्रणालीका माध्यमबाट रोजगारी बढाउन कदमहरू चाल्नेछ।
१८। पूर्वाधारको लगानीलाई चुनौति भन्दा अर्थतन्त्रलाई चलायमान बनाउने र रोजगारी सिर्जना गर्ने अवसरका रुपमा लिनेछ। आन्तरिक प्राविधिक क्षमताको विकास गरि संभव भएसम्मका ठुला पूर्वाधार आयोजना समेत नेपालको आफ्नै पुँजी र जनशक्तिबाट निर्माण गर्नेछ।
१९। समावेशी समाज निर्माणका लागि दिर्घकालीनरुपमा समान अवसरको नीतिमा जोड दिनेछ। पछाडि परेको जाती र क्षेत्रलाई निश्चित अवधिका लागि आरक्षणको व्यवस्था गर्दा आर्थिक अवस्थालाई पनि आधार मानिने छ।

कल्याणकारी लोकतन्त्र भनेको के हो?
यो पार्टीले आत्मसात् गरेका मागदर्शक सिद्धान्त समन्वयात्मक बजार अर्थतन्त्र, सहभागितामूलक लोकतन्त्र, सामाजिक न्याय र कल्याणकारी राज्यलाई हामीले समष्टिगतरुपमा हाम्रो दर्शन/विचार/वाद अर्थात् ‘कल्याणकारी लोकतन्त्र’ भनेका छौँ। कल्याणकारी लोकतन्त्र समाजवादको विकृत र बेअर्थी अभ्यास, साम्यवादमुखी भय, पुँजी आर्जनमा अंकूशको डर, तानाशाही प्रवृत्तिको प्रवर्धनजस्ता सबै प्रदूषणबाट मुक्त छ। यो सयवर्षको आधुनिक विश्व अर्थ-राजनीतिको बृहत् अध्ययनपछि निकालिएको परिपक्व र व्यावहारिक निष्कर्ष हो। आजका सबभन्दा सफल र विकसित अर्थतन्त्रहरू सबैले दशकौंदेखि कल्याणकारी नीतिहरूलाई अभिन्न अङ्गका रूपमा स्वीकार्दै आएका छन्। नेपालले पटक, पटक भोगिसकेको अहिलेको लोकतन्त्रको मोडलले राजनीतिकर्मी र उनीहरुका आसेपासेको जीवनस्तरमा ठुलो परिवर्तन ल्याए पनि आमनागरिकहरुको जीवनमा परिवर्तन आउन नसकेको तथ्य जगजाहेर नै छ। तसर्थ लोकतन्त्र शासकहरुको सुखसुविधाका लागि होइन कि सर्वसाधारणको सर्वोपरी हित र कल्याणका लागि समर्पित भएमा मात्र सुखी, खुशी, संवृद्ध समाज निर्माण गर्न सकिन्छ भन्ने साझा पार्टीको ठहर हो। यसका लागि ‘नेपाली मोडलको कल्याणकारी लोकतन्त्र’को अवधारणाबारेमा यो पार्टीले राष्ट्रियस्तरमा व्यापक छलफल चलाइरहेको छ।

समन्वयात्मक बजार अर्थतन्त्र भनेको के हो?
समन्वयात्मक बजार अर्थतन्त्रले खुलाबजार प्रणालीको सिर्जनशीलता, यसका कमजोरी र समाजका चासोवीच समन्वय कायम गरी अर्थतन्त्रलाई प्रभावकारी बनाउने कार्यलाई आत्मसात गरेको हुन्छ। यो सिद्धान्तले उद्यमशीलता र उत्पादनशीलताका लागि खुलाबजार प्रणालीलाई प्रवद्र्धन गर्नुका साथै वैज्ञानिक नियमन पद्धतिमार्फत् खुलाबजार प्रणालीका कमीकमजोरीलाई निराकरण गर्दछ। आर्थिक गतिविधि तथा त्यसका नतीजालाई छिटो, छरितो प्रभावकारी, उत्पादनमुखी र व्यापक बनाउनका लागि राज्यको समन्वयकारी भूमिकामा विशेष जोड दिँदा अर्थतन्त्र बढी चलायमान हुन्छ र अहिलेको सिण्डीकेट, कार्टेलिंग, विचौलिया र दलाली चरित्रलाई अन्त्य गर्दछ। यसको नमूनाका रुपमा स्वीडेन, जर्मनी तथा ‍जापानको अर्थतन्त्रलाई लिन सकिन्छ।

सहभागितामूलक लोकतन्त्र भनेको के हो?
लोकतन्त्रको दिगो विकासका लागि लोकतान्त्रिक अभ्यास राजनीतिक, आर्थिक र सामाजिकरुपमा परिणाममुखि हुनु पर्दछ। यसका लागि आम नागरिकको भूमिका निर्वाचनका बेला प्रतिनिधि चयन गर्नेमा मात्र सीमित नभएर पार्टी वा राज्य संचालनमा पनि अधिकतमरूपमा प्रयोग हुनुपर्छ। नागरिक नै सार्वभौम र सर्वशक्तिमान हुन्, कुनै सरकार, पार्टी वा तिनका नेता होइनन् भन्ने मान्यताले मात्र परिणाममूखी लोकतन्त्रलाई संस्थागत गर्न सक्दछ। उम्मेदवार चयनमा अवलम्वन गरिने प्राथमिक निर्वाचन प्रणाली, फिर्ता बोलाउन सक्ने अधिकार, कुनै पनि उम्मेदवार उपयुक्त छैनन् भन्न पाउने अधिकारयुक्त राजनीतिक प्रणालीले नागरिकहरुलाई जिम्मेवार र सशक्त बनाउँछ। निर्वाचित जनप्रतिनिधि, सरकारमा रहने व्यक्ति तथा पार्टीका कार्यकता प्रभावशाली हुने र नागरिक निरीह हुने अहिलेको अवस्थालाई सहभागितामूलक लोकतन्त्रको अभ्यासले परिवर्तन गर्ने र नागरिकहरुलाई वास्तममैँ सार्वभौम भएको अनुभुति गराउने अपेक्षा गर्न सकिन्छ।

कल्याणकारी राज्य कस्तो हुन्छ?
शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, न्युन आय भएकालाई आवासको व्यवस्था तथा सार्वजनिक यातायातमा राज्यको प्रत्यक्ष भूमिका र दायित्व हुनै पर्छ। हाम्रो विगतको राज्यसंरचना र सञ्चालन पद्धतिमा सबै नेपालीले समान र न्यायपूर्ण अवसर नपाएको सन्दर्भमा कल्याणकारी राज्यले सामाजिक न्यायका हकमा अहम् महत्व राख्छ। राज्यका नीति र कार्यक्रममा सामाजिक न्यायका आधारभूत मान्यता प्रतिविम्वित हुन सकेनन् भने समग्र राज्य संयन्त्र अभिजात वर्गको पृष्ठपोषकका रुपमा स्थापित हुन्छ र समाजमा आर्थिक, सामाजिक असमानता बढ्दै जान्छ। तसर्थ अवसरको अन्तिम विन्दूमा आलंकरिक समावेशीता खोज्नु भन्दा आधारभूत अवसर नै समतामूलकरुपमा वितरण गरी पिछडिएका वर्ग, लिंग, र जातीको दिगो, द्रूत र सम्मानजनक उत्थानमा यो पार्टी प्रतिवद्ध छ। अवसरको वितरणमा पिछडिएका जात र समुदायमा पनि तल्लो आर्थिक वर्ग र समूहलाई समावेशीताको पहिलो प्राथमिकतामा राखिने छ।

पार्टीका कार्यालय
केन्द्रीय कार्यालय
बखुण्डोल, ललितपुर, नेपाल
०१-५०१०६०९, ९८५१२५३००१

प्रादेशिक कार्यालयहरू
प्रदेश नं १
अनिल भेटवाल, झापा
फोन नं: ९८५११३४४०६
प्रदेश नं २
हामी अझै खोज्दैछौं। तपाईंको आँखामा इमानदारी र क्षमता भएका, प्रशस्त समय दिएर सिङ्गो प्रदेशको नेतृत्व गर्न सक्ने र हामीसँग जोडिन चाहने कोही हुनुहुन्छ भने हामीलाई ९८५१२५३००१ मा जानकारी दिन अनुरोध गर्दछौँ।
प्रदेश नं ३
समिक्षा बास्कोटा, काठमाडौँ
फोन नं: ९८५१०६७५०८
गण्डकी प्रदेश
महेश भण्डारी, पोखरा
फोन नं: ९८५६०२८८९६
प्रदेश नं ५
अनुपमान सैँजु, बुटवल
फोन नं: ९८५७०२०३४१
कर्णाली प्रदेश
गेहेन्द्र दाहाल, सुर्खेत
फोन नं: ९८५८०५०३५९
सुदूरपश्चिम प्रदेश
गोपाल हमाल, धनगढी
फोन नं: ९८५८४२००४३

साझा पार्टीबारे संक्षिप्तरुपमा जानकारी दिने उद्देश्यले तयार गरिएको यो पर्चामा लेखिएका विषयहरुमा तपाइको प्रतिक्रिया, सुझाव तथा सल्लाहको अपेक्षा गर्दछौँ। तपाईंहरुको सल्लाह र सुझाव अनुसार यसमा परिमार्जन गर्दै लगिनेछ।

प्रकाशक
सञ्चार विभाग
साझा पार्टी
केन्द्रिय कार्यालय, बखुण्डोल, ललितपुर
फोनः ०१-५०१०६०९, ९८५१२५३००१
ईमेल: info@sajhaparty.org, फेसबुक: facebook.com/sajhaparty, ट्विटर: @Sajha_Party, इन्स्टाग्राम: SajhaParty, युट्युव: youtube.com/SajhaPartyOfficial, वेबसाइट: www.sajhaparty.org